काठमाडौं – नेपालमा प्रति वर्ष ५८ प्रतिशत महिला तथा किशोरीहरुले असुरक्षित गर्भपतन गराउन बाध्य रहेको एक तथ्यांकले देखाएको छ।
चैथौं सुरक्षित गर्भपतन दिवसका अवसरमा स्वास्थ्य सेवा विभागमा सार्वजनिक गरिएको तथ्यांकले असुरक्षित गर्भपतन गराउनेको डरलाग्दो तथ्यांक देखाएको हो। ‘अबको गन्तव्य असुरक्षित गर्भपतन अन्त्य’ भन्ने नारा सहित यो वर्षको दिवस मनाउन लागिएको छ।
तर, नेपालमा एक वर्षमा १ लाख ८६ हजार १ सय ४४ महिला तथा किशोरी असुरक्षित गर्भपतन गराउन बाध्य रहेको तथ्यांक सार्वजनिक भएको छ। जसअनुसार १५ हजार ५ सय १२ जना महिला तथा किशोरीले प्रति महिना असुरक्षित गर्भपतन गराइरहेका छन्। यस्तै ५ सय २० महिला तथा किशोरीले प्रत्येक दिन र २१ जनाले प्रति घण्टा असुरक्षित गर्भपतन गराउने गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हालै प्रकाशित वार्षिक प्रतिबेदन अनुसार समुदाय तहमा भएको मातृ मृत्युमध्ये १३ प्रतिशत मृत्यु असुरक्षित गर्भपतनको कारणले भएको पाइएको छ।
जनासांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा प्रजनन् उमेरका ४१ प्रतिशत महिलाहरुलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा ज्ञान छ।
वरिष्ट कन्सल्ल्टेन्ट गाइनोकोलोजिष्ट डा पुण्य पौडेलका अनुसार असुरक्षित गर्भपतनको कारणले अधिक रक्तस्राब हुने, संक्रमण हुने, पाठेघर तथा भित्रि अंगहरुमा चोटपटक लाग्ने, बाँझोपनको समस्या आउने तथा मृत्यु समेत हुनेछ।
विश्वमा असुरक्षित गर्भपतनले ४४ हजार महिलाको मृत्यु, ५० लाखमा दिर्घ समस्या
प्रत्येक वर्ष विश्वमा २ करोड ५० लाख महिलाहरुले असुरक्षित गर्भपर्तन गराउछन्। यसबाट प्रतिवर्ष ४४ हजार महिलाहरुको मृत्यु हुन्छ भने ५० लाख महिलाहरुलाई दीर्घाकालिन स्वास्थ्य समस्या हुन्छ।
हाल विश्वमा जनस्वास्थ्यको समस्याको रुपमा रहेको मातृमृत्युको चारवटा कारणहरुमध्ये असुरक्षित गर्भपतन पनि एउटा मुख्य कारण हो।
आईपासले सन् २०१४ मा प्रकाशित गरेको एउटा तथ्यांका अनुसार विश्वमा हुने असुरक्षित गर्भपतन मध्ये करिब १४ प्रतिशत २० वर्ष भन्दा कम उमेरकाले गरेका थिए।