काठमाडौं- कान्ति बाल अस्पतालमा कार्यरत डा. मुकुन्द देव सोनीलाई कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। अन्दाजी २६ वर्षका दोलखा घर भइ हाल सिनामंगल बस्दै आएका प्रभात पोखरेललाई महाराजगञ्ज प्रहरीले हिरासतमा लिएको छ।
अस्पतालमा कार्यरत डा. सनी सिपाईका अनुसार शुक्रबार सवा ७ बजेतिर एक जना बिरामी आफ्नो बच्चा लिएर उपचारका लागि आएका थिए। आकस्मिक कक्षमा काम गरिरहेका डा मुकुन्द देवलाई बिरामीका आफन्तले आउने बित्तिकै आफ्नो बच्चा हेरिदिनुपर्यो भनेर कर गरिरहेका थिए।
आकस्मिक कक्षमा अरु बिरामी पनि लाइनमा रहेका कारण ती बिरामीलाई एकछिन् कुर्न भनिएको थियो। तर उनी मानेन्। हल्ला गर्न थाले। हातमा भएको टिकट फाल्दै यहाँ जचाँउदैनौ भनेर झर्किएको डा सनीले जानकारी दिए।
उनका अनुसार बिरामीको आफन्तले नै उपचार गर्दिन भनेर टिकट नै फालेपछि डिउटीमा रहेका डाक्टरहरुले ‘तपाईको इच्छा हो, जहाँ मन पर्छ त्यहीँ उपचार गर्नुहोस न’ भनेर जबाफ दिएका थिए। त्यसपछि त आफन्तले रिसाउँदै हातपात गर्न थालिहाले। उनलाई छुटाउन गएका अर्का डाक्टरलाई पनि गालीगलौज गर्न थाले।
‘बच्चालाई भाइरल फिभर भएको रहेछ। बच्चालाई इमरजेन्सीमै राख्नुपर्ने अवस्था पनि थिएन,’ डा सनीले भने, ‘अरु अस्पतालमा पनि बच्चालाई देखाइसकेका रहेछन्। एकचोटी कान्तिमा पनि देखाउनु भनेर आएका रहेछन्। तर डाक्टरमाथि नै हातपात गरे।’
डा सनीका अनुसार हातपात गर्ने व्यक्तिमाथि प्रहरीमा उजुरी दिएपछि हिरासतमा लिइएको हो। हातपातका कारण डा देवलाई चोटपटक नलागे पनि मानसिक तनाव भने दिइएको छ। उक्त घटनाको विवरण अस्पतालको सिसिटिभीमा समेत कैद भएको छ।
हिरासतमा रहेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।