मुख्य समाचार

चिकित्सकको माग अनुसार नै राष्ट्रिय सभाबाट मुलुकी ऐन संशोधन पास, अन्तिम निर्णयका लागि  आगामी प्रतिनिधी सभामा पेश हुने


काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरूसँग गरेको सहमति अनुसार नै मुलुकी अपराध संहिता संशोधन भएको छ। आइतबार बसैको राष्ट्रिय सभाको बैठकले विधायन समितले पेश गरेको संशोधन प्रतिवेदन नै पास गरेको हो। 

चिकित्सकको कसुरको अनुसन्धान गर्ने समितिमा मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ रहने गरी संशोधन भएको हो। अपराधमा संहितामा यसअघि कुनै चिकित्सकले गरेको कसुरमा प्रहरीले पक्राउ गरी अनुसन्धान गर्ने र मुद्दा चलाउने व्यवस्था थियो।

सभाले पास गरेको उक्त संशोधनमा मेडिकल काउन्सिलले तोकेको विज्ञ चिकित्सक समितिको संयोजक रहने, स्थास्थ्य सेवाको कम्तिमा एघारौं तहको अधिकृत, नेपाल प्रहरीको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत (एसएसपी र डिआइजी), उपभोक्ता हक हितको क्षेत्रमा क्रियाशील स्वास्थ्य मन्त्रालयले तोकेका एक जना रहने व्यवस्था गरेको हो। यस समितिले अनुसनधान गर्दा कसुर गरेको प्रमाणित भेटिए मुद्दा चलाउन सरकारी वकिललाई लेखि पठाउने व्यवस्था गरेको छ। अब कसैको अंगभंग गर्ने नियतले उपचार गरे, एक अंगको चरिफार गर्नु पर्नेमा अर्को अंगको चिरफार गरे, अंग बेकम्मा बनाए वा कुनै सिफारिस गरिएको औषधीले ज्यान गए त्यस्तो अनुसन्धान समितिले गर्नेछ।

त्यस्तै लापरबाही वा हेलचक्र्याइँ गरी पर्याप्त होसियारी नपुर्याचई उपचार गरे, औषधी दिए वा चिरफार गरे त्यसको अनुसन्धान पनि यही समितिले गर्ने भएको छ। प्रमाणित भएमा भने संहितामा रहेको सजाय भुक्तान गर्नुपर्नेछ । अपराध संहितामा लापरबाहीपूर्ण कार्यले अंगभग भए वा ज्यान मरे पाँच वर्षसम्म कैद र पचास हजार जरिवानाको व्यवस्था छ। हेलचक्र्याइँ गरेकाले ज्यान गए वा अंगभंग भए तीन वर्षसम्म कैद र तीस हजार जरिवानाको व्यवस्था गरेको छ। 

कसैको मञ्जुरीबिना मानव शरीर परीक्षण गरेको अभियोगको समेत यही समितिले नै छानबिन गर्नेछ। यस्तो कसुरमा तीन वर्ष कैद वा तीस हजारसम्म जरिवानाको प्रावधान छ। समितिले मानवको रगत, मुत्र वा खकार आदि प्रयोगशाला परीक्षण प्याथोलोजिक टेष्ट गर्न इजाजतपत्र प्राप्त व्यक्तिले त्यसरी परीक्षण गर्दा झुठा प्रतिवेदन दिएको वा तथ्य फरक पारेको उजुरी परे अनुसन्धानका लागि यही समितिले अनुसन्धान गर्ने व्यवस्था गरेको छ। यो कसुर प्रमाणित भए तीन वर्षसम्म कैद र तीस हजार रूपैयाँ जरिवाना हुने प्रावधान छ।

राष्ट्रिय सभाबाट पास भएको संशोधन आगामी प्रतिनिधी सभाको बैठकमा पेस हुनेछ । सभामा बहुमत सांसद यसको पक्षमा देखिए पास हुनेछ। राष्ट्रिय सभामा बोल्दै कानुन मन्त्री भानुभक्त ढकालले सरकार यो संशोधनको पक्षमा रहेको बताएका छन्। सरकारसँग दुर्इ तिहार्इ  सांसद रहेका कारण प्रतिनिधी सभाबाट समेत पास हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने