विचार/ब्लग

प्रकाशकीय : हाम्रो कर्तव्य, हाम्रो प्रण

स्वास्थ्यखबर

हेल्प पब्लिकेसन प्रालिले ‘स्वास्थ्य खबरपत्रिका’ प्रकाशन गर्न थालेको आठ वर्ष पूरा भयो । यो प्रकाशनले नवौं वर्ष टेक्दै गर्दा हामी सञ्चार अनुभव, दायित्व र कर्तव्यप्रति अझै निख्खर र सचेत बन्दै आइरहेका छौं भन्न पाउँदा हामीलाई गर्व लागेको छ।

‘स्वास्थ्य खबरपत्रिका’ यी आठ वर्षमा स्वास्थ्य क्षेत्रमा उत्पन्न सबै आरोह–अवरोहका साक्षी बन्यो । यो बीचमा नेपाली समाज, राजनीति र अर्थतन्त्रले पनि कुनै–कुनै बदलावको अनुभव गरे । त्यो भन्दा महत्वपूर्ण कुरा, नयाँ संविधानसँगै देशकै शासकीय स्वरुप बदलिएको छ । यी सबै परिवर्तनका आयामहरुको प्रतिविम्बन स्वास्थ्य क्षेत्र, यसका सरोकारवाला र नीतिगत तहमा समेत देखिएको छ । यो एउटा प्रक्रिया हो, त्यसैले यो क्रम अरु लम्बिंदै जानेछ । यही सेरोफेरोमा स्वास्थ्य सेवा प्रवाह प्रणालीमा समेत परिवर्तन भएको छ।

हामी के कुरामा स्पष्ट छौं भने, हिजो पनि हाम्रो मूलमन्त्र जनस्वास्थ्य अधिकार थियो, आज पनि यही र भोलिका दिनमा पनि यही रहिरहने छ । संघीय संरचनामा आधारित शासकीय प्रणालीमा त झन स्वास्थ्य सेवा सहज र सुलभ हुनुपर्छ भन्ने मर्म हामीले कहिल्यै बिर्सने छैनौं । संविधानले नै आधारभूत स्वास्थ्यलाई मौलिक हकमा रुपमा स्वीकारेको छ । यसैका आधारमा विधायिकाले केही ऐनहरु पास गरेको छ । कानुनी प्रावधानमा भएका यी प्रगतिहरु स्वास्थ्य क्षेत्र सुधारका साध्य बनुन्।

९ वर्षअघि हामीले प्रकाशन प्रारम्भ गर्दा मानव जीवनमा असाध्यै महत्वपूर्ण अर्थ राख्ने स्वास्थ्य कुनै समय शासकहरुको न्यून प्राथमिकताको क्षेत्र थियो । अन्य मन्त्रालय नपाए मात्रै स्वास्थ्यलाई रोज्ने गरिएको थियो । तर, पछिल्ला दिनहरुमा त्यो अवस्था फेरिएको छ । स्वास्थ्य रोज्जाको मन्त्रालय बन्न सफल भएको छ।

स्वास्थ्यका यी उतारचढावसँगै स्वास्थ्य पत्रकारिता पनि अघि बढिरहेको छ । पत्रकारितामा पनि स्वास्थ्यका विषय केवल रोगबारेका लेख र जानकारीमा सीमित भएका बेला हामी स्वास्थ्य पत्रकारितालाई ‘खबर’ यात्रामा डो¥याउने हिम्मतका साथ अघि बढेका थियौं । आजको दिनसम्म आइपुग्दा हामी यसमा सफल भएको महसुस गरिरहेका छौं।

अहिले स्वास्थ्यका खबरहरुलाई हरेक सञ्चारमाध्यमले महत्व दिन थालेका छन् । स्वास्थ्य विषय हरेक सञ्चार माध्यमको ‘बिट’ हुन थालेको छ । यसका लागि छुट्टै पेज वा कोलमको व्यवस्था गर्न थालिएको छ । हामीले उठान गरेका स्वास्थ्य क्षेत्रका विसंगति यतिखेर सबै सञ्चारमाध्यमका साझा एजेन्डा बन्न थालेका छन् । चिकित्सा शिक्षा र सेवामा आम सर्वसाधारणको सहज पहुँच तथा सुलभ उपचारको पक्षमा हामीले निरन्तर वकालत गर्दैआएका छौं । स्वास्थ्य क्षेत्रलाई गलत तरिकाले उपयोग गरिरहेका, गर्न खोज्ने र यसलाई सेवामूलक पेसा नभई व्यापारमुखी बनाउनेहरुप्रति हामीले निरन्तर खबरदारी  गरिरहेकै छौं।

खराब व्यक्ति र प्रवृत्तिलाई निरुत्साहित गर्ने मात्रै होइन, यो क्षेत्रमा अमूल्य योगदान पुर्या‍उनेहरुलाई हौस्याउने दायित्व पनि हामीले आफ्नै रहेको महसुस गर्‍यौं । यही दायित्वबोधका कारण हामीले पहिलो वार्षिकोत्सवबाटै ‘हेल्थ अवार्ड’को थालनी ग¥यौं । आमजनताको स्वास्थ्य हितमा कत्र्तव्यनिष्ठ भएर लागिपरेकाहरुलाई हामीले ‘स्वास्थ्य खबरपत्रिका हेल्थ अवार्ड’ मार्फत सम्मान गर्दैआएका छौं।

नवौं वर्षमा आइपुग्दा हामीसामु धेरै चुनौती थपिएका छन् । पहिलो चुनौती भनेकै आम पाठकवर्ग र सरोकारवालामा हामीप्रति बढेको विश्वास कायम राख्दै थप विश्वास आर्जन गर्नु हो । आगामी दिन हामी तपाईंको विश्वासमा अझ खरो उत्रने प्रयास गर्नेछौं । हामीले प्रविधिको विकाससँगै बढेको सञ्चारको रफ्तारमा पनि आफूलाई पछि पर्न दिएका छैनौं । मासिक पत्रिकासँगै पाँच वर्षदेखि हामी अनलाइन संस्करण http://www.swasthyakhabar.com मार्फत निरन्तर समाचार प्रवाहमा सक्रिय छौं । यसले हाम्रो उपस्थितिलाई अझ गाढा र फराकिलो बनाइदिएको छ।

हाम्रो यो अभियानमा यहाँहरुले दिनुभएको साथ, सहयोग र शुभेच्छाले थप हौस्याउँदै गयो । त्यसैले अघिल्लो वर्षदेखि हेल्प पब्लिकेसनले सबै क्षेत्रलाई समेट्ने मूलधारको खोजमूलक पत्रकारितालाई आत्मसात् गर्दै http://www.nepallive.com पनि सञ्चालनमा ल्याएको छ। ताजा, सत्यतथ्य, खोजमूलक र विश्लेषणात्मक समाचार पस्कने उद्देश्यले आएको अनलाइनलाई दिनुभएको तपाईंको साथप्रति सदा आभारी छौं । तपाईं सम्पूर्ण पाठक, लेखक, पेशाकर्मी, 23दाता, व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मी र शुभेच्छुकको साथ र सहयोग हाम्रा सबै प्रकाशन–प्रसारणप्रति रहनेछ भन्ने विश्वासका साथ धन्यवाद ज्ञापन गर्छौं । स्वास्थ्य पत्रकारिता हाम्रो अभियान हो, कर्तव्यसहितको अभियान । यो अभियानको लक्ष्य आमपाठकलाई स्वास्थ्यसम्बन्धी अधिकतम सूचना प्रवाह गर्ने तथा नीति–निर्माण र कार्यान्वयन तहमा खबरदारी गरिरहने हो । यसमा हामी अघिल्ला वर्षहरु जस्तै निरन्तरता दिने प्रण दोहो¥याउन चाहन्छौं। 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live