फिचर

बिरामीको सेवामा डटिरहने वीरबहादुर


२०७१ सालको सुरुतिर जिल्ला स्वास्थ्य कार्यालय अछामका तत्कालीन प्रमुख डा रामबहादुर केसीकहाँ भर्खरै अहेबमा लोक सेवा पास गरेर पोस्टिङका लागि आइपुगेका थिए। डा केसीले सोधे, ‘कुन स्वास्थ्य चौकी जाने हो ?’

ती युवाको उत्तर थियो, ‘यहाँ पहिलोपल्ट आएको हुँ। पूरै भुगोल थाहा छैन। सबैभन्दा दुर्गम ठाउँमा पठाइदिनु न।’

प्रत्युत्तरमा डा केसीले भने, ‘सबै सुगम रोज्छन्। तपाईं दुर्गम किन?’

ती युवाले भने, ‘मलाई सेवा पाउन मुस्किल पर्ने ठाउँमा सेवा दिने चाहना छ।’ डा केसीले ती युवालाई दुर्गममा पठाउनुको सट्टा जिल्ला अस्पतालमै पोस्टिङ गरिदिए। 

तिनै युवा अहेब हुन्, वीर बहादुर बोहरा। 

अछाम जिल्ला अस्पताललाई आर्थिक वर्ष ०७३÷०७४ मा नेपालकै उत्कृष्ट अस्पताल बनाउनमा अहेबको रूपमा कार्यरत उनको योगदान पनि कम छैन। ठूलो अस्पतालको आन्तरिक अवस्थाबारे जानकारी नपाएका अहेब बोहरा आफूलाई अस्पतालमै राखेकोमा चकित परे। बिस्तारै माहोलमा भिज्न थाले। आफूले नजानेका कुरा सिक्न थाले। अस्पताल आएपछि सिप सिके तर त्यहाँको तत्कालीन वातावरणले उनलाई निरुत्साहित बनायो। 

उनी सम्झिन्छन्, ‘एक स्टाफले अर्कोको मतलबै नगर्ने। म आउँदा अस्पतालमा एकजना मात्र चिकित्सक हुनुहुन्थ्यो। चार–पाँचजना स्वास्थ्यकर्मी हुनुहुन्थ्यो। नाइट ड्युटी गरेर भोलि बिहान ओपिडी हेर्नुपर्ने बाध्यता हुन्थ्यो।’ 

उनले अवस्था हेरे, आफूजस्तो कनिष्ठ कर्मचारीले चाहेर मात्रै परिवर्तन गर्न सकिने अवस्था देखेनन्। उनलाई लाग्यो– एक स्वास्थ्य चौकीको मात्रै जिम्मेवारी पाएँ भने नमुना बनाएर देखाउँछु।’

केही महिनामै डा केसी बिदा भए। डा शरदचन्द्र बराल जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भएर आए। एकदिन कुराकानीकै क्रममा उनले डा बराललाई आफूलाई कुनै स्वास्थ्य चौकीको जिम्मा दिए नमुना बनाएर देखाउने चाहना व्यक्त गरे। डा बराल अछाम जिल्ला अस्पतालको सुधारका लागि योजना बनाइरहेका थिए। उनले अहेब बोहोराको स्वास्थ्य सेवा सुधारमा रहेको हुटहुटीलाई त्यहीँ प्रयोग गर्ने योजना बनाए। 

डा बरालले अस्पतालका केही विभागको जिम्मेवारी उनलाई लिखित रूपमै दिए। उनलाई अस्पतालको ओपिडी, इमर्जेन्सी, फार्मेसी, रेकर्डिङ र रिपोर्टिङको जिम्मेवारी दिँदै भने, ‘अस्पतालले प्रदान गर्ने सेवा र सुधार गर्नुपर्ने कुराको खोजी गरी त्यसलाई पूरा गर्न तिम्रो महत्वपूर्ण भूमिका रहने अपेक्षा छ।’

उनले आफ्नो जिम्मेवारी दिनरात नभनी कुशलतापूर्वक निर्वाह गरे। उनी जस्तै स्वास्थ्यकर्मीका कारण आर्थिक वर्ष ०७३÷०७४ मा अछाम जिल्ला अस्पताल देशभरिकै सरकारी अस्पतालमा उत्कृष्ट बन्न सफल भयो। उनी आफ्नो प्रेरणाको स्रोत डा बराल नै ठान्छन्। भन्छन्, ‘अरूलाई उत्प्रेरित गर्दै आफू पनि खट्ने डा बरालले मलाई काम गर्न हौस्यायो।’

डा बराल पनि बोहरामा काममा लगाव भएको ठान्छन्। हाल चिकित्सा विज्ञान प्रतिष्ठान न्याम्समा पोष्ट ग्य्राजुएट गरिरहेका बरालले भने, ‘उनी ड्युटी नभएको बेला पनि इमर्जेन्सीमा बसेर सेवा दिन्थे। यसले मलाई उनीप्रति भरोसा जगायो।’

डा बराले त्यहाँबाट सरुवा भएर बाहिर गए। तर, बोहरा आफूलाई दिइएको जिम्मेवारी कुशतलापूर्वक निर्वाह गर्दै आइरहेका छन्। ‘जिल्ला अस्पतालमा सवै रोगको उपचार नहुन सक्छ तर समस्याको समाधान खोज्न सकिन्छ,’ आफूलाई काममा सक्रिय गराउन यही धारणा उनले दिमागमा राख्ने गरेका छन्। त्यसैले आफ्नो तहबाट सबै उपचार दिन नसके पनि त्यसबारे बिरामीलाई सही सुझाव सल्लाह दिनु आफ्नो कर्तव्य ठान्छन्। स्वास्थ्यकर्मीको सही सल्लाह र उपचारले पनि कतिपय समस्याको समाधान समुदाय स्तरमै हुने उनको ठहर छ। उनी भन्छन्, ‘एउटा सर्जनका हातमा एउटा बिरामी हुन्छ भने हामी जस्ता स्वास्थ्यकर्मीका हातमा सिंगो समुदाय।’

उनको खटन, लगाव र सकारात्मक सोचबाट मात्रै होइन, कार्यालयका सहकर्मीदेखि बाटोघाटोमा भेटिने स्थानीयसँग गर्ने व्यवहारको पनि प्रशंसा हुन्छ। स्थानीयका अनुसार उनी गाउँमा गइरहेका बेला पनि भन्छन्, ‘केही समस्या आयो भने मंगलसेनको जिल्ला अस्पताल आउनू।’ यसले गर्दा उनलाई खोज्दै गाउँबाट बिरामी आइरहेका हुन्छन्। आफूले सक्ने आफैं र आफूले नसकेको डाक्टरहरुकहाँ पु¥याइदिएर उनी समस्याको समाधान गरिदिन्छन्। 

उनी सेवा यसरी खट्नुको एउटा महत्वपूर्ण कारण उनको विगत हो। स्वास्थ्यका विषयमा प्रशस्त जानकारी उनको परिवारका सदस्यमा हुँदो हो त उनी कुपोषणको सिकार हुने थिएनन्। उनको बुवाको काँडा बिझेको घाउ बल्झिएर खेतबारी बेचेर उपचार गर्नुपर्ने थिएन। यी घटनाले उनलाई स्वास्थ्य क्षेत्रमा ल्याइपु¥याएको हो। आफूले जस्तै अरूले नभोगून् भनेर उनी डटिरहेका छन्। 

उनी बैतडीको अतिदुर्गम सिगास गाउँपालिका वडा नं ८ साबिकको शिवल्रिग वडा नं ३ मठेलामा २०४६ सालमा जन्मिएका हुन्। जहाँ सडक यातायाले छोएको छैन। विद्युत पुगेको छैन। छरिएर रहेको बस्तीका विद्यार्थीहरुले स्कुल जान साढे दुई घन्टासम्म पैदल यात्रा गर्नुपर्छ। स्वास्थ्य चौकी पुग्दा डेढ घन्टाको यात्रा तय गर्नुपर्छ। कृषिमा आश्रित परिवारमा जन्मिएका उनी एक वर्ष नपुग्दै कुपोषणको सिकार हुन पुगे। उनको उपचारका लागि धामीझाँक्री र बैद्य गुहारियो। 

तर, कारण त्यो थिएन। उनी गर्भमै हुँदा पनि उनकी आमाले कुवत (दूध, घिउ, नुन लगायत आहार नखाएको) बारेकी थिइन्। जसले जन्मिँदा नै उनमा पौष्टिक तत्वको कमी थियो। जन्मेपछि पनि कुवत बार्ने यही कुप्रथाले गर्दा उनकी आमा आँखा नै नदेख्ने अवस्थासम्म पुगिन्। उनी भन्छन्, ‘त्यसपछि मलाई आमाको दूधबाट अलग गराइयो र गाईभैंसीको दूध मात्रै खुवाउँदै बाजेबज्यै सँगै हुर्काइएछ।’

प्रारम्भिक शिक्षाका लागि गाउँकै विद्यालयमा लिए। त्यहाँ उनी कक्षा पाँचसम्मै अब्बल विद्यार्थीमा दरिए। 

तर, कक्षा ६ बाट भने अध्ययनका लागि दुई घन्टाको बाटो हिँड्नुपर्ने उनी बताउँछन्। कक्षा ८ सम्म उनले पढाइमा त्यति प्रगति गर्न सकेनन्। कक्षा ९ र १० भने उनले बझाङको देउलेखमा रहेको देवेश्वरी माविमा पढे। त्यहीँ डेरा लिएर पढेका उनको पढाइको रफ्तार बढ्यो। उनी सम्झिन्छन्, ‘त्यही बेला खेतमा काम गर्दा बुवाको खुट्टामा काँडा पसेछ। गाउँमा पाइने प्रचलित जडिबुटी लगाउनुभएछ। तर, घाउ बिसेक हुनुको सट्टा बल्झिएछ। गाउँका पुरुषहरू रोजगारका लागि गाउँबाहिर थिए। महिलाहरूले म पढ्ने विद्यालय नजिकैको प्राथमिक स्वास्थ्यचौकीमा उपचारका लागि ल्याउनुभयो।’

उनको बुवाको घाउ बल्झिएर महाकाली अञ्चल अस्पताल हुँदै भारतको खटिमामा लगेर उपचार गरिएको थियो। त्यही काँडाका कारण हड्डी कुहिएर अप्रेसन गर्नुपरेको उनले बताए। भने, ‘हामीसँग बुवाको उपचार गराउने अरू कुनै उपाय थिएन। भएको जग्गा बेच्यौं।’

उनको गाउँ नजिकै पनि स्वास्थ्यचौकी थियो तर त्यहाँ कर्मचारी बस्दैनथे। त्यही कारण उनको बुवाले काँडा बिझ्नेबित्तिकै उपचार गर्न पाएनन्। यसले उनको मनमा स्वास्थ्य विषय पढेर अरू जान नमान्ने ठाउँमा पुगेर सेवा दिने रहर उम्रिएको थियो। उनलाई लागिरहन्थ्यो, ‘काँडा बिझेकै समय झिक्न पाएको भए हड्डीसम्म फैलिएर उपचारका लागि घरखेत बेच्नुपर्थेन।’

यही कठिन समयमा उनले एसएलसी दिएका थिए। पहिलो श्रेणीमा उत्तीर्ण गरेको खबर नतिजा प्रकाशित भएको तीन दिनपछि मात्रै थाहा पाएका थिए। एसएलसीपछि विज्ञान विषय पढेर गाउँकै स्कुलमा शिक्षक बनेको हेर्ने उनको बुवाको चाहना थियो। 

तर, उनी स्वास्थ्य क्षेत्रतिर जान चाहन्थे। किनभने उनको आँखामा बुवाको उपचारमा खेपेका हन्डर, आमाले कुवत पार्दा आफू र आमाले पाएको दुःख नाचिरहका थिए। उनी सम्झिन्छन्, ‘म घरबाट बुवाले भनेकै विज्ञान विषय पढ्न निस्किएको थिएँ तर महेन्द्रनगर पुग्दा टाइफाइडले उनलाई थला पा¥यो। उपचार गरेर दुई हप्तापछि कलेज पुग्दा विज्ञान संकायमा भर्ना नै सकिएको थियो।’ 

विज्ञान विषय पढाएर शिक्षक बनाउने उनको बुवाको सपनामा यसरी तुसारापात भएपछि उनी अलमलिइरहेका थिए। त्यही क्रममा आफ्ना पुराना गुरुसँग भेट भयो। ‘मैले मेरो अवस्थाका बारेमा भनेँ। उहाँले सिएमए पढ्न सकिने बताउनुभयो। अहेबको अध्ययनका लागि भर्नाबारे बुझेको अन्तिम दिन रहेछ। त्यही दिन फाराम भरेर प्रवेश परीक्षा दिएँ। यसरी म सिएमए अध्ययन गर्न थाले,’ उनी सम्झिन्छन्।

दसैंसम्म उनले आफूले पढिरहेको विषय परिवारलाई जानकारी दिएनन्। एकदिन १५ महिने कोर्स सिएमए पढिरहेको सुनाउँदा ‘१५ महिनामै पाइने पनि डिग्री हुन्छ ?’ आफ्ना बुवाले हकारेको उनी अहिले पनि सम्झिन्छन्। 

१५ महिनाको अहेब कोर्स सकेपछि उनी बझाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र देउलेख पुगे। त्यहीँ प्लस टू पनि पढे। सोही क्रममा एकजना अहेबसँग उनको भेट भयो। उनको क्लिनिक पनि थियो। ती अहेबको अन्तै सरुवा भएपछि त्यो क्लिनिकको जिम्मा बोहराले पाए। सुनकुडा गाउँमा रहेको क्लिनिकमा काम गर्ने क्रमको एउटा घटना अझै सम्झिन्छन् उनी। 

‘त्यहाँबाट करिब ४ घन्टा लामो पैदल यात्रा रहेको शिवल्रिग गाविस वडा नं ५ मा झाडापखालाले एक आफन्त बिरामी परेको खबर आयो। पछि बुभ्mदा गाउँभरि नै प्रकोप फैलिएको रहेछ। ‘हामी एक पेटी स्लाइन र औषधि बोकेर त्यहाँ पुग्यौं। त्यहाँ त रुवाबासी चलिरहेको थियो। घरमा पुगेर बिरामीको नाडी चेक गर्दा भेटाउन सकिएन। ब्लड प्रेसर पनि भेटिएन। शरीर चिसो थियो,’ उनी भन्छन्, ‘मैले श्वासनली छामेँ। त्यो चलिरहेको महसुस भयो। मुटुको धड्कन पनि चलिरहेको थाहा पाइयो। त्यसपछि जल वियोजनले बेहोस भएको भन्ने लागेर ६ घन्टासम्म सलाइन दिएँ। त्यसपछि उहाँ होसमा आउनुभयो।’

उनले दुई दिन त्यहीँ बसेर उपचार गरेपछि फर्किए। त्यो घटनाले गाउँका बिरामीमा उनीप्रतिको विश्वास एकाएक चुलियो। बिरामी हुँदा फोन गर्ने, घरैमा बोलाउने गर्न थालेपछि उनी पनि सेवा सम्झेर त्यहाँ गइरहन थाले।

त्यसपछि लोकसेवाबाट अहेब कोटामा नाम निकालेपछि अछाम आइपुगेका हुन् उनी। विकटको दुःख नजिकबाट महसुस गरेका उनी आफूलाई बिरामीको सेवामै समर्पित गर्न चाहन्छन्। 

उनी प्रभावकारी सेवाका लागि समूहमा काम गर्न जरुरी रहेको बताउँछन्। दृष्टिकोण भने सदा सकारात्मक राख्नुपर्ने उनको धारणा छ। 

अछाम जिल्ला अस्पतालमा कार्यरत भए पनि जिल्लाका आधाभन्दा बढी स्वास्थ्य संस्थामा पुगिसकेका छन्। अछामको ग्रामीण स्तरसम्म सडकको पहुँच पुगेकाले बिरामीले सही सल्लाह दिएर अकाल मृत्युबाट जोगाउन सकिने ठान्छन्।  

कामका साथै पढाइलाई पनि निरन्तरता दिएका छन् उनले। समाजशास्त्रमा स्नातकोत्तर उनको अबको लक्ष्य छ– पिएचडी गर्ने। 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने