चितवन- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वास्थ्य क्षेत्रमा सकारात्मक विमर्श नै आजको आवश्यकता रहेको बताएका छन्।
चितवनको भरतपुरमा आइतबार आयोजित आठौं हेल्थ अवार्ड २०७५ तथा नेपाल लाइभको पहिलो वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रचण्डले हेल्प पब्लिकेशन प्रालिले स्वास्थ्य सेवामा विमर्शको सुरुवात गरेकोमा धन्यवाद दिए। 'स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्ने, निरन्तरता दिने र यो क्षेत्रमा भिजन तयार पार्नको लागि केन्द्रित हुनु आवश्यकता छ', प्रचण्डले भने।
उनले नेपालमा जडिबुटीको प्रचुर सम्भावना भएकाले त्यसलाई सदुपयोग गर्नुपर्ने बताए। आफू भारत भ्रमणमा गएका बेला रामदेवले औषधि बनाउनका लागि प्रयोग हुने जडिबुटी नेपालबाट आएको भनेर बताएको स्मरण गरे।
हामीकहाँ हरेक क्षेत्रमा अराजकता रहेको भन्दै प्रचण्डले त्यसको अन्त्य गर्नुपर्ने बताए। 'हामीसँग तीक्ष्ण दिमागको कमी होइन', प्रचण्डले भने, 'हरेक क्षेत्रमा सुशासनको अभाव छ। अराजकताको समस्या छ। त्यसको अन्त्य भएपछि नेपालले चाँडै प्रगति गर्न सक्छ।'
कार्यक्रममा स्वास्थ्यखबर पत्रिका र नेपाललाइभ डट कमका सम्पादक नारायण अमृतले संघीयताको मर्मलाई आत्मसाथ गर्दै हेल्थ अवार्ड उपत्यका बाहिर गरिएको बताए। स्वास्थ्य क्षेत्रमा चितवनले विगत १०-१२ वर्षको छाेटाे अवधिमा नै ठूलो फड्को मारेको कुरालाई मध्यनजर गरी उपत्यका बाहिर पहिलोपटक चितवनमा हेल्थ अवार्ड आयोजना गरिएको बताए। आगामी वर्षमा क्रमशः अन्य प्रदेशमा पनि हेल्थ अवार्डलाई विस्तार गरिने उनको भनाइ थियो।
स्वास्थ्य खबरपत्रिका सुरु गर्दा नेपालको स्वास्थ्य पत्रकारिता टिप्स र जानकारीमा मात्र अल्झेको तर अहिले अवस्था परिवर्तन भएको स्वास्थ्यखबर पत्रिका र नेपाललाइभका प्रकाशक अनिल न्यौपानेले बताए। 'नीतिनिर्माण तहमा नै बहस चलाउने उद्देश्यले हामीले स्वास्थ्यखबर पत्रिकाको प्रकाशन थालेका थियौं। उक्त समयमा स्वास्थ्य पत्रकारिता मात्रै होइन, स्वास्थ्य मन्त्रालय नै अोझेलमा थियो, नेताले अन्य मन्त्रालय नपाउँदा मात्र स्वास्थ्य मन्त्रालय राेज्ने गर्दथे। तर अहिले स्वास्थ्य क्षेत्र निकै अाकर्षक बनेको छ, यस्तो अवस्था निर्माण हुनमा कहीं न कहीं स्वास्थ्यखबर पत्रिकाको पनि याेगदान छ भन्ने हामीलाई लागेको छ' कार्यक्रमको समापन गर्दै उनले भने।
कार्यक्रममा स्वास्थ्य क्षेत्रका विभिन्न विधामा याेगदान पुर्याएका ७ जनालाई हेल्थ अवार्ड प्रदान गरिएको थियो।