काठमाडौं- सभामुख कृष्णबहादुर महराले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको उपचार केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन्।
अस्पतालको १९औंँ वार्षिकोत्सव तथा १४औँं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख महराले अस्पताल नेपालको मात्र नभएर यस अन्तर्राष्ट्रियस्तरको नमूना अस्पतालको रुपमा विकास गर्नुपर्ने बताएका हुन्।
चीन सरकारको सहयोगमा बनेको अस्पतालमा उपचारसँगै अध्ययन, अनुसन्धान, पठनपाठनसमेत गराउन आवश्यक भएको सभामुख महराले बताए।
‘विकास निर्माण, देशव्यापी रुपमा भएका सामाजिक, सांस्कृतिक विकृति र विसंगतिका कुरामा संसद् असाध्यै सतर्क छ, ती विषयलाई ध्यानाकर्षण गर्न मेरो तर्फबाट कुनै कसर बाँकी हुने छैन’सभामुख महराले भने।
नमूना अस्पतालको रुपमा विकास गर्न आफूले पहल गर्ने उनले उल्लेख गरे। सरकार, निजी क्षेत्र र समुदाय मिलेर अस्पताल विकास गर्नुपर्ने सभामुख महराको भनाइ थियो।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अस्पताललाई नमूना बनाउनुपर्ने बताए। विदेशीसमेत उपचार गर्न आउने यस अस्पताललाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए।
कार्यक्रममा अस्पताललाई उल्लेखनीय योगदान पु¥याएको भन्दै अस्पतालका निर्वतमान अध्यक्ष डा. प्रकाशराज न्यौपाने, क्यान्सर सेवा समाजका निवर्तमान अध्यक्ष श्यामप्रसाद लामिछानेसहित विभिन्न विभागका कर्मचारीलाई सम्मान गरिएको थियो।
२०५७ असोज १० गतेबाट औपचारिक रुपमा सेवा दिन थालेको अस्पतालमा ४ सय ५० शय्या सञ्चालनमा रहेको कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले बताए। नेपालमा क्यान्सर अस्पताल स्थापना भएको दिनलाई राष्ट्रिय क्यान्सर सतर्कता दिवसको रुपमा मनाउने गरिएको छ।