चितवन– यस वर्ष लाइफ टाइम अचिभमेन्ट चितवनवासीका पहिलो चिकित्सक डा. हिरण्यदेव प्रधानलाई दिइएको छ । चितवनमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई लाइफ टाइम अचिभमेन्ट प्रदान गरेका छन्।
२०१४ साल । तराई क्षेत्रमा मलेरियालगायतका रोगको बिगबिगी थियो । तराई बस्न सक्ने त्यहाँका आदिवासी मात्रै थिए । पहाडी मुलका समुदायले जग्गा–जमिन जोड्न त थालेका थिए तर उनीहरु स्थायी रुपमा त्यहीं बस्न भने मान्दैनथे । उत्पादन क्षेत्रमा पहाडबाट बस्ती सार्ने योजना ‘राप्ती भ्याली प्रोजेक्ट’ चलिरहेको थियो।
सरकारले यसरी सारिएकाहरुलाई तराईमा हुने समस्याले नसताओस् र आदिवासीलाई हुने रोगको समाधान होस् भनेर छाप्रे अस्पताल (भरतपुर अस्पताल) खोलेको थियो । तर, त्यहाँ डाक्टर जान मान्दैनथे । किनभने मलेरियाबाट बच्न त्यहाँ पुग्ने डाक्टरले नै दिनको एक ट्याब्लेट औषधि खानुपथ्र्यो।
त्यस्तो समय भरतपुर पुग्ने डाक्टर हुन् हिरण्यदेव प्रधान । बिरामी हुँदा अस्पताल जानुपर्छ भन्ने चेतनाको विकास स्थानीयमा भइसकेको थिएन । त्यसबखत चितवनमा थारु बस्तीको बाहुल्य थियो । डा. प्रधान सम्झिन्छन्, ‘उनीहरु न खोप लिन मान्थे, न औषधि खान ।’ परम्परागत मान्यताले उनीहरु आधुनिक चिकित्सा स्वीकार गर्न चाहँदैनथे । त्यस्तो अवस्थामा डा. प्रधानले रोगविरुद्ध मात्रै होइन, कमजोर चेतनाविरुद्ध पनि उपचार गर्नुपरेको थियो।
आफैं बस्ती–बस्ती डुलेर उनले बिरामीलाई सम्झाउँदै उपचार गरे । स्वस्थ जीवनका लागि सिपहरु सिकाए । यसकारण चितवनमा समग्र चिकित्सा सेवाको सुरुवात गर्ने श्रेय उनलाई जान्छ।
अहिले काठमाडौंपछि उपचारका लागि धेरै बिरामी पुग्ने केही सहरमध्ये चितवन एक हुन पुगेको छ । अस्पतालको संख्या वृद्धि भइरहेको छ । मेडिकल सिटीका रुपमा विकास गर्ने बहस चलिरहेको छ ।
यी सबै परिवर्तन आफ्नै आँखाले देखिरहेका डा. प्रधानको स्मृतिपटलमा भने भरतपुर अस्पतालका लागि बनेका छाप्राहरु नाँचिरहेका हुन्छन् । जहाँबाट उनले पहिलोपल्ट सेवा दिएका थिए।
चितवनलाई मेडिकल सिटी बनाउने चर्चा चलिरहेका बेला स्वास्थ्य खबरले त्यहाँ पुगेर पहिलोपल्ट सेवा दिने डाक्टर खोज्ने क्रममा डा. प्रधान भेटिए । उमेरले ९० वसन्त पार गरेका डा. प्रधानबारे धेरै बेखबर छन् । २७ वर्षदेखि श्रवण शक्तिको समस्या भोगिरहेका उनको धेरैसँग सम्बन्ध–सम्पर्क नै छैन ।