मुख्य समाचार

भेरी अस्पतालमा डायलाइसिस सेवा सुरु भएपछि बिरामी लाभान्वित

कृष्ण अधिकारी

नेपालगन्ज– भेरी अञ्चल अस्पतालले मिर्गौला रोगका बिरामीको उपचारका लागि डायलाइसिस सेवा सुरु गरेपछि नेपालगन्जलगायत पश्चिम नेपालका बिरामी लाभान्वित भएका छन्।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको दुईवटा र आफ्नै स्रोतमा थप दुई गरी चारवटा डायलाइसिस मेसिन जडान गरेर भेरी अञ्चल अस्पतालले बिरामीलाई सेवा दिंदै आएको छ। 

२०७४ पुसदेखि सुरु भएको डायलाइसिस सेवाबाट हालसम्म १७ जना बिरामीको ५ सय ४६ पटक डायलाइसिस गरिएको अस्पतालले जनाएको छ। 

पश्चिम नेपालका सरकारी अस्पतालमा डायलाइसिस सेवा नहुँदा बिरामीहरुले समस्या खेप्दै आएका थिए।

भेरी अञ्चल अस्पतालले डायलाइसिस सेवा सुरु गरेपछि मिर्गौलाका रोगीहरुलाई डायलाइसिस सेवा लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरदेखि भारतको लखनउ र काठमाडौंसम्म जानुपर्ने बाध्यता हटेको छ।

बिरामीको स्वास्थ्य अवस्थाअनुसार एकजना बिरामीलाई हप्तामा २ देखि ३ पटकसम्म डायलाइसिस गर्नुपर्छ। एकजना बिरामीलाई एकपटक डायलाइसिस गर्न करिब ६ घन्टा लाग्छ। 

डायलाइसिस गराउँदा पालो कुर्नुपर्ने र पटकपटक आउनेजाने गर्नुपर्ने भएकाले घरदेखि टाढाका अस्पताल जानआउन पर्दा बिरामी र उनका आफन्तले सास्ती खेप्दै आएका थिए। 

नेपालगन्जकै सरकारी अस्पतालमा डायलाइसिस सेवा सुरु गरेपछि मिर्गौला रोगको उपचार सहज भएको बिरामी रिसमान थारुले बताए।

पछिल्ला दिनमा डायलाइसिस गर्नुपर्ने बिरामीको संख्या बढ्दै गएको र अस्पतालमा डायलाइसिस सेवा प्रदान गर्ने जनशक्तिको अभावले गर्दा दैनिक केही समस्या आएको फिजिसियन डा. पारस श्रेष्ठले बताए। जनशक्तिको अभावमा एक सिफ्ट मात्रै डायलाइसिस सेवा सञ्चालन गर्नुपरेको डा. पारस जानकारी दिए। 

बिरामीको सुविधाका लागि तत्कालै २ सिफ्टमा सेवा सञ्चालन गर्नुपर्ने अवस्था भए पनि हालसम्म थप जनशक्तिको व्यवस्था हुन नसकेका कारण एक सिफ्ट मात्रै सञ्चालन भइरहेको छ।

डायलाइसिस सेवाका लागि एक जना चिकित्सक, दुई नर्स र एक प्राविधिक मात्रै भएका कारण बिहान ९ बजेदेखि ५ बजेसम्म मात्रै सेवा सञ्चालन भइरहेको छ।

एक सिफ्ट मात्रै सेवा सञ्चालन हुँदा बिरामीले ३-४ महिनादेखि कुर्नुपर्ने बाध्यता छ। आकस्मिक अवस्थामा आउने बिरामीलाई थप शुल्क लिएर सेवा दिने गरिएको छ। 

पालो पर्खेर उपचार गराइरहेका सबै बिरामीलाई भेरी अञ्चल अस्पतालले डायलाइसिस सेवा निःशुल्क उपलब्ध गराउँदैआएको डा. श्रेष्ठले बताए।
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live