काठमाडौं– कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा डिउटीमा रहेका डाक्टरमाथि हातपात गरेको अभियोगमा पक्राउ परेका व्यक्तिलाई आपराधिक उप्रदवको मुद्दा दायर गर्ने तयारी भएको छ।
भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ को धारा २५८ अनुसार अस्पतालमा तोडफोड र डाक्टरमाथि हातपात गरेको अभियोगमा मुद्दा दायर गर्ने प्रक्रिया अगाडि बढाइएको हो।
अस्पतालको आकस्मिक कक्षमा बिरामीको उपचारमा खटिरहेको समयमा दोलखा स्थायी घर भएका प्रभात पोखरेलले डाक्टर मुकुन्ददेव सोनीमाथि हातपात गरेका थिए।
हाल सिनामंगल बस्दै आएका पोखरेलले डा सोनीमाथि शुक्रबार राती सवा ७ बजेतिर हातपात र दुव्र्यवहार गरेको डा सनी सिपाईले जानकारी दिए। डा सिपाईका अनुसार पोखरेलले डा सोनीमाथि हातपात सहित गालीगलौज समेत गरेका थिए।
डाक्टरहरुको उजुरीका आधारमा पोखरेलले प्रहरीले पक्राउ गरेको थियो। महाराजगन्ज प्रहरी वृत्तको हिरासतमा रहेका पोखरेलमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भइरहेको छ।
नायब उपरीक्षक फणीन्द्र प्रसाईंले अस्पताल तोडफोड र हातपात गरेको दृश्य अस्पतालको सीसीटीभीबाट फुटेज लिएर थप अनुसन्धान भइरहेको बताए। उनका अनुसार मुलुकी ऐन लागू भएपछि पहिलो पटक यस खालको मुद्दा दायर गर्न लागिएको हो।
यस्ता अपराधमा यसअघि सार्वजनिक अपराधको मुद्दा लगाउने गरिन्थ्यो।
ऐनको धारा २५८ मा कसैले आपराधिक उपद्रव गर्न वा नहुने नहुने कुरा उल्लेख छ। सोही धारामा आपराधिक उपद्रवको व्याख्या समेत गरिएको छ। जसअनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण रहेको संगठित संस्था, सर्वसाधारण वा कुनै व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याउन नहुने उल्लेख छ।
यस्तो कार्य गर्ने व्यक्तिलाई सोही दफाको उपदफा ३ अनुसार आपराधिक उपद्रव गरेका कारणले कसैलाई कुनै हानि, नोक्सानी भएकोमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना, सार्वजनिक सम्पत्तिमा क्षति भएमा ४ वर्ष सम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना र क्षति अनुसारको क्षतिपूर्ति भराउने व्यवस्था छ।
अस्पतालका चिकित्सकका अनुसार यस्तो छ घटना
शुक्रबार सवा ७ बजेतिर एक जना बिरामी आफ्नो बच्चा लिएर उपचारका लागि आएका थिए। आकस्मिक कक्षमा काम गरिरहेका डा मुकुन्द देवलाई बिरामीका आफन्तले आउने बित्तिकै आफ्नो बच्चा हेरिदिनुपर्यो भनेर कर गरिरहेका थिए।
आकस्मिक कक्षमा अरु बिरामी पनि लाइनमा रहेका कारण ती बिरामीलाई एकछिन् कुर्न भनिएको थियो। तर उनी मानेन्। हल्ला गर्न थाले। हातमा भएको टिकट फाल्दै यहाँ जचाँउदैनौ भनेर झर्किए।
बिरामीको आफन्तले नै उपचार गर्दिन भनेर टिकट नै फालेपछि डिउटीमा रहेका डाक्टरहरुले ‘तपाईको इच्छा हो, जहाँ मन पर्छ त्यहीँ उपचार गर्नुहोस न’ भनेर जबाफ दिएका थिए। त्यसपछि त आफन्तले रिसाउँदै हातपात गर्न थालिहाले। उनलाई छुटाउन गएका अर्का डाक्टरलाई पनि गालीगलौज गर्न थाले।
बच्चालाई भाइरल फिभर भएको थियो। बच्चालाई इमरजेन्सीमै राख्नुपर्ने अवस्था पनि थिएन। अरु अस्पतालमा पनि बच्चालाई देखाइसकेका रहेछन्। एकचोटी कान्तिमा पनि देखाउनु भनेर आएका रहेछन्। तर डाक्टरमाथि नै हातपात गरे।