चितवन– चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल उत्कृष्ट अस्पताल ठहरिएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य स्वास्थ्य खबर हेल्थ अवार्ड २०७५ प्रदान गरेका छन्।
सरकारी स्तरबाट सञ्चालित यो अस्पताल नेपालको एकमात्र ठूलो क्यान्सर अस्पताल हो भने क्यान्सरका बिरामीको भरोसाको केन्द्र । रोगको निदान र उपचारका लागि अस्पतालमा अत्याधुनिक सेवा उपलब्ध छ । २०५७ साल असोज १० गते एक सय शय्याबाट औपचारिक रुपमा सेवा सुरु गरेको यो अस्पताल अहिले ४ सय ५० शय्यामा विस्तार भएको छ । अस्पतालले चितवन र आसपासका जिल्लाका मात्र नभई ७७ वटै जिल्लाका बिरामीलाई उपचार सेवा दिइरहेको छ । अस्पतालमा वार्षिक ४० हजार बिरामीलाई सेवा दिने गरेको तथ्यांकले देखाएको छ।
१८ वर्षे यो सरकारी अस्पतालले बीचमा लामो समय अन्य सरकारी संस्थाको जस्तै नियति खेप्यो । अस्तव्यस्त भयो । तर, पछिल्लो समय अस्पतालमा सुधारका संकेतहरु देखिन थालेका छन् । क्यान्सरको उपचारमा आफूलाई अब्बल अस्पतालका रुपमा चिनाउन यसले सेवा सुविधासँगै व्यवस्थापनमा पनि सुधार गरेको छ।
कुनै समय अस्पतालको सेवा खस्किएर ओपिडीमा मुस्किलले दुई सय बिरामी मात्र आउने अवस्थामा पुगेको अस्पतालमा अहिले दैनिक ६ सय देखि ७ सय बिरामी आउन थालेका छन् । दैनिक ३ देखि ४ लाख राजस्व उठाउने अस्पतालले अहिले दैनिक ८ देखि ९ लाख राजस्व उठाउन सक्ने अवस्थामा पुगेको छ।