फिचर

बलात्कार, मानसिक समस्या र अभिभावकको भूमिका


बाह्र वर्षीय रमा शर्मा टोलकै निडर बालिका हुन्। आफ्नो मनमा लागेको कुरा भनिहाल्ने बानी उनको थियो। बोल्नमा मात्र होइन, टोलमा कुनै कार्यक्रम वा प्रतियोगिता हुँदा नाचगानमा समेत अग्रस्थानमा पुग्थिन् रमा। पढाइमा उतिकै अब्बल थिइन्। नयाँ साथी बनाउन मन पराउने रमाले घरको सानोतिनो काममा पनि सक्दो सहयोग गर्थिन्। 

तर एकदिनको घटनाले उनको जीवन उजाडजस्तै बनाइदियो। कसैसँग बोल्न नडराउने रमा सामाजिक जीवनबाट बिस्तारै टाढिन थालिन्। आफ्नै साथीहरुसँग पनि बोल्न डराउने, घरबाट बाहिरा निस्कने नमान्ने, रिसाउने सानोसानो कुरामा पनि झट्किएर बोल्ने गर्न थालिन्। यस्तो व्यवहार देखेर आमाबाबु, साथी र छिमेकी पनि आश्चर्यमा पर्न थाले। तर उनलाई के भयो भनेर कसैले पनि सोधखोज गरेनन्। पढाइ पनि बिग्रदै जान थाल्यो। विद्यालयले पनि उनको पढाइको बारेमा कम्प्लेन गर्यो। टोलाएर बस्छिन भनेपछि उनलाई अस्पतालमा लगियो। तर जाँच गर्दा कुनै रोग भेटिएन डाक्टरको सल्लाह बमोजिम उनलाई मनोरोग विशेषज्ञकामा लगियो।  

परामर्शका क्रममा बल्ल थाहा भयो, स्कुलबाट घर फर्कने क्रममा गाउँकै आफन्तले एक्लै  भएको अवस्थामा दुर्व्यवहार गरेका रहेछन्। त्यही दिनदेखि उनी तनावमा परेकी रहिछन्। त्यही दिनको कुराले उनलाई ‘डिप्रेसन’मा पारेको रहेछ। उपचारपछि र आमाबुबाको साथ र सहयोगपछि उनको जीवनमा विस्तारै सुधार हुन थाल्यो। 

पाल्पाकी १३ वर्षीया गीता र १४ वर्षीया रिता  दिदिबहिनी हुन्। दिदीबहिनी भएपनि अति मिलनसार साथी पनि थिए उनीहरू। जे काम पनि सँगसँगै पुग्थे उनीहरू। उनीहरुको मिलनसारिता देखेर सबैजना डाहा मान्थे। दुइ दिदीबहिनी हरेक काममा अगाडी थिए। सँगै खेल्ने, बस्ने, घुम्ने, सँगै विद्यालय जाने मात्र होइन, एक जनालाई अह्राएका काम गर्न पनि दुवै जना साथमै जाने गर्दथे। यी दिदीबहिनी अभिभावकसँग कहिल्यै पनि ठूलो स्वरमा बोल्दैनथे। उनीहरुको व्यवहारमा बिस्तारै परिवर्तन आउन थाल्यो। 

एक दिन दुई दिदीबहिनी मात्र भएको मौका पारेर गाउँकै दाइ पर्ने एक जना छिमेकीले उनीहरुसँग जबरजस्ती गरे। त्यस दिनदेखि दुवै दिदिबहिनी जोसँग पनि डराउने, पढ्न मन नगर्ने निद्रामा चिच्याउने, दिदीबहिनी नै एक आपसमा राम्रोसँग नबोल्ने, रिसाउने जस्ता परिवर्तन आएपछि अभिभावक हैरान भएका थिए। 

तर, किशोरावस्थामा पुगेपछि आउने प्राकृतिक परिवर्तन होला भनेर बाबुआमाले खासै वास्ता गरेनन्। तर उनीहरुको सो बानी परिवर्तन हुन सकेन। बिहे गर्ने समयमा जति केटा हेर्न आएपनि उनीहरुले बिहे गर्न मानेनन्।

आमाबुबाले कर गरेर दुवै दिदीबहिनीको बिहे गरिदिए। उनीहरूको व्यवहारमा विवाहपछि पनि परिवर्तन आउन सकेन। बिहे गरेको ५ महिना पनि नपुग्दै गिताले आत्महत्या गरिन्।

रिताका श्रीमानले उनको व्यवहार देखेर साथीको सल्लाहबमोजिम मनोचिकित्सकसँग लगे। मनोचिकित्सकले सोधपुछ गरेपछि मात्र थाहा भयो– सानै बेलामा गाउँकै आफन्तले जबरजस्ती गरेको कुरा। यसपछि दिदीबहिनीको पोल खुल्ला भन्ने डरले दिदीबहिनी एक आपसमा नै बोल्न छाडेका रहेछन्। मनोचिकित्सक र परिवारले लामो समयसम्म उनको समस्यामा विशेष ध्यान पुर्याएपछि अहिले उनको समस्या समाधान भएको छ। 

यी दुई घटना त प्रतिनिधिमूलक मात्र हुन्। हाम्रो समाजमा उनीहरूजस्ता सयौं बालिकाले बलात्कार, यौन दुर्व्यवहार, जबर्जस्तिको शिकार बन्नु परेको मात्र छैन, जीवनमा कहिल्यै पनि निको नहुने मानसिक रोग, भय र त्रास पालेर बाँच्नु परेको यथार्थ छ। 

यस्तै तनावका कारण कयौं बालिका कडा प्रकृतिका मानसिक रोगबाट पीडित भएका छन्। आजभोलि नेपालमा पनि बलात्कारका घटना बढ्दै गएका छन्। कयौँले जीवन गुमाउनु परेको छ, कति मानसिक रोगी भएर बाँच्नु परेको छ। 

मनोविद् गोपाल ढकाल मानसिक समस्या लिएर आउने कैयौं बिरामी तथा तिनका आफन्तसँग दिनहुँ व्यस्त हुन्छन्। बलात्कार भएको ३०÷३५ वर्षपछि पनि मानसिक  समस्या लिएर आउँनेको संख्या पनि थुप्रै छ, उनीसँग। बलात्कारपछि अभिभावक तथा समाजले कस्तो भुमिका खेल्नु पर्छ? बलात्कृत बालिकाले सामान्य बालिकाजस्तै सहज जीवन बिताउन के गर्नुपर्छ भन्ने सम्बन्धमा मनोविद् ढकालले दिएका सुझाव यहाँ उल्लेख गर्नु वाञ्छनीय छ।

बलात्कारपछि शारीरक र मानसिक पीडा हुने गर्छ। घरपरिवार र साथीभाइले उनीहरूप्रति गर्ने व्यवहार ज्यादा पीडादायक हुने भएकाले उनीहरूको जीवन तनावपूर्ण बन्छ। साथी, आमाबुबा र समाजले उनीहरुलाई गर्ने व्यवहार परिवर्तन भएमा आत्महत्या गर्नसमेत पनि पछि पदैँनन् बलात्कारबाट पीडित बनेका महिलाहरू। यौन दुव्र्यवहारमा परेका बालिकाका भावनालाई महत्व नदिइकन ‘जे गरे गरोस्, योसँग कसैले बिहे गर्दैनन्’ भनेर छोडियो भने उनीहरु थप मानसिक समस्यामा पर्छन्। उनीहरुको मनोबल कमजोर हँुदै जान्छ। फलस्वरुप बोल्न डराउने, खाना खान मन नगर्ने, चिन्ता लिने, साथीसँग घुलमिल हुन नचाहने र बदलाको भावना विकास हुने संभावन बढी हुन्छ। यति मात्र होइन उनीहरू कुलतमा फस्ने संभावना पनि उतिकै प्रबल हुन्छ। 

कतिपय अभिभावकले आफ्ना छोरीलाई जबर्जस्ती बलात्कारको प्रयास भएको थाहा पाएमा घरबाट बाहिर निस्कन नदिने, गाली गर्ने र पीडितलाई नै दोषारोपण गर्ने गर्छन्।  त्यसो गर्नाले पीडितको मानसिकतामा नराम्रो चोट पुग्ने भएकाले पीडित आफैंले आफैंलाई थप पीडा दिन पुग्छन्। यसका साथै ‘म नै दोषी रहेछु’ भन्ने नकारात्मक धारणा विकास हुने भएकाले कुलतमा फस्ने, बदला लिन खोज्ने, कसैले भनेको नमान्ने जस्ता व्यवहार गर्छन्। 

आफन्तले दुर्व्यवहार गरेका बालिका कसैसँग नबोल्ने, सबै मान्छे उस्तै हुन्छन् भन्ने सोच्ने र परिवारका सदस्यको नजिक नजाने गर्छन्। आफ्नै दाजुभाइ, परिवारसँग झड्केर बोल्ने, विबाह गर्न नमान्नेजस्ता व्यवहार देखाउँछन्। यो समस्या समाधान नगरिकन परिवारले विबाह गर्न दबाब दिएमा वैबाहिक जीवन सुखद् नहुने संभावना हुन्छ। 

दुव्र्यवाहरमा परेका बालिका ‘आफूलाई सबै कुरा थाहा छ’जस्ता अनपेक्षित कुरा गर्ने गर्छन्। पढाइमा ध्यान दिन सक्दैनन्। जति नै खुशी भए पनि उत्साहित नहुने, साथीसँग घुलमिल पनि नहुने प्रकृतिका हुन पुग्छन्। यस्तो समस्या आउनासाथ आमाबुबाले मनोचिकित्सकको परामर्श लिनुपर्छ। 

कुनै पनि प्रकृतिको दुव्र्यवहारमा परेका बालिकालाई परिवारको सहयोग जरुरी हुन्छ। परिवारको साथ र सहयोग पाएमा बिस्तारै चोट र पीडा भुल्दै जान्छन्। साथीभाइसँग पहिला जस्तै घुलमिल हुन सक्छन्। यस विषयमा अभिभावकले ध्यान दिनु पर्ने हुन्छ। यदि यस विषयमा समयमा नै ध्यान दिन सकिएन भने उनीहरूले जीवनभर समस्यामा पार्ने संभावना रहन्छ। मनोपरार्मशदातासँग सल्लाह लिने, बिहे गरेपछि सुधार आउँछ भनेर छोड्न हुदैँन।

उनीहरुको मनोभावना बुझेर आवश्यकताअनुसार व्यवहार गर्नुपर्छ। परिवार, अभिभावक र समाजको व्यवहार जति सकारात्मक भयो त्यति नै छिटो पीडितले न्याय पाउने हो, त्यति नै छिटो चोट पनि भुल्न सक्ने हो। बालिकालाई यस्तो समस्या आएमा रचनात्मक काममा लगाउँदा पनि फाइदा गर्छ। आमाबाबुले सधै साथ दिनुपर्छ। फरक व्यवहार नगरी मित्रवत् व्यवहार गरेमा त्यस्ता घटना छिट्टै भुल्न सक्छन्। जीवनभर समस्या आउन नदिन जतिसक्दो छिटो पीडिले घटना भुल्न जरुरी हुन्छ।  
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने