काठमाडौं– वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन्। उनको भदौ २८ गते पार्किन्सन्सको शल्यक्रिया गरिएको थियो। उनी आज अस्पातलबाट डिस्चार्ज भएका हुन्।
माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको शल्यक्रिया गरिएको हो। पार्किन्सोन्सबाट पिडित श्रेष्ठको टाउकोको दायाँ भागमा डिप ब्रेन स्टिमुलेसन (डिविएस) नामक शल्यक्रिया गरिएको हो।
यो मस्तिष्कको पेसमेकर हो। यसमा मस्तिष्कलाई बिजुलीको सहायताले चार्ज गरेर चलाउने काम हुन्छ। शल्यक्रिया मार्फत मस्तिष्कको पेसमेकरमा तार हालेर त्यसको ब्याट्री छातीको छालामुनि राखिन्छ।
कलाकार श्रेष्ठ विगत ९ वर्ष देखि रोगको यो रोगबाट पिडित छन् । शल्यक्रिया पछि कलाकार श्रेष्ठको अवस्था राम्रो भएको अस्पतालले जनाएको छ ।
के हो पार्किन्सोन्स ?
- डा. इशा ढुंगाना श्रेष्ठ, न्युरोलोजिस्ट, नर्भिक अस्पताल
पार्किन्सोन्स रोगले मानिसको नशामा असर गर्छ । यो रोग विस्तारै सुरु भई क्रमिक रूपले बढ्दै जान्छ र समयसँगै तीव्र रूप लिन्छ । विश्वव्यापी तथ्याङ्क हेर्ने हो भने करिब ६० लाख मानिस यो रोगबाट ग्रसित छन् । यो आफैँमा प्राणघातक रोग होइन, तर यससँग गाँसिएर आउने अरू जटिलताले गर्दा बिरामीलाई मृत्युको मुखसम्म पु¥याउँछ । यो रोग मृत्युका प्रमुख कारणमध्ये चौधौँ स्थानमा रहेको सेन्टर फर डिजिज कन्ट्रोलको अध्ययनले देखाएको छ ।
पार्किन्सोन्स लाग्ने यकिन कारण भने हालसम्म पत्ता लागेको छैन । तर, मस्तिष्कको मध्य भागमा रहेका स्नायुका विशेष प्रकारका कोषहरू (डोपामाइन जेनेरेटिङ) नष्ट हुँदा यो रोगका लक्षण देखा पर्छन् । हाम्रो मस्तिष्कमा स्नायुका विशेष कोषिका हुन्छन् । जसले डोपामाइन भन्ने रसायन उत्पादन गर्छन् । यो डोपामाइन भन्ने तत्वले मस्तिष्कका मध्य भागहरूबीच समन्वयन गरी हाम्रो शरीरको चाललाई नियन्त्रण गर्दछ, जसको मद्दतले हाम्रो शरीरका विभिन्न अङ्ग चलायमान हुन्छन् ।
तर, जब यी कोषिका मर्न वा नष्ट हुन थाल्छन् तब यो रोगका लक्षण देखिन थाल्छन् । यी कोषिकाहरू ६० देखि ८० प्रतिशतसम्म नष्ट भएपछि चालमा आउने असरका लक्षयणहरू देखिन थाल्छन् । मस्तिष्कका यस्ता स्नायु तन्तुहरू नष्ट हुने यो प्रक्रियालाई ‘न्युरोडेग्नेरेसन’ भनिन्छ र यस्ता समस्यालाई ‘न्युरोडेग्नेरेटिभ’ रोग भनिन्छ । यस्ता न्युरोडेग्नेरेटिभ रोगलाई पूर्णरूपले निको पार्ने उपचार हालसम्म सम्भव छैन । तर, विभिन्न प्रकारका उपचार विधिबाट यसलाई नियन्त्रणमा राख्न र लक्षणहरूमा सुधार ल्याउन भने सकिन्छ ।
लक्षण
पार्किन्सोन्स रोगका लक्षणहरू व्यक्ति वा बिरामीपिच्छे फरक–फरक हुन सक्छन् । सुरुको अवस्थामा लक्षणहरू मन्द रूपमा देखिने हुँदा याद नहुन सक्छन् । प्रायःजसो लक्षणहरू शरीरको दायाँ वा बायाँ एउटा भागबाट सुरु हुन्छन् र बिस्तारै अर्को भागमा पनि देखिन थाल्छन् । यसरी दुवैतर्फ फैलिसकेका लक्षणहरू पनि सुरुमा देखिएको भागमा अलि बढी कडा हुन्छन् ।
यसका लक्षण निम्नानुसार छन्ः
१. कम्पनः शरीर काम्ने अथवा शरीरका केही भाग कम्पन हुनु यसको प्रमुख लक्षण हो । यस्ता कम्पन प्रायःगरी हात अथवा हातका औँलाहरूबाट सुरु हुन्छ । जुन पछि रोग बढ्ने क्रममा शरीरका अन्य भाग, विशेषगरी खुट्टाहरूमा फैलिन्छन् । कम्पनका लक्षण प्रायः आराम गरिरहेको अवस्थामा देखिन्छ र काम गर्दा वा निदाएको अवस्थामा हराउँछ । हातको बुढी र चोरी औँला बीच एक प्रकारको गोलाकार घर्षण चाल देखिन्छ, जसलाई ‘पिल रोलिङ ट्रिमोर’ भनिन्छ ।
२. मन्द चालः यो रोगको अर्को लक्षण भनेको शरीरको चालमा एक प्रकारको ढिलाइ देखिइनु हो । यो रोग बढ्दै जाँदा शरीरको चालमा असर गरी शरीरका चालहरूमा मन्दी अथवा ढिलोपना ल्याइदिन्छ । जसले गर्दा साधारण रूपमा गरिने दैनिक कार्य गर्न गाह्रो हुने तथा केही काम गर्न बढी समय लाग्ने हुन थाल्छ । सुरुको अवस्थामा बसेको कुर्सीबाट उठेर हिँड्न गाह्रो हुने र हिँड्दा पदचाप छोटा हुने गर्छ । पैताला भुइँमा टाँसिएको भान हुने र पैतालालाई उठाएर अगाडि बढ्न गाह्रो महसुस हुन थाल्छ । चालमा देखिने यो ढिलाइ सबै प्रकारका चाल र अवस्थामा एकैनासको भने हुँदैन । कतिपय अवस्थामा हिँड्नै गाह्रो भएका बिरामीले साइकल मजाले चलाएका पनि हुन्छन् ।
३. कडापनः शरीरका विभिन्न मांशपेशी तथा जोर्नीमा एक प्रकारको कडापन देखिन थाल्छ । जसका कारण शरीरका विभिन्न भाग चलाउन गाह्रो हुनुका साथै दुखाइ पनि महसुस हुन्छ । रोगको सुरुवाती अवस्थामा यस्तो कडापन (कक्रक्क) ले गर्दन र कुमको मांशपेसीलाई बढी असर गर्छ । रोग बढ्दै जाँदा पुरै शरीरलाई कडा पारी चालमा असर गर्दछ र हिँडडुल गर्न गाह्रो हुन थाल्छ ।
४. शरीरको सुन्तुलन बिग्रनुः यो रोग लागेपछि शरीरको सन्तुलन मिलाइराख्न गाह्रो हुन थाल्छ । रोग बढ्दै गएपछि मात्र शरीरको सन्तुलनमा गडबड देखिन्छ । शरीरलाई सन्तुलन गरी अयाएर राख्न गाह्रो हुने हुनाले बारम्बार लड्ने समस्या आउन सक्दछ । त्यसैगरी, उभिन गाह्रो हुने, शरीर अगाडितर्फ झुक्दै जाने र हिँड्दा पाइला छोटाछोटा हुने र धर्मराउने हुन्छ ।
५. स्वस्फुर्त चालमा कमीः स्वस्फुर्त रूपमा देखिने शरीरका विभिन्न चालमा कमी आउन थाल्छ । हिँड्दा हात नहल्लिने, बोल्दा भाव भङ्गिमा नदेखिने, आँखा झिम्किने र मुस्कुराउने क्रममा कमी देखिने यस रोगका अन्य केही लक्षण हुन् । भावभङ्गिमा हराउँदै जाने हुनाले अनुहारमा मुकुण्डो लगाएजस्तो भान हुन थाल्छ । त्यसैगरी, कतिपय बिरामीको स्वर तथा बोलीमा पनि असर पर्छ । बोलीमा एकोहोरोपना आउने, बोली धेरै नरम, छिटो अथवा लरबरिएको जस्तो हुन थाल्छ । लेखाई वा अक्षरहरूमा परिवर्तन देखिनु पनि पार्किन्सोन्सको लक्षण हो । अक्षरहरू साना–साना हुँदै जाने, एकै ठाँउमा गुचुमुच्च पर्न थाल्ने, सही गर्दा बारम्बार नमिल्ने जस्ता समस्या पनि यो रोगकै लक्षणभित्र पर्दछ । त्यसैगरी, बरोबर कब्जियत हुनु पनि पार्किन्सोन्स रोगको एउटा लक्षण हो ।
उल्लेखित लक्षणहरू देखिएमा पार्किन्सोन्स रोग लागेको हुनसक्ने आशंकाका कारण नशा रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । यी लक्षणबाहेक पार्किन्सोन्स रोग लागेका बिरामीहरूमा मानसिक समस्या पनि देखिन सक्छ । सोचाइ र स्मरण शक्तिमा कमी आउने सम्भावना रहन्छ ।
कारण
यो रोगबाट ग्रसित धेरैजसो बिरामीमा कुनै पनि विशेष कारण देखिँदैन । थोरै संख्यामा रहेका केही रोगीमा भने वंशाणुगत कारणहरू देखिएका छन् । त्यसैगरी, विभिन्नखाले कीटनाशक औषधि तथा बिषादीको संसर्ग पनि पार्किन्सोन्स रोग लाग्नुको एउटा कारण हुनसक्ने तथ्य भेटिएको छ ।
निदान अथवा जाँच
पार्किन्सोन्स रोगलाई निदान गर्ने कुनै विशेष चेकजाँच छैन । चिकित्सकहरूले बिरामीका समस्या सुनेर, लक्षणहरू हेरेर र नशाको पूर्ण परीक्षण गरेर यो रोगको निदान गरिन्छ । यस रोगका लक्षणहरूसँग मिल्दाजुल्दा लक्षण हुने रोगहरू छैनन् भनी छुट्याउनलाई मस्तिष्कको सिटी स्क्यान, एमआरआईजस्ता जाँच गरिन्छन् । पीईटी तथा एपीईसीटी जस्ता जाँचहरूले भने यस रोगको निदान गर्नमा केही मद्दत गर्दछन् ।