काठमाडौं— मानसिक अस्पताल लगनखेलले आजदेखि बाल मनोचिकित्सा र यौन मनोरोग सेवा सुरु गरेको छ।
आज देखि सुरु भएको बाल मनोचिकित्सा सेवा हरेक मंगलबार तीन बजेपछि उपलब्ध हुने अस्पतालका निर्देशक डा मोहनराज श्रेष्ठ लाखेले बताए। हरेक महिनाको शुक्रबार भने यौन मनोरोग सेवा प्रदान गरिने छ।
अस्पतालमा जनरल मानसिक स्वास्थ्य सेवालाई बिस्तार गर्दै विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराउने योजना अनुसार यी सेवा सुरु गरिएको उनले जानकारी दिए।
वरिष्ठ क्लिनिकल साइकोलोजिष्ट डा तृष्णा घोष विष्टले अझैपनि बालबालिकाको मानसिक स्वास्थ्यका बारे कमैलाई मात्र जानकारी भएको बताइन्।
उनले भनिन्— ‘बच्चाहरुमा विभिन्न खाले समस्या हुनसक्छन्, घर विद्यालयमा उनीहरुको व्यवहार अरु बच्चाको भन्दा फरक भयो भने मनोपरामर्श लिनु आवश्यक हुन्छ।’ उनीसँगै बाल मनोचिकित्सा सेवा शाखामा साइकोलोजिष्ट डा लता गौतम पनि छन्।
बच्चाहरुले स्कुल जान मन नगर्नु, पढाइमा ध्यान नदिनु, धेरै चकचक गर्नुजस्ता व्यवहारलाई पनि अभिभावकले ध्यान दिनुपर्छ। अन्य बच्चाहरुको भन्दा फरक व्यवहार भएमा उनीहरुलाई उपचारको आवश्यकता पनि हुन सक्ने् चिकित्सकको भनाई छ।
यसैगरि, मनो यौनरोगको समस्याले पछिल्लो समय धेरै मानिसलाई कडा खालको मानसिक रोगमा पु¥याइरहेको अवस्था मध्यनजर गर्दै सोको सेवा पनि सुरु गरिएको मनोचिकित्सक डा देवव्रत जोशीले जानकारी दिए।
उनले भने, ‘मानसिक समस्याका कारणले यौन सम्बन्धमा पर्ने समस्याहरु जस्तो यौन उत्तेजनामा कमी, यौन इच्छामा कमी, शीघ्र स्खलन्, केटीलाई केटी केटा हुन मन लाग्ने समस्या, कम उमेरको बच्चासँग यौन सम्बन्ध राख्न मन लाग्नेजस्ता समस्या मनो यौनरोगभित्र पर्छन्।’
यौन मनोरोगको समस्या उपचार नहुदाँ अरु खालको मानसिक रोग डिपे्रशन, एन्जाइटिक हुने र स्वयम् बिरामीबाहेक सामाजिकरुपमा पनि गम्भीर असरहरु उनले बताए।
डा देवव्रत जोशी, डा प्रविण भट्टराई, डा अनन्त अधिकारीका साथै क्लिनिकल साइकोलोजिष्ट डा भूपेन्द्र सिंह गुरुङले यौन मनोरोगसम्बन्धी सेवा दिने बताइएको छ।
नेपालमा बाल मनोचिकित्सा कान्ति बाल अस्पतालमा मात्र उपलब्ध थियो भने यौन मनोरोगका लागि विशेष सेवा सुरु गर्ने मानसिक अस्पताल पहिलो हो।