काठमाडाैं - नेपाल डेन्टल एसोसिएसन (एनडिए)को नयाँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचन परिणाम सार्वजनिक भएकाे छ।
अध्यक्षमा डा. प्रविन्द्र अधिकारीले ३ सय ८९ मत पाउँदै विजयी भएका हुन्। डा.अधिकारी जावलाखेलस्थित ‘३२ स्माइल’ नामक क्लिनिकमा कार्यरत छन्।
अध्यक्षमा डा अधिकारीसहित डा.सुभित मास्के र डा. सेन्छेमा लिम्बु चुनावी मैदानमा उत्रिएका थिए । डा.सुभितले ३ सय ३१ मत पाए भने डा.सेन्छेमाले १ सय ६८ मत पाउन सफल भए ।
एसोसिएसनको उपाध्यक्षमा डा आशिष भट्टराई निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षका अर्का उम्मेदवार डा. हमेन्त हलुलाईले नाम फिर्ता लिएपछि डा भट्टराई निर्विरोध निर्वाचित भएका हुन्।
महासचिवमा भने डा कुम्भ जोशी निर्विरोध निर्वाचित भएका छन्। महासचिवमा उनी बाहेक अरुको उम्मेदवारी नपरेपछि उनी निर्विरोध मनोनित भएका हुन्।
एसोसिएसनको कोषाध्यक्षमा डा अजयकुमार साहले ४ सय ७५ भाेट पाउँदै जित्न सफल भए भने सहसचिवमा डा जोन गुरुङ र डा रविकुमार महतो प्रतिस्पर्धामा रहेकाेमा ४ सय ७८ मत पाउँदै डा जाेन गुरुङ निर्वाचित भए।
एसोसिएसनको उपत्यकाबाहिरको निर्वाचन भने एक सता अगाडि नै भइसकेको छ। एसोसिएसनमा कुल १ हजार ४ सय ४३ सदस्य रहेका छन्। जसमध्ये उपत्यका बाहिर ३ सय ९० मतदाता छन्।
यसैगरी, ४ सदस्यमा डा सन्तोष अधिकारी, डा सुर्यनारायण पुन, डा कृष्णप्रसाद रेग्मी र डा स्वेता सिंह निर्वाचित भए । एसोसिएसनमा अध्यक्षसहित ५ जना पदाधिकारी र ४ जना सदस्य छन्। जम्मा ९ सदस्यिय एसोसिएसनमा १४ जना चुनावी मैदानमा उत्रेका थिए।