विचार/ब्लग

आयुर्वेदका नेपाली विद्यार्थीको विश्वकीर्तिमानको यात्रा

 डा.सुमन खनाल

कुरा सेप्टेम्बर १२, २०१७ भारतको राजस्थानस्थित जयपुरको हो। करीब ३ हजार जनाको भीड नेशलन इन्स्टिच्युट अफ आयुर्वेदको प्राङ्गणमा एउटा भेला भएको थियो। आयुर्वेदका विद्यार्थी तथा प्राध्यापकको त्यो महोत्सव आयुर्वेदलाइ विश्वसामु चिनाउने उद्देश्यले आयोजना गरिएको थियो।

के हो नस्य कर्म?
विश्वसामु आयुर्वेद चिनाउन चिकित्सकीय प्रणाली 'नस्य कर्म'लाई माध्यमका रुपमा थियो। शरीर शुद्धीकरणका लागि गरिने पाँचवटा मुख्य कर्म (थेरापी)का एक महत्वपूर्ण प्रणाली नस्य कर्म हो। सामान्य भाषामा विधिपूर्वक तयारी गरी (पूर्वकर्म) नाकको माध्यमबाट औषधीय गुणयुक्त तेल शरीरभित्र राख्ने विधिलाई नस्य कर्म भनेर बुझिन्छ।

यो प्रक्रिया हेर्दा साधारण देखिएपनि यसको लागि अभ्यास र सीपको उत्तिकै खाँचो हुन्छ। अणु तेल नामक एक औषधीय गुणयुक्त तेल नाकको माध्यमबाट प्रत्येक दिन राख्ने गरिन्छ। जसले गर्दा मानिसको बौद्धिक क्षमता बढ्ने, आयुष्मान् हुने, इन्द्रीय निर्मलीकरण हुने जस्ता फाइदा हुन्छ। स्वस्थ र अस्वस्थ दुवै अवस्थाका मानिसले नस्य कर्म गर्न सक्छन्। यो कर्म मुख्य गरी टाउकोको समस्या, पिनास, कपाल झर्ने, अनिन्द्रा, सधै जस्तो रुघा लागिरहने, बेल्स पाल्सी (एक किसिमको पक्षघात) जस्ता रोगहरूमा उपयोगी मानिएको छ। 

उक्त सम्मेलनमा भाग लिन नेपालबाट २२ जनाको टोली राजस्थान पुगेको थियो। टोलीको एक जना सदस्य म पनि थिएँ। आयुर्वेदका अध्ययन गरेका युवालक्षित सो कार्यक्रममा उपस्थित हामी सबै उत्साहित थियौं।

एकै समय र स्थानमा सबैभन्दा बढी मानिसहरूले नस्य कर्म गरी गिनिज बुक अफ वल्ड रेकर्डमा नाम राखी विश्व कीर्तिमान बनाउने पनि उक्त महोत्सवको उद्देश्य थियो। अन्ततः ७ सय ३३ जनाले एकै समयमा यो कर्म गरी विश्वकिर्तिमान राख्न सफल भयो। 

उक्त ऐतिहासिक दिनमा नेपालबाट प्रतिनिधित्व गर्न पाउनु हाम्रा लागि गौरवको कुरा थियो। नेपालको सम्पूर्ण आयुर्वेद विद्यार्थीहरूको साझा संस्था नेपाल आयुर्वेद विद्यार्थी समाजको अध्यक्षका रूपमा मैले त्यहाँ प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेको थिएँ। 

भारत सरकारका आयुर्वेद, योग, युनानी सिधा तथा होमियोप्याथी (आयुष) मन्त्री श्री श्रीपद नायक पनि त्यहाँ उपस्थित थिए। हामीले उनलाई नेपालीको पहिचान भादगाँउले टोपी लगाइदियौं। उनलाई हामीले सोधेको थियौं -नेपाल र आयुर्वेदलाई यँहाले कसरी लिनुभएको छ?  'नेपाल हिमालयको देश हो, आयुर्वेदको देशबाट तपाई आउनुभएको छ, नेपालमा आयुर्वेद उज्ज्वल भविष्य भारतको भन्दा ठूलो छ।

उनको यो भनाईले मलाई अचम्मित र गौरवान्वित दुवै बनायो। किनभने आयुर्वेद हाम्रो पहिचान हो, र पनि नेपालमा धेरै मानिस आयुर्वेदको महत्वबारे अनभिज्ञ जै छन्।

विशेषतः हाम्रा जनप्रतिनिधिहरू आयुर्वेदको संरक्षण, र विकासका लागि विभिन्न नीति तथा कार्यक्रमहरू निर्माण गर्नुपर्ने हो। तर यसबारे उनीहरुको चासो यस विषयमा पटक्कै छैन। 

नीतिनिर्माताहरुबाटै आयुर्वेद उपेक्षित छ। तर साँध जोडिएको  भारतमा आयुर्वेदलाई भारतीय चिकित्सा पद्दतिको नामले जनमानसमा विश्वसामु परिचित गराइँदै छ। भारतीय युवाहरूको आयुर्वेदप्रतिको उत्साह, आमूल परिवर्तनको लागि हुटहुटी र त्यसलाई मूलधारको चिकित्सा पद्दतिको रूपमा विकास गर्ने सामूहिक लक्ष्य लोभलाग्दो छ।

आयुर्वेदको जनशक्तिलाई प्रोत्साहन र उत्साह प्रदान गर्न भारतमा आयुष मन्त्रालय नै छ। तर हामीकहाँ संरचनामा भएको एउटा आयुर्वेद विभागलाई पनि हटाउने चलखेल भईरहेको छ। राज्यको यस्तो कदमले आयुर्वेदको जनशक्तिमा कस्तो सन्देश प्रवाह होला? 

यद्यपि, त्यसदिनदेखि मैले यो राम्रोसँग बुझे। नेपाललाई विश्वसामु चिनाउन अब सगरमाथा र गौतम बुद्धबाहेक  वैदिक संस्कार, योग, आयुर्वेद र यहाँका अन्य स्थानीय चिकित्साबाट पनि सम्भव छ। यसको सुरुवात हामीबाटै गर्ने हो। यहाँको राष्ट्रिय स्रोत र  साधनको समुचित प्रयोग गरेर आयुर्वेदलाई विश्वसामु चिनाउन सकिने प्रशस्त आधारहरू छन्। नेपाल योगी ऋषिमुनीहरूको भूमि हो, हाम्रो डी.एन.ए.मा आयुर्वेद छ।

- डा खनाल नेपाल आयुर्वेद विद्यार्थी समाजका अध्यक्ष हुन्।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने