काठमाडौं— सप्तरीको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिकामा देखिएको मौसमी रुघाखोकी नियन्त्रणमा आएको जनाइएको छ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार प्रकोप नियन्त्रणका लागि केन्द्रसहित जनकपुर र सगरमाथाअञ्चल अस्पतालका चिकित्सकसहित प्रभावित वडाहरुमा स्वास्थ्य शिविर सञ्चालन गरिएको जनाएको छ।
भदौ २४ देखि असोज २ गतेसम्म मौसमी रुघाखोकीका तीन हजार १४७ बिरामीको उपचार गरिएको जानकारी इडिसिडीले दिएको छ।
ती बिरामीमध्ये २८ जना बिरामीको खकार जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । परीक्षणबाट १४ जनामा इन्फ्ुलुञ्जा ए÷एच३, एकजनामा इन्फ्ुलुञ्जा ए÷ एच१एन१ र एकजनामा इन्फ्लुएञ्जा बी भेटिएको थियो।
मौसमीको रुघाखोकीको महामारी फैलिएपछि प्रभावित क्षेत्रमा भदौ २७ गतेसम्म ४ जनाको मृत्यु भएको छ।
सुरुको भन्दा अवस्थाभन्दा मौसमी रुघाखोकीका बिरामीको संख्या घट्दो अवस्थामा रहेको बताइको छ।
सिकिस्त र आइसियु कक्षमा राख्नुपर्ने बिरामीको व्यवस्थापन गर्न जनकपुर अञ्चल अस्पतालसँग समन्वय गरिएको पनि महाशाखाले जनाएको छ।
प्रकोप रोकथाम र बच्ने उपायबारे जानकारी गराउन प्रदेश नम्बर २को सामाजिक विकास मन्त्रालय, कञ्चनरुप नगरपालिकासँग समन्वय गरी उपचारको अभावमा मृत्यु हुन नदिन, अवस्था सामान्य नभएसम्म स्वास्थ्य संस्थामा निशुल्क सेवा प्रदान गर्न र आवश्यक औषधिलगायत उपचार सामग्री, समयमै उपलब्ध गराउने व्यवस्था गरिएको बताइएको छ।
भारतको बाबाधाम गएर फर्कएका अधिकाश व्यक्तिहरुबाट इन्फ्लुञ्जा फैलिएको बताइको छ।