नवलपरासी- पूर्वी नवलपरासीको गैँडाकोट–३ को हर्दिमा भाइरल ज्वरोले गाउँ नै प्रभावित बनेको छ। गाउँमा पुगेको नगर स्वास्थ्य शाखाको टोलीले जाँचका क्रममा ज्वरोबाट प्रभावितको सङ्ख्या धेरै रहेको पाएको जनाएको छ। परीक्षणका क्रममा ७८ जनामा भाइरल ज्वरोको सङ्क्रमण भेटिएको नगर स्वास्थ्य शाखा प्रमुख इन्द्रराज शर्माले बताए।
स्वास्थ्य टोलीले सामान्य अवस्थाका बिरामीको हर्दिमा नै उपचार गरेको थियो भने केहीलाई स्वास्थ्यचौकीमा बोलाइएको छ।
यसैगरी हर्दिमा पशुमा भ्यागुते रोग देखापरेको छ। भ्यागुते रोगले पशु बिरामी परेपछि नगर पशु शाखाबाट दुई जनाको टोलीले पशुको परीक्षण गरेको गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए। तिवारी केही दिनअघि हर्दि पुग्दा डेङ्गुका बिरामी देखिएपछि नगर स्वास्थ्य शाखामा जानकारी गराई टोली लगिएको थियो। रासस