काठमाडौं- चीन सरकारले निजामती अस्पताललाई सर्जिकल भवन निर्माणमा सहयोग गर्ने भएको छ।
आज आयोजित शिलान्यान्स कार्यक्रममा संघीय, मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चीनको सहयोगले अस्पताललाई उल्लेखनीय योगदान पुग्ने बताए। आफू पनि यो अस्पतालमा उपचारका लागि आउने बताउँदै उनले अस्पतालले उत्कृष्ट सेवा दिइरहेको भनाइ राखे।
नेपालका लागि चिनियाँ राजदूत यू होङले निजामती अस्पतालको स्थापनाकालमा पनि सहयोग गरेको बताउँदै भूकम्पका बेला पनि सहयोग जारी राखेको बताइन्। यो सहयोग चीन र नेपालको मैत्रीपूर्ण सम्बन्धमा कोशेढुंगाको रुपमा स्थापित हुने उनको भनाइ थियो।
अस्पतालका कार्यकारी निर्देशक दीर्घराज आरसीले अस्पतालको स्तोरन्नतिमा चिनियाँ सहयोग प्रभावकारी हुने बताए। अस्पतालमा करिब ८ सयदेखि १ हजारसम्म बिरामीहरु दैनिक ओपिडीमा आउने गरेको जानकारी दिँदै उनले नयाँ भवन निर्माणपछि बिरामीको चाप र सेवामा सहज हुने दाबी गरे।
चीन सरकारको करिब सवा अर्ब सहयोगमा यो भवन निर्माण हुने भएको छ। ४ हजार ९ सय वर्ग मिटरमा बन्ने नयाँ सर्जिकल भवनमा अत्याधुनिक उपकरण हुनेछन्। ११५ देखि ११७ बेडको हुने नयाँ भवन करिब डेढ वर्षमा निर्माण सक्ने योजना छ।
उक्त चिनियाँ सहयोगबाट भूकम्पले भत्किएका पुराना भवन मर्मत गरिनुका साथै मेकानिकल र बिजुली सुविधाको मर्मत र स्तरोन्नति गरिने निर्देशक आरसीले जानकारी दिए।