प्यूठान– सुरक्षित गर्भपतन दिवस प्यूठानमा पनि एक कार्यक्रमका बीच बुधबार मनाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानको आयोजना र परिवार नियोजन सम्बन्धि कार्यक्रम गरिरहेका संस्थाहरुका प्रतिनिधी, स्वास्थ्यसँग सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा दिवस बिजुवारमा मनाइएको हो।
जिल्लामा पछिल्लो समय सुरक्षित रुपमा गर्भपतन गर्नेको संख्यामा बृद्धि भएको छ। कार्यक्रममा प्यूठान जिल्लाका प्यूठान अस्पताल, भिगृ प्राथमिक स्वास्थ्य केन्द्र, खलंगा प्राथमिक स्वास्थ्य केन्द्र, स्वर्गद्वारी, सोत्रे, बेलवास, देबिस्थान, खवाङ, मर्काबाङ, तिराम, धर्मावति, ढुङ्गेगढि र तोरबाङ स्वास्थ्य चौकी गरी १२ वटा सुचिकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएको परिवार नियोजन सुपरभाइजर थलराज डाँगीले बताए।
आर्थिक वर्ष २०७४०७५ मा १२ वटा सूचीकृत स्वास्थ्य संस्था र मेरी स्टोप्स सेन्टरमा समेत गरी जिल्लामा १ हजार १८ जनाले सुरक्षित गर्भपतन गराएका छन्। आर्थिक बर्ष २०७२÷०७३ मा ७ सय ८१ जना र आर्थिक वर्ष २०७३०७४ मा ८ सय ४७ जनाले सुरक्षित गर्भपतन गराएका छन्। तिन वर्षको तथ्यांकलाई हेर्दा जिल्लामा गर्भपतन गर्नेको संख्या बढ्दो देखिन्छ। गर्भपतन गर्नु आफैंमा राम्रो नभए पनि स्वास्थ्यको दृष्टिकोणले सुरक्षित गर्भपतन गर्दा मातृ मृत्युदर कम हुनुुुका साथै मातृ स्वास्थ्य सम्बन्धि अन्य जटिलता कम गर्न मद्दत हुने जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए। उनले ब्यापारिक दृष्टिकोणले खोलिएका मेडिकल र सुचिकृत नभएका स्वास्थ्य संस्थामा गएर गर्भपतन नगराई सूचीकृत स्वास्थ्य संस्थामा मात्र सुरक्षित गर्भपतन गराउन समेत आग्रह गरे।
प्यूठानमा जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानसंगको सहकार्यमा आड्रा नेपाल गैरसरकारी संस्थाले परिवार नियोजन सम्बन्धि कार्यक्रम संचालन गरिरहेको छ। संस्थाकी कार्यक्रम अफिसर जुना सारुले कार्यक्रममा संस्थाले परिवार नियोजन सम्बन्धि गरेका कामको बिषयमा जानकारी समेत गराएकी थिइन्। कार्यक्रममा असुरक्षित गर्भपतन गर्न सचेतनामूलक कार्यक्रमहरु संचालन गर्न कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामीले आग्रह गरे। उनले गर्भपतनलाई परिवार नियोजनको अस्थाई साधनको रुपमा लिने गरेको भन्दै परिवार नियोजनको साधनको प्रयोगका लागि सचेतनात्मक कार्यक्रम संचालनमा जोड दिन सबैलाई सुझाए।
यसवर्ष अबको गन्तब्य, असुरक्षित गर्भपतनको अन्त्य भन्ने नाराका साथ दिवस मनाइएको हो।
नेपालमा २०६० साल देखि सुरक्षित गर्भपतन ऐन कार्यान्वयनमा आएपछि गर्भवति महिलाको मन्जुरीमा १२ हप्ता सम्मको गर्भ पतन गर्न सकिन्छ। हाडनाता र जर्वजस्ती करणीको १८ हप्ता सम्मको र स्वास्थ्यको दृष्टिकोणले केहि खतराको संकेत देखिएमा सूचीकृत स्वास्थ्य संस्थाबाट जुनसुकै बेला पनि निःशुल्क रुपमा गर्भपतन गर्न सकिने ब्यवस्था छ। प्यूठानमा आर्थिक बर्ष २०७४०७५ मा ७१ जना २० बर्ष मुनीका किशोरीले समेत गर्भपतन गरेका छन्। नेपालमा हालसम्म ४१ प्रतिशत महिलालाई मात्र गर्भपतन सम्बन्धि कानुनी मान्यता पाएको जानकारी भएको तथ्यांक छ।