चितवन– स्वास्थ्य खबर लाइफ टाइम अचिभमेन्ट अवार्ड डा मृगेन्द्रराज पाण्डेलाई दिइएको छ । उनको सेवामुखी भावनालाई कदर गर्दै चितवनमा आयोजित स्वास्थ्य खबर हेल्थ अवार्ड २०७५ मा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरे ।
चिकित्सा आफैंमा सेवामुखी पेसा हो । डा. मृगेन्द्रराज पाण्डेको समयमा चिकित्सालाई करियर बनाउँदा सेवा अनिवार्य र सर्वोपरि थियो । किनभने अहिलेको जस्तो निजी चिकित्सकीय अभ्यास गरेर आर्थिकोपार्जन गर्न सकिने जमाना थिएन । तर, डा. पाण्डे बिरामीको सेवा गरेर मात्रै सन्तुष्ट हुन सकेनन् । २०३२ सालदेखि अशिक्षा, अभाव र अविकासले थलिएको समाजको समेत उपचार गर्ने कर्ममा अघि सरेका उनी ८७ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन्।
यसका लागि सीमान्तकृत समुदायको सेवाका लागि गुठी परम्परामा चल्नेगरी संस्था खोले । पूरै परिवारको साथ–सहयोगबाट २०३२ साल फागुन ६ गते सामाजिक संस्था ‘मृगेन्द्र चिकित्सा गुठी’ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा औपचारिक रूपमा दर्ता भयो।
संस्थामा उनीसहित सातजना संस्थापक थिए । सेवा गर्नका लागि पनि पैसा आवश्यक थियो । गुठी सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन उनले २०२६ साल कात्तिकमा किनेको काठमाडौंको जमलस्थित ११ सय ५० वर्गफिट क्षेत्रफलमा निर्मित तीनतले पक्की घर गुठीको नाममा दर्ता गरिदिए ।
कहिल्यै पनि निजी अस्पताल तथा कलेजमा काम नगरेका डा. पाण्डेको धारणा छ, ‘स्वास्थ्य क्षेत्र सेवा हो, त्यो व्यापारसँग जोडिनु हुँदैन ।’