चितवन– जनस्वास्थ्य कार्यालय बाग्लुङमा कार्यरत दीपकप्रसाद तिवारी उत्कृष्ट जनस्वास्थ्य प्रशासक भएका छन् । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई स्वास्थ्य खबर हेल्थ अवार्ड २०७५ प्रदान गरेका छन्।
दीपकप्रसाद तिवारी नेपाल सरकारका जुझारु जनस्वास्थ्य प्रशासकमध्ये पर्छन् । उनी २९ वर्षको युवावयमा स्वास्थ्य सेवाको नवौं तहमा प्रवेश गरेका हुन् । कम उमेरमै उक्त सफलता हासिल गर्ने जनस्वास्थ्य प्रशासकको रुपमा उनले रेकर्ड नै बनाए । जनस्वास्थ्य क्षेत्रमा करिअर बनाइरहेका बेला लोकसेवा पास गरेर नेपाल सरकारअन्तर्गत आइपुगेका तिवारीसँग उच्च आत्मविश्वास छ । केही गरेर देखाउने भोक छ । त्यसैले त जहाँ पुग्छन्, चुनौतीको डटेर सामना गर्छन्।
हाल बागलुङ जनस्वास्थ्य कार्यालय प्रमुख रहेका तिवारीले तोकिएको जिम्मेवारी त कुशलतापूर्वक पूरा गरिरहेका छन् नै, त्यसबाहेक आफूले जानेका र सक्ने कामहरु पनि गरिरहेका छन् । एउटा जिल्लाको जनस्वास्थ्य प्रमुखका रुपमा त्यहींका लागि उपयोगी काम मात्रै होइन, देशकै लागि सहयोगी हुने कामहरु पनि गरिरहेका हुन्छन् उनी । केही महिनाअघि मात्रै उनले तयार पारेको ‘स्वास्थ्यमा स्थानीय तहको नीति तथा कार्यक्रम’ को मोडेल त्यसको एउटा उदाहरण हो । जो स्थानीय तहको स्वास्थ्यमा संयोजन गरिरहेकाहरुलाई सहयोगी भइदियो।
स्वास्थ्य खबरपत्रिकामा छापिएको उक्त नमुना नीति तथा कार्यक्रमलाई आधार बनाएर थुप्रै स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रम बनाएको तिवारी बताउँछन् । भन्छन्, ‘मैले सरकारको नीति तथा कार्यक्रमको गहिरो अध्ययन गरेर त्यसैका आधारमा स्वास्थ्यको नीति तथा कार्यक्रम बनाएको थिएँ । सबैलाई मन परेछ । कतिले फोन गरेरै त्यसलाई आफूले लागू गर्ने बताउनुभयो ।’ यो एउटा उदाहरण मात्रै हो । उनी अहिलेसम्म जहाँ पुगेका छन्, त्यहाँ आफ्नो प्रभाव जमाएका छन् । उनले परिवार नियोजनको सूक्ष्म योजना तर्जुमा, नवजात शिशु स्याहार प्याकेज तयार, इ–हेल्थ स्टारटेजी र आधारभूत स्वास्थ्य सेवा २०७५ का लागि पनि उनले योगदान गरेका छन्।