नर्सिङ

पाठेघरको मुखको क्यान्सर: पहिचान र व्यवस्थापन

बबिता सुवेदी

पाठेघरको मुखको क्यान्सर संसारमा देखापर्ने क्यान्सरमध्ये ज्यानै लिनसक्ने क्यान्सर रोग हो। लाखौं महिलाहरु प्रत्येक वर्ष विश्वमा पाठेघरको मुखको क्यान्सरबाट प्रभावित छन्। जसमध्ये ५० प्रतिशत महिलाको उक्त समस्याबाट मृत्यु भइरहेको छ। विश्वमा हेर्ने हो भने महिलामा देखापर्ने क्यान्सरमध्ये स्तन, आन्द्रा, फोक्सोपछि चौथौ नम्बरमा नै पाठेघरको क्यान्सर आउँछ । नेपालमा भने यो क्यान्सर पहिलो स्थानमा रहेको छ।

विकसित देशहरुमा समयमा नै स्क्रिनिङ  गरी क्यान्सर हुनुअगावै त्यसको व्यस्थापन गरिने हुँदा क्यान्सर हुने र उक्त रोगबाट हुने मृत्युदरमा निकै नै कमी आइसकेको छ। नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा अझै पनि जनचेतनाको कमीको कारणले धेरै स्क्रिनिङ विधिको उपलब्धता हुँदाहुँदै पनि पाठेघरको मुखको क्यान्सरको समयमा पत्ता नलाग्दा रोगको निदान हुन नसकी महिलाको मृत्यु भएको अवस्था छ।

यो क्यान्सर हुनुका धेरै कारण छन् जसमध्ये मुख्य कारण भनेको भाइरसको संक्रमण हो। सानै उमेरदेखि यौन सम्बन्धमा रहनु, धेरै जनासँग यौन सम्पर्कमा रहनु, धूमपान गर्नु, धेरै पटक गर्भवती हुनु आदि यस क्यान्सर जोखिमका कारक हुन्। पाठेघरको मुखको क्यान्सरका मुख्य लक्षणहरुमा अनियमित रुपमा योनीबाट रक्तश्राव हुनु, बढी मात्रामा योनीबाट फोहोर पानी बगिरहनु, महिनावारी रोकिइसकेपछि पनि बीचबीचमा रक्तश्राव हुनु, यौन सम्बन्धमा रहँदा बढी दुख्नु, कम्मर दुख्नु आदि हुन्। 

अन्य क्यान्सर भन्दा पाठेघरको मुखको क्यान्सर यदि सक्रिय प्रजनन उमेरका (३०–६० वर्ष) हरुले सही समयमा नै सचेत भई जाँच गरेको खण्डमा क्यान्सर हुनु अगावै क्यान्सर हुनसक्ने अवस्थाको पहिचान गर्न सकिन्छ र बेलैमा पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिन्छ। जसले गर्दा क्यान्सर हुने दर घटाउन सकिन्छ। त्यस्तै स्कुल जाने प्रजनन उमेरका नभएका बच्चालाई पनि पछि यस क्यान्सरबाट बचाउन खोपको प्रयोग गर्न सकिन्छ। बच्चालाई ९ देखि १३ वर्षभित्र यौन सम्पर्कमा आउनु अगावै खोप लगाउन 11 संगठनले सिफारिस गरेको छ। 
प्रजनन उमेरका महिलालाई क्यान्सर भइसकेको भए तापनि पहिलो चरणमा नै पत्ता लगाउन सकियो भने क्यान्सरको पूरा उपचार गर्न सकिन्छ। यी सबै कुरालाई  मध्यनजर गरी धेरै प्रकारका स्क्रिनिङलगायत उपचारका पद्धतिहरु नेपालका सरकारी तथा गैरसरकारी संस्थाहरुमा चलिरहेका छन्। यसको बारेमा सबै महिलाहरुलाई जानकारी हुनु आवश्यक छ। 

प्रजनन उमेरका महिलाका लागि कार्यक्रहरुमा भीआइए टेस्ट, साइटोलोजी, एचपीभी टेस्टिङहरु सरकारी स्वास्थ्य संस्थाहरुमा उपलब्ध छन् । हालको अवस्थामा राष्ट्रिय स्वास्थ्य कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सरको सही समयमा पहिचान र व्यवस्थापन गर्नको लागि सिंगल भिजिट एप्रोच प्रोग्रामलाई अगाडि राखिएको छ, जुन प्रत्येक सरकारी स्वास्थ्य संस्थाहरुमा सञ्चालन भैरहेको छ । यो एक प्रकारको सामान्य जाँच हो। यस जाँचमा एसिटिक एसिट को प्रयोग गरी कुनै दुखाइविना नै १ मिनेटमा पाठेघरको मुखको क्यान्सर हुनुअगावैै क्यान्सर हुनसक्ने र नसक्ने अवस्थाको पहिचान र क्यान्सर छ–छैन पत्ता लगाउन सकिन्छ। भीआइए जाँच ३०(६० वर्षका यौन सम्पर्कमा रहिरहेका महिलालाई गर्न सकिन्छ। महिनावारी भइरहेको (रगत बगिरहेको), गर्भवती महिला, ६ हप्ता भित्रको सुत्केरी र गर्भपतन भएको २ हप्ताभित्र भीआइए जाँच गर्न सकिंदैन। भीआइए जाँच गरिसकेपछि यदि प्रिक्यान्सरियस लेसन ७५ प्रतिशत भन्दा कम छ र क्यान्सर भइनसकेको तर भविष्यमा हुनसक्ने अवस्था छ भने भीआइए जाँच गरेलगत्तै त्यही समयमा नै चिसोले सेक्ने पद्धतिको पनि प्रयोग गरी उपचार गर्न सकिन्छ र त्यसपछि लगातार स्वास्थ्यकर्मीको सम्पर्कमा रही पाँच वर्षमा फेरि स्क्रिनिङ  गर्नुपर्ने हुन्छ र यदि क्यान्सर नै भइसकेको अवस्था भएमा स्टेज अनुसारको व्यवस्थापन गर्नु पर्दछ।

पाठेघरको क्यान्सरको समस्या र मृत्युदर बढिरहेको हाम्रो जस्तो देशमा यस क्यान्सरको समयमा नै पहिचान र व्यवस्थापन गरी रोग लाग्ने दर र यसबाट हुने मृत्युदर घटाउन अति आवश्यक छ। समयमै महिलाहरु आफू अग्रसर भई सामान्य जाँच भीआइए मात्र गरेको खण्डमा पनि पाठेघरको मुखको क्यान्सरबाट बँच्न र बचाउन सकिन्छ।

सुवेदी मातृशिशु मितेरी अस्पतालमा 4 अफिसरका रुपमा कार्यरत छिन् । 
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live