भैरहवा– सिद्धार्थनगर सिटी हस्पिटल प्रालि, भैरहवाले ‘आमा सुरक्षा कार्यक्रम’ सुरु गरेको छ। निजी अस्पतालतर्फ यो कार्यक्रम पहिलो पटक सञ्चालनमा ल्याइएको हस्पिटलले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ।
‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत निःशुल्क प्रसुति सेवा, निःशुल्क अपरेशन गरी बच्चा जन्माइने र बिरामीहरुलाई यातायात खर्च समेत उपलब्ध गराइने सिद्धार्थनगर सिटी हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए। कार्यक्रमबाट मर्चवार, लुम्बिनी, कपिलवस्तु, अर्घाखाँची, नवलपरासी, गुल्मी लगायतका बिरामीहरुले जटिल किसिमको प्रसुति तथा सिएस सेवा लिन पाउने पौडलले जानकारी दिए।
अस्पतालमा विशेषज्ञ डाक्टरहरु पुरा समय उपलब्ध हुने र महिला तथा प्रसुती रोग विशेषज्ञद्धारा २४ घन्टा सेवा उपलब्ध गराइने स्त्रीरोग विशेषज्ञ डा मञ्जली यादवले बताइन्। विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको हस्पिटलले मृगौला, निःशुल्क डायलाइसिस, सम्पूर्ण हाडर्जोजीको अपरेसन, आइसियु, नवजात शिशु बिरामीहरुका लागि एनआइसियू, विभिन्न अपरेसन तथा थाइराइड मेसिनद्धारा रगत जाँच, भिडियो एक्सरे, डिजिटल एक्सरे, बालरोग, जनरल फिजिसियन, फिजियोथेरापी लगायत सम्पूर्ण सेवा प्रदान गर्दै आइरहेको हस्पिटलका अध्यक्ष एवम् वरिष्ठ मृगौला रोग विशेषज्ञ डा सुवोधकुमार पाण्डेले बताए।
पत्रकार सम्मेलनमा हाडर्जोनी तथा नसा रोग विशेषज्ञ डा महेशराज घिमिरे, अस्पतालका सिनियर मेडिकल अफिसर डा अमित चतुर्वेदी, लुम्बिनी प्रेस क्लब रुपन्देहीका उपाध्यक्ष दिपेश पछाईं लगायतले बोल्दै ‘आमा शुरक्षा कार्यक्रम’लाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए।