पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीले बिहीबारदेखि काम छाडेर हड्ताल थालेका छन् । प्रतिष्ठानमा कार्यरत करार कर्मचारीले ३ महिनादेखि तलब नपाएका कारण विरोधमा उत्रिनु परेको प्रतिष्ठान कर्मचारी युनियनका अध्यक्ष डा ढाकाकुमार श्रेष्ठले बताए।
युनियनले प्रतिष्ठानमा कार्यरत करार कर्मचारीलाई समयमा तलब व्यवस्था गर्नुपर्ने, उनीहरुलाई यथाशीघ्र स्थायी नियुक्ति पत्र दिनुपर्ने र स्थायी कर्मचारीको स्तर बृद्धि गर्नुपर्ने लगायत माग राखेका छन् । ‘२०६४ सालदेखि नै विभिन्न समयमा मागसहितका ज्ञापनपत्र प्रशासनमा बुझाइरहेका छौं । सहमति पनि हुँदै अएका छन् । तर पूरा गरेको छैन,’ युनियनका अध्यक्ष श्रेष्ठले भने।
प्रतिष्ठान (तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)ले २०६४ सालमा त्यहाँ कार्यरत १ सय २६ जना कर्मचारीलाई स्थायी नियुक्ति गरेको थियो । उनीहरु लामो समय सेवामा तल्लिन हुँदा पनि स्तर बृद्धि नभएको र तीन महिनादेखि तलब पनि वितरण नहुँदा दैनिक जीवनयापनमा समस्या भएको पीडित पक्षको गुनासो गरे । ‘स्थायी भएका कर्मचारीको स्तर बृद्धि भएको छैन । करारमा कार्यरत कर्मचारीले ३ महिनादेखि पनि तलब पाएका छैनौं,’ युनियनका उपाध्यक्ष डा पशुपति महतले भने।
पाइरहेको तबल समयमै नपाउँदा तल्लो स्तरमा कार्यरत कर्मचारीलाई थप मर्का परेको युनियनका सल्लाहकार डा नारायण बरालले बताए । उनले भने, ‘माथिल्लो तहका कर्मचारीले यताउता गरेर पनि परिवार धानिरहेका छन् । तर, तल्लो तहमा कार्यरत कर्मचारीले समयमै तलब नपाउँदा धेरै समस्या भोग्नु परेको छ । यसैका लागि पनि काम छोडेर बस्नु परेको हो।’
युनियनमा आबद्ध ३ सयभन्दा बढी कर्मचारीले काम छोडेर बस्दा अस्पतालको सेवामा प्रतिकुल असर परेको सेवाग्राहीको गुनासो छ । आफूहरुले २०७४ सालदेखि बृहत रुपमा अस्थायी कर्मचारीलाई स्थायी गर्नुपर्ने माग राख्दै आएको र त्यसबारे सहमति पनि हुँदै आएको युनियनका अध्यक्ष श्रेष्ठले सुनाए। ‘यो वर्षमात्रै ५ चोटी ज्ञापनपत्र बुझाइसकेका छौं । हाम्रो मागको उचित सम्बोधन भएन,’ उनले भने।
प्रतिष्ठानले भने कर्मचारी युनियनको माग पूरा गर्दै आइरहेको दाबी गरेको छ । प्रतिष्ठानका उपकुलपति बुद्धिबहादुर थापाका अनुसार सहमति भए अनुसार नै माग पूरा हुँदै आएको र प्रतिष्ठानको कार्यक्षेत्रभन्दा बाहिर मुद्धामात्रै प्रतिष्ठानले सम्बोधन गर्न नसकेको हो।
‘कर्मचारीको तलब सिनेटले पास गर्ला भनेर पर्खेर बस्यौं । तीन महिना होइन, दुई महिनाको तलबमात्रै हो । यो महिनाको तलब आउने दिन अझै पुगेको छैन,’ उपकुलपति थापाले भने, ‘सिनेटले कुनै निर्णय नगरेपछि हामीले एक÷दुई दिनमै तलब दिन लागेका छौं।’ अस्थायी कर्मचारलाई हरेक वर्ष सिनेट बैठकले अनुमोदन गर्नुपर्ने नियम भएका कारण ढिलो भएको उनको भनाइ थियो।
प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई स्थायी नियुक्ति गर्ने सम्बन्धमा ७२ सालको कानुनले नयाँ व्यवस्था गरेकाले प्रतिष्ठानको कार्य क्षेत्रभन्दा बाहिरको विषय भएको उपकुलपति थापाले बताए । उनले भने, ‘पहिले क्याबिनेटले अनुमोदन गरे पुग्थ्यो । तर पछि नयाँ कानुन अनुसार लोकसेवाको पारमर्श अनिवार्य लिनुपर्ने भएकाले स्थायी गर्न समस्या भएको हो।’
कर्मचारीलाई स्थायी गर्न नसकेपनि हटाउने मनशाय नभएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले प्रस्ट्याए । उनले भने, ‘हामीले विधुतीय हाजिरी पनि सुरु गरिदिइसकेका छौं । हटाउने हाम्रो मनशाय होइन । उहाँहरुको माग सम्बोधन हुन्छ।’
प्रतिष्ठानका लेखाप्रमुख ईन्द्रपसाद पौडेलले कारणबस रोकिएको कर्मचारीको तलब पनि प्रशासनले पारित गरिसकेको हुनाले दशैं पेश्की स्वरुप प्रदान गर्न लागिएको जानकारी दिए।