कैलाली– शिउरानी चौधरी ११ वर्षकी भइन्। उनी बोल्न र हिंडडुल गर्न सक्दिनन्।
खान, दिसापिसाब गर्न र लुगा फेर्न समेत शिउरानीलाई अर्कैको सहारा चाहिन्छ। त्यतिमात्र होइन, यी अवोध बालिकाका दुवै हात बाँधिएका छन्।
आठ वर्षदेखि बाँधिएकी शिउरानीको अवस्था देख्ने जोकोहीको पनि मन चसक्क गर्छ।
लम्कीचुहा नगरपालिका– ६, मुक्त कमैया शिविर, बागमाराकी शिउरानी तीन वर्षकै उमेरमा शारीरिक तथा मानसिक रुपमा अस्वस्थ भइन्।
खुला छोडे आफ्नै शरीर टोकेर जताततै घाउ बनाउने भएकाले छोरीलाई बाँधेर राख्नु परेको शिउरानीकी आमा राजकुमारीले बताइन्।
उनले भनिन्, ‘दिउँसो हामी मजदूरी गर्न जान्छौं, घरमा कोही हुँदैन। छोरी (शिउरानी) लाई खुला छोडौं भने आफैंलाई टोकेर घाउ नै घाउ बनाउँछे। त्यसैले दुवै हात पिठ्युँमा फर्काएर बाँध्न बाध्य छौं।’
शिउरानीलाई उनका बुबाआमा घरमैं भएका बेला पनि हात बाँधेर राखिन्छ । बुबा लख्खनले भने, ‘हामी घरमैं भएका बेला पनि ऊ एक्लै भएपछि आफ्नै शरीरमा टोकेर घाउ बनाउँछे। त्यो देखेर दुःख लाग्छ, त्यसैले बाँधेर राख्ने गरेका छौं।’
आर्थिक रूपमा विपन्न लख्खनले मजदूरी गरेर जीविका चलाइरहेको बताए। ‘थोरै जग्गा छ, त्यसको उत्पादनले दुई महिना पनि धान्दैन,’ उनले भने, ‘गरिबीका कारण छोरीको उपचार समेत गर्न सकेका छैनौं।’
मानसिक अवस्था कमजोर भएका कारण खुट्टा बाँधेर बाख्राको खोरमा राख्ने गरिएकी लम्की, बाहुनपुरकी १७ वर्षीया तारा जैशीको निःशुल्क उपचार हुने भन्ने खबर सुनेका लख्खनलाई आफ्नी छोरीको पनि कसैले उद्दार गरिदेलान् भन्ने आशा जागेको छ।
शिउरानी लख्खनकी पहिलो सन्तान हुन्। उनका दुई छोरी र एक छोरा छन्। आमा राजकुमारीका अनुसार जन्मिने बेला शिउरानी स्वस्थ थिइन्।
उनले भनिन्, ‘तीन वर्षको उमेरसम्म छोरी बोल्थी। एक दिन एक्कासि उसको दिसामा रगत देखियो, ज्वरो आयो। हामीले चुहा उपस्वास्थ्य चौकीमा उपचार गरायौं। केही दिन ठिक भयो, तर फेरि अस्वस्थ हुन थालिन्।’
राजकुमारी दम्पतिले शिउरानीलाई धामीझाँक्रीकहाँ पनि पुर्याए। ‘भगवान देखा परे भन्ने सुनेर मैनापोखर पनि पुर्यायौं,’ राजकुमारीले भनिन्, ‘तर, केही गर्दा पनि छोरीलाई सन्चो भएन।’
रोगले च्याप्दै गएपछि शिउरानीको बोली पनि हरायो।
‘बिरामी भएपछि छोरीले बोल्न पनि छोडी। रुने, चिच्चाउने, कराउने, दाँतले हात र शरीर टोक्ने, उठ्न बस्न नसक्ने भई,’ राजकुमारीले उनले, ‘आफैं खान सक्दिनँ, खुवाउनुपर्छ, कपडा लगाइदिनुपर्छ, दिसापिसाब गराउनुर्छ ।’
शिउरानीले १६ महिनादेखि मासिक दुई हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउने गरेको राजकुमारीले बताइन्।
शिउरानीका बाजे लेखराज चौधरीका अनुसार उनीहरू पहिले मनुवा गाउँमा कमैयाका रूपमा बस्थे। पछि साविक चुहा गाविसस्थित तिल्कागाउँको एक किसानकहाँ तीन वर्षसम्म कमैया बसेका थिए।
उनीहरू २०६४ सालमा साविक चुहा गाविसको बागमारामा मुक्त कमैया शिविरमा बस्न थालेका थिए।
पूर्व सभासद रवनी चौधरीले सात वर्षदेखि शिउरानीलाई बाँधेर राख्ने गरेको आफूले पनि देखेको बताइन्।
सधैं बाँधेर राख्ने गरिएकाले शिउरानीका हात बांगा भएका छन्।