विचार/ब्लग

चुनावी एनडिए र मुख स्वास्थ्यका समस्या

 डा पदम नेपाली

दाँत दुखेको पीडा कति हुन्छ भन्ने कि त भोग्नेलाई महसुस हुन्छ कि यस्ता समस्या देख्ने दन्त चिकित्सकलाई। 

ओरल हेल्थ अथवा मुख स्वास्थ्य अहिले जल्दोबल्दो समस्याको रुपमा संसारभर वृद्धि भइरहेको छ। मुख्यतः खानपानमा आएको परिवर्तन अनि मुखको सरसफाइमा ध्यान नदिँदा मुख स्वास्थ्य समस्या चुनौतीको रुपमा देखापरेको छ। 

नेपाल डेन्टल एसोसिएसन (एनडिए) को नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन भदौ ३० गते काठमाडौंमा हुँदै छ। चुनावका बेलामा धेरै छलफल हुने गर्छन्, उम्मेदवारबाट प्रतिबद्धता व्यक्त हुन्छ अनि नेपालको दन्त चिकित्सा क्षेत्र सतहमा चलयमान जस्तो पनि देखिन्छ। पहिलोपटक निर्वाचनमा सहभागी हुनेलाई त चुनाव सम्पन्न भएपछि नेपालको दन्त चिकित्सा जगतमा कायापलट हुनेछ भनेझैं लाग्छ। तर, विगतलाई हेर्ने हो भने हामीसँग निकै तितो अनुभव छ। अर्को चुनाव नआउन्जेल एनडिए छ कि छैन भन्ने अत्तोपत्तो समेत हुँदैन भन्ने गुनासाहरु बर्सेनि आइरहन्छन्।

देशका सबै क्षेत्र अस्तव्यत भएझैँ डेन्टिस्ट्रीमा पनि समस्याको पहाड उभिएको छ। करिब दुई दशकअघि नै विश्व स्वास्थ्य संगठनले मुख स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न अंग मानेको छ। अर्थात्, मानिस पूर्ण रुपमा स्वस्थ छ कि छैन भन्नलाई मुख स्वास्थ्यको पनि ख्याल गरिनुपर्छ। तर मुख स्वास्थ्यलाई हाम्रो देशको स्वास्थ्य संरचनाले महत्व दिने त टाढाको कुरा, सिस्टमले चिन्दा पनि चिन्दैन। नीतिनिर्माण तहमा बस्ने मानिसहरुले मुख स्वास्थ्य सम्बन्धी समस्यालाई समस्याको रुपमा नै लिँदैनन्। कतिपय स्वास्थ्यकर्मी अनि चिकित्सक नै दन्त स्वास्थ्यलाई महत्वहीन सम्झिन्छन्। अप्रेसन गरेर बिरामी बचाउनु मात्र महान् हो भन्ने सोचाइ हामीकहाँ छ।

माथिल्लो तहमा मात्र नभएर स्थानीय तहले पनि दन्त स्वास्थयलाई निकै अपहेलना गरेको पाइन्छ। स्वास्थ्यका अरु धेरै कार्यक्रम स्थानीय तहमा सञ्चालन गरिँदा दन्त स्वास्थ्यलाई चटक्कै भुलिन्छ। स्थानीय तहले कहिलेकाहीँ कतै डेन्टल शिविर गरिहाले भने पनि सामान, जनशक्ति, इस्टेरिलाइजेसन आदिको केही ख्याल गरिन्न। दन्त चिकित्सक अथवा दन्त सहायक एउटा मात्र आएर दिनमा ५०-६० बिरामीको दाँत फुकाल्दियोस् भन्ने चाहना राख्छन्। सर्जिकल काम हो, एक्लैले हुँदैन। दन्त सेवा सम्बन्धी ज्ञान भएको अर्को स्टाफ चाहिन्छ भन्दा बजेट कम छ काम चलाउनुपर्छ भन्ने खालका जनप्रतिनिधिहरु छन्।

यस्ता कुराहरु चिर्न र परिवर्तन गर्न एनडिएमा निर्वाचित हुने उम्मेदवारमा धेरै जिम्मेवारी आउनेछन्। दन्त पेसा र व्यावसायिक हितका लागि पैरवी, वकालत र वृद्धिविकास गर्ने कार्यक्रमको एनडिएले निरन्तर अनुवाइ गर्नु जरुरी छ।

माथि उल्लेख भएझैं मुखको समस्या भनेको दाँत दुख्नु मात्र हो र यसको समाधान दाँत निकाल्नु मात्र हो भन्ने भ्रम व्यापक छ। मुख स्वास्थ्य अन्तर्गत कीरा लागेको तर नदुख्ने भए दाँत भर्ने, दुखेको दाँतलाई जरैदेखि भर्ने, भर्न नमिल्ने गरी नाश भइसकेको दाँत निकाल्ने पर्दछ। अझ गिजा सुन्निएको, घ्रिस्रेको, तल सरेको सबै अवस्थालाई उपचार गर्ने, जिब्रो कालो हुने, पोल्ने, मुख सुक्खा हुने समस्याको समाधान गर्ने उपचार पनि यसभित्रै पर्छ। मुख गन्हाउने समस्याको उपचार, बांगो नमिलेको छिद्रा परेको दाँत मिलाएर मुस्कानमा सुन्दरता थप्ने, जन्मजात तालु फाट्ने, ओठ चिरिने आदिको समाधान गर्ने लगायत पनि यसै अन्तर्गत आउँछ। चोटपटक लागेर मुखका हड्डीहरु टुटेका, ओठ, तालु लगायतका मासु च्यातिएर छिन्नभिन्न भएका, मुख खोल्न-बन्द गर्न अवरोध भएका, गालादेखि लिएर नाकको साइडसम्म र आँखाको तल्तो भागको हड्डी भाँचिएको र मुखको क्यान्सरको उपचार समेत डेन्टिस्ट्रीका विधा अन्तर्गत पर्छ।

नेपालका ६० भन्दा बढी जिल्ला अस्पतालमा दन्त सेवा नै छैन। सरकारले दरबन्दी तोकेको छैन। तसर्थ, एनडिएको अगुवाइमा सरकारले दीर्घकालीन रुपमा प्राथमिक स्वास्थ्य केन्द्रसम्म डेन्टल सेवा र दरबन्दी सिर्जना गर्नुपर्छ। तत्कालै सम्पूर्ण जिल्ला अस्पतालसम्म दन्त सेवा विस्तार गर्नैपर्छ। हरेक जिल्लामा दन्त सेवा उपलब्ध हुन्थ्यो भने दाँतको उपचार (जुन सकाउन ४-५ दिनसम्म नि धाइरहनुपर्ने हुन्छ) का लागि दिनभर लगाएर बझाङ, बैतडी, डोटीदेखि बिरामी डडेल्धुरा आउनुपर्ने थिएन। 

प्रदेश ७ मा मात्र १०-१२ जना दन्त चिकित्सक छौं। यीमध्ये म एक जना डडेल्धुरा छाडेर सबै धनगढी महेन्द्रनगरमा केन्द्रित हुन विवश छु।

डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा सडक दुर्घटना वा भीर/रुखबाट लडेर हरेक महिना कम्तिमा ५ जना बिरामी आउँछन्। यस्ता बिरामीको धेरै मात्रामा मुख र यसको वरिपरिको भागमा गम्भीर प्रकृतिको चोट लागेको हुन्छ। यस्तो बेला कहिलेकाहीँ हड्डी टुटेको हो वा होइन भन्ने छुट्याउन गाह्रो हुन्छ। यो पत्ता लगाउनका लागि विशेष एक्सरे ओपिजी धनगढीमा समेत छैन। त्यसैले बिरामीलाई १०-१२ घन्टा टाढा नेपालगन्ज पठाउनुपर्छ, त्यहाँ पनि सरकारीमा उक्त सेवा छैन। 

मेरो निष्कर्ष के हो भने हरेक प्रदेशमा एउटा म्याग्जिलो फेसियल सर्जनसहित ओपिजीको समेत व्यवस्था गरिनुपर्छ। धनगढीसम्म यो व्यवस्था हुन्थ्यो भने बिरामीलाई निकै सुविधा हुने थियो। अहिलेलाई फोन र इन्टरनेटबाट चितवनमा रहनुभएका म्याग्जिलो फेसियल सर्जन डा आशुतोष कुमार सिंहसँग बिरामीको  जानकारी र तस्बिर, एक्सरे आदिबारे आदानप्रदान गरी परामर्श र सेवा दिइरहेको छु।

मुख स्वास्थ्यको क्षेत्रमा समस्या र उत्तिकै चुनौती निकै छन्। नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरी सर्वसाधारणको स्वास्थ्यसँग खेलबाड हुनेगरी अवैध रुपमा काम गरिरहेका अदक्ष व्यक्तिको काम र अवैध क्लिनिक यथाशीघ्र नियन्त्रण गर्नुपर्छ। भौगोलिक रुपमा मुख स्वास्थ्य सेवालाई समान वितरणमा जोड दिनुपर्दछ। यसका लागि एनडिएका सदस्यहरुबीच सुमधुर सम्बन्ध कायम गर्दै प्राविधिक, शैक्षिक ज्ञान र सिपको वृद्धिविकास गर्नुपर्छ। 

महत्वपूर्ण त चुनावका बेला मात्रै होइन, एनडिए सधैं चलायमान रहिरहनुपर्छ।

(डा नेपाली उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा कार्यरत छन्।)
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने