काठमाडौं– नेपाल डेन्टल एसोसिएसन (एनडिए) को नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज काठमाडौंमा हुँदै छ। निर्वाचन भृकुटीमण्डपस्थित पुलिस क्लवमा हुने छ। विहान ९ देखि ४ बजेसम्म मत खसाल्ने समय तोकिएको छ।
एनडिएको अध्यक्ष पदका लागि ३ जना चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा डा.सुभित मास्के, डा. सेन्छेमा लिम्बु र डा.प्रविन्द्र अधिकारी चुनावी मैदानमा छन्।
डा.मास्के त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका दन्त चिकित्सक हुन्। उनले प्रोस्थोडोन्टिक्समा विशेषज्ञता हासिल गरेका छन्। अर्का प्रतिस्पर्धी डा. लिम्बु कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालमा कार्यरत छिन्। उनी अस्पतालको बालदन्त विभागकी एसोसिएट प्रोफेसर हुन्। यसैगरी, डा.अधिकारी जावलाखेलस्थित ‘३२ स्माइल’ नामक क्लिनिकमा कार्यरत छन्।
एसोसिएसनको महासचिवमा भने डा कुम्भ जोशी निर्विरोध निर्वाचित भइसकेका छन्। महासचिवमा उनी बाहेक अरुको उम्मेदवारी नपरेपछि उनी निर्विरोध मनोनित भएका हुन्। यस्तै उपाध्यक्षमा पनि डा आशिष भट्टराई निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षका अर्का उम्मेदवार डा. हमेन्त हलुलाईले नाम फिर्ता लिएपछि डा.भट्टराई निर्विरोध निर्वाचित भएका हुन्।
एसोसिएसनको उपत्यकाबाहिरको निर्वाचन भने एक सता अगाडि नै भइसकेको छ। एसोसिएसनमा कुल १ हजार ४ सय ४३ सदस्य रहेका छन्। जसमध्ये उपत्यका बाहिर ३ सय ९० मतदाता छन्।
एसोसिएसनमा अध्यक्षसहित ५ जना पदाधिकारी र ४ जना सदस्य छन्। जम्मा ९ सदस्यिय एसोसिएसनमा १४ जना चुनावी मैदानमा छन्।
एसोसिएसनको कोषाध्यक्षमा डा अजयकुमार साह र डा नसिव पाण्डे, सहसचिवमा डा जोन गुरुङ र डा रविकुमार महतो प्रतिस्पर्धामा छन् ।
यसैगरी, ४ सदस्यमा डा सन्तोष अधिकारी, डा सुर्यनारायण पुन, डा इरु प्रजापति, डा कृष्णप्रसाद रेग्मी र डा स्वेता सिंह चुनावी मैदानमा छन्।