चितवन– उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाकाका रुपमा स्वास्थ्य खबर ‘हेल्थ अवार्ड २०७५’बाट ताप्लेजुङकी श्रीजंगा गाउँपालिकाकी सिर्जना राई सम्मानित भएकी छिन् । ७ वर्षदेखि स्वास्थ्य स्वयंसेविकाका रुपमा अहोरात्र खटिइरहेकी उनलाई पूर्व प्रधानमन्त्री यसपल्ट अवार्ड प्राप्त गर्न सफल छिन्।
२०६८ सालमा आमा समूहले छनोट गरेर उनलाई स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी दिएको हो । गाउँका महिलाले गरेको भरोसालाई उनले मनैदेखि पूरा गरिरहेकी छन् । ३१ वर्षीया सिर्जना आफ्नो गाउँपालिकाको ‘नुमाफुङ आमा समूह’की सचिव समेत हुन्।
प्लस टूसम्मको अध्ययन गरेकी सिर्जनाका अनुसार गाउँमा शिक्षित निकै कम छन् । उनीहरुलाई स्वास्थ्य मात्रै होइन, अन्य आवश्यक कामका लागि सहयोग जरुरी हुन्छ । त्यसका लागि उनी हरेकपल्ट सहयोगीका रुपमा प्रस्तुत हुन्छिन्।
शिक्षाको कमीको कारण गाउँका महिलालाई कुरा बुझाउन कहिलेकाहीँ मुस्किल पर्छ उनलाई । ‘आफ्ना कुराले प्रभावित पार्न निकै गाह्रो काम जस्तो पनि लाग्छ,’ अवार्ड ग्रहण गर्दै उनले भनिन्, ‘तर प्रयास गर्दा सफल भइरहेकी छु।’