फिचर

१७औं नम्बरका डाक्टर


२०१४ साल। तराई क्षेत्रमा मलेरियालगायतका रोगको बिगबिगी थियो। तराई बस्न सक्ने त्यहाँका आदिवासी मात्रै थिए। पहाडी मुलका समुदायले जग्गा–जमिन जोड्न त थालेका थिए तर उनीहरु स्थायी रुपमा त्यहीं बस्न भने मान्दैनथे। उत्पादन क्षेत्रमा पहाडबाट बस्ती सार्ने योजना ‘राप्ती भ्याली प्रोजेक्ट’ चलिरहेको थियो। 

सरकारले यसरी सारिएकाहरुलाई तराईमा हुने समस्याले नसताओस् र  आदिवासीलाई हुने रोगको समाधान होस् भनेर छाप्रे अस्पताल (भरतपुर अस्पताल) खोलेको थियो। तर, त्यहाँ डाक्टर जान मान्दैनथे। किनभने मलेरियाबाट बच्न त्यहाँ पुग्ने डाक्टरले नै दिनको एक ट्याब्लेट औषधि खानुपथ्र्यो। 

त्यस्तो समय भरतपुर पुग्ने डाक्टर हुन् हिरण्यदेव प्रधान। बिरामी हुँदा अस्पताल जानुपर्छ भन्ने चेतनाको विकास स्थानीयमा भइसकेको थिएन। त्यसबखत चितवनमा थारु बस्तीको बाहुल्य थियो। डा. प्रधान सम्झिन्छन्, ‘उनीहरु न खोप लिन मान्थे, न औषधि खान।’ परम्परागत मान्यताले उनीहरु आधुनिक चिकित्सा स्वीकार गर्न चाहँदैनथे। त्यस्तो अवस्थामा डा. प्रधानले रोगविरुद्ध मात्रै होइन, कमजोर चेतनाविरुद्ध पनि उपचार गर्नुपरेको थियो। 

आफैं बस्ती–बस्ती डुलेर उनले बिरामीलाई सम्झाउँदै उपचार गरे। स्वस्थ जीवनका लागि सिपहरु सिकाए। यसकारण चितवनमा समग्र चिकित्सा सेवाको सुरुवात गर्ने श्रेय उनलाई जान्छ। 

अहिले काठमाडौंपछि उपचारका लागि धेरै बिरामी पुग्ने केही सहरमध्ये चितवन एक हुन पुगेको छ। अस्पतालको संख्या वृद्धि भइरहेको छ। मेडिकल सिटीका रुपमा विकास गर्ने बहस चलिरहेको छ। 

यी सबै परिवर्तन आफ्नै आँखाले देखिरहेका डा. प्रधानको स्मृतिपटलमा भने भरतपुर अस्पतालका लागि बनेका छाप्राहरु नाँचिरहेका हुन्छन्। जहाँबाट उनले पहिलोपल्ट सेवा दिएका थिए। 

चितवनलाई मेडिकल सिटी बनाउने चर्चा चलिरहेका बेला स्वास्थ्यखबरले त्यहाँ पुगेर पहिलोपल्ट सेवा दिने डाक्टर खोज्ने क्रममा डा. प्रधान भेटिए। उमेरले ९० वसन्त पार गरेका डा. प्रधानबारे धेरै बेखबर छन्। २७ वर्षदेखि श्रवण शक्तिको समस्या भोगिरहेका उनको धेरैसँग सम्बन्ध–सम्पर्क नै छैन। 

तर, ९० वर्ष उमेरको व्यक्ति भन्नेबित्तिकै दिमागमा आउने तस्बिर भने उनीसामु पुगेपछि गलत सावित भयो। त्यो उमेरका व्यक्तिमा बोल्न, हिंड्न र सम्झिनमा समस्या हुनसक्ने आम अनुमान हामीले पनि गरेका थियौं। 

तर, उनी भने अहिले पनि कसैको सहाराबिना नियमित चाबहिलबाट बिहानै पशुपति पुगेर फर्किने गर्दा रहेछन्। सम्झनामा कुनै कमी आएको छैन। बोलीमा स्पष्टता कायमै छ। तर, श्रवण शक्ति भने शून्यमै झरिसकेको रहेछ। 

स्वास्थ्य खबरका मेडिकल एडिटर डा. सुवास प्याकुरेल र भर्खरै एमबिबिएस सकेकी डा. प्रधानकी छोरीपट्टिकी नातिनी डा. जिज्ञासा श्रेष्ठको सहयोगमा उनीसँग वार्तालाप गरियो। 

उनलाई कापीमा लेखेर प्रश्न गर्ने, त्यो हेरेर उनले मौखिक उत्तर दिने तरिका अपनाइयो। अझै कापीका अक्षर चिन्ने क्षमताले आँखाको दृष्टि पनि कमजोर भइनसकेको दर्शाउँथ्यो।  

हामीले उनलाई २०१४ साल फागुनतिर फर्कायौं, जुन समय उनी चितवनवासीलाई स्वास्थ्य सेवा दिन त्यहाँ पुगेका थिए। 

उनी सम्झिन थाले, ‘त्यहाँ अस्पताल छाप्रो, प्रशासकीय कार्यालय छाप्रो, क्वार्टर छाप्रोलगायत पाँचवटा छाप्रा थिए। 

‘ती पाँचमध्ये एक छाप्रोबाट मैले चिकित्सकीय सेवा आरम्भ गरें। म र काठमाडौंबाटै गएको मेरो भान्से बस्थ्यौं।’ खानेकुरामा केही नपाइने अवस्थालाई ठट्यौलो पारामा उनले भने, ‘तरकारीमा बिहान प्याजआलु र बेलुकी आलुप्याज खाइन्थ्यो।’

तत्कालीन प्रशासक कृष्णबम मल्ल चितवनको विकासमा भरतपुरमा बस्ती विकास गर्न खटिइरहेका थिए। तर, विभिन्न रोगको डरले पहाडियाहरु जमिन लिए पनि त्यहाँ बस्न नमान्ने भएपछि चिकित्सकका लागि स्वास्थ्य सेवा विभागलाई गुहारिएको थियो। वीर अस्पतालमा करारमा काम गरिरहेका डा. प्रधान स्वास्थ्य मन्त्रालयअन्तर्गत जागिरे भएपछि पहिलो पोष्टिङमा चितवन पुगेका थिए। 

त्यो समय चितवन जान सजिलो थिएन। ‘गाडीमा बञ्चरो र साबेल राखेर हिंड्नुपथ्र्यो। बाटोमा ढलेका रुख र झरेका ढुंगा पन्छाउँदै जानुपथ्र्यो,’ उनले सम्झिए। गाउँबस्तीमा पनि त्यसैगरी पुग्थे उनी। 

एमबिबिएस गर्ने नेपाली डाक्टरमा आफू १७औं रहेको उनले बताए। तर मेडिकल काउन्सिलको दर्तामा भने उनी ६७ औं नम्बरमा छन्। २०१३ सालमा आरजी कर मेडिकल कलेज कलकत्ताबाट एमबिबिएस गरेपछि उनी वीर अस्पतालमा करारमा सेवा दिन थाले। प्रतिमहिना ९० रुपैयाँ दिने भनिए पनि तीन महिनासम्म उनले तलब पाएनन्। 

त्यसपछि उनी त्यहाँ छाडेर स्वास्थ्य सेवाअन्तर्गत चितवन पुगेका हुन्। उनले भने, ‘डाक्टर भएर आए पनि खर्च मैसँग माग्छ भनेर आमा भन्नुहुन्थ्यो। मलाई पनि वीर अस्पतालमा पैसा नदिएकोमा चित्त दुख्यो। जहाँ पठाए पनि जान्छु भनेर स्वास्थ्य विभागमा भनें। मेरो पावर लगाउने मान्छे कोही थिएन। कहिल्यै डाक्टर नपुगेको ठाउँ चितवनमा पठाइयो।’  

चितवनमा केही वर्ष सेवा गरेपछि उनी स्वास्थ्य सेवा विभागमा सरुवा भए। सिधा स्वभावका उनी दायाँबायाँ गर्दैनथे। अरुले गरेकोमा पनि आपत्ति जनाउँथे। यसले उनलाई धेरै दिन विभागमा टिकाएन। उनी फेरि भेरी अञ्चल अस्पताल नेपालगञ्ज पठाइए। 

त्यहाँ सेवा गरिरहेका डा. यज्ञराज जोशी महानिर्देशक भएर स्वास्थ्य सेवा विभाग आए। पहिलेदेखि नै डा. प्रधानलाई चिन्ने जोशीले आफूलाई सहयोग हुने ठानेर नेपालगञ्जबाट सरुवा गरेर स्वास्थ्य सेवा विभाग नै ल्याए।

स्वास्थ्य सेवा विभाग आएपछि चिकित्सकको मर्म उनले बुझे। आधुनिक उपकरणका लागि बजेट मागिरहेका चिकित्सकहरुलाई त्यसअघि रित्तो हात फर्काइन्थ्यो। उनकै अगुवाइमा पहिलोपल्ट नेपालमा इसिजी मेसिन भित्रिएको थियो। उनी सम्झिन्छन्, ‘मेरै ब्लड प्रेसर जाँचेर उक्त मेसिनको उद्घाटन भएको थियो।’

स्वास्थ्य सेवा विभागअन्तर्गत बसेर उनले निर्वाह गरेको प्रशासकीय भूमिका देशका निम्ति काम गर्नेलाई मन पथ्र्यो भने शक्तिलाई भजाएर आफ्नो स्वार्थसिद्ध गर्न चाहनेहरु रुष्ट हुन्थे। उनी सम्झिन्छन्, ‘कतिले मेरो नाम हिरण्यकश्यपु राखेका थिए। त्यस्तै निरंकुश छ भन्थे।’

आफू पनि डटेर काम गर्ने र अरुबाट पनि त्यही अपेक्षा गर्ने उनी यथार्थमा सोझा थिए। उनको सपना ठूलो मान्छे होइन, असल राष्ट्रसेवक भएर २० वर्ष पूरा गर्ने थियो। उनी भन्छन्, ‘म इमान्दारीपूर्वक काम गरेर पेन्सन पकाउन चाहन्थें।’ यस्तो लक्ष्य बनाएका उनले स्वास्थ्य सेवा विभागको महानिर्देशकका लागि गरिएको प्रस्ताव पटक–पटक अस्वीकार गरे। 

उनी महानिर्देशकका लागि प्रस्ताव गर्नेलाई भन्थे, ‘मलाई एक दुई वर्ष महानिर्देशक बनाउला। त्यसपछि निकालिहाल्छौ, त्यसपछि म कहाँ जाने ?’ 

उनलाई बिरामीबाट पैसा लिनु जस्तो समस्या अरु केही लाग्दैनथ्यो। त्यसैले स्वास्थ्य सेवाबाट पेन्सन नपकाई घर फर्किंदा पनि समस्या 
देखेका थिए।

स्वास्थ्य प्रशासकका रुपमा उनी कुशल मानिन्थे। उनले आफूलाई सहयोग गर्ने नाममा आफ्ना साथीलाई महानिर्देशकको जिम्मेवारीका लागि सघाएका थिए। जसलाई उनले महानिर्देशक बनाउन जोडतोड गरेका थिए पछि तिनै साथीले स्वास्थ्य सचिवलाई भनेछन्, ‘हिरण्यलाई यहाँबाट सरुवा गरे मात्रै म काम गर्न सक्छु।’

स्वास्थ्य सेवा विभागबाट उनलाई स्वास्थ्य मन्त्रालय सरुवा गरियो। त्यहाँ पनि उनलाई घेराबन्दीमा परेको महसुस भयो। उनले भने, ‘स्वास्थ्य सेवामा २० वर्ष पूरा भइसकेको थियो। उमेर हदका कारण अनिवार्य  अवकाश पाएको थिइनँ। आफ्नै निकटस्थ साथीहरुबाट मविरुद्ध षड्यन्त्र हुन थालेको महसुस भएपछि छाड्न उचित लाग्यो।’

त्यो समय उनका जोशी थरका एक डाक्टर साथी ब्रुनाइको स्वास्थ्य सेवाअन्तर्गत काम गर्थे। उनलाई सम्पर्क गरेर आफूलाई नेपालमा काम गर्न असहज भएको बताए। उनले भने, ‘उसले पहिले नै ब्रुनाई बोलाएको थियो। तर, यहीं काम गर्ने मनसायले म गएको थिइनँ।’

उनी स्वास्थ्य सेवाबाट राजीनामा दिएर ब्रुनाई उडे। ब्रुनाई नेपाल सरकारकै जागिरेको पासपोर्टमा गएका थिए। यो उनका साथीहरुलाई थाहा थियो, उजुरी गरिदिए। त्यहाँ काम गर्न थालेपछि ब्रुनाई सरकारले भन्यो, ‘तिमी त सरकारी पासपोर्टमा आएका रहेछौ, कम्प्लेन आयो। अर्को पासपोर्ट नल्याउँदासम्म काम दिइन्नँ।’

परराष्ट्र मन्त्रालयमा उनकी एकजना साथी थिइन्। उनले तिनै साथीको माध्यमबाट सामान्य पासपोर्ट मगाए र त्यहाँको सरकारलाई बुझाइदिए। त्यो बेला उनको पहुँचको त्यहाँ खुब चर्चा भएको थियो।

ब्रुनाइमा काम गर्दागर्दै एक्कासि कान बज्ने समस्या आयो। उनले उपचारका लागि प्रयास पनि गरे तर उपचार भएन। केही समयपछि उनी सम्पूर्ण रुपमा सुन्न छाडे। जतिबेला यो समस्या आयो, त्यो बेला उनको उमेर जम्मा ६३ वर्ष भएको थियो।

कान नसुने पनि लेख्ने मान्छे राखेर उपचार सेवा दिन उनका साथीहरुले सुझाए। तर, उनलाई त्यो बिरामीमाथिको अन्याय जस्तो लाग्यो। उनी आफू ठिकठाक अवस्थामा रहँदा समेत नेपाल मात्रै होइन, ब्रुनाइमा समेत निजी चिकित्सकीय अभ्यास गरेनन्। त्यसैले उनले चिकित्सा करिअर नै अन्त्य गरे।

पछुतो भने भयो उनलाई, दुःखले पढेको चिकित्सा सेवा लामो समय दिन नपाएकोमा। उनी १२ वर्षकै हुँदा उनका बुबा बितेका थिए। उनकी आमाले घडी, चश्मा, कलम र केही औषधिको पसल राखेकी थिइन्। उनले जुद्धोदय पब्लिक हाई स्कुलबाट एसएलसी र त्रिचन्द्रबाट आइएससी गरेका थिए। 

आइएसीपछि चिकित्सा पढ्ने उनको रुचि थियो भने उनकी आमा पनि छोरा चिकित्सा नै पढोस् भन्ने चाहन्थिन्। एक मन्त्रीका पिए उनका नातेदार पर्थे। त्यसैले एमबिबिएसका लागि भनसुन गरिदिन अनुरोध गरे। उनले भने, ‘छात्रवृत्तिमा त छैन। 

आफैं शुल्क तिर्ने हो भने एक सिट छ।’ मासिक ८५ रुपैयाँ बुझाउनुपर्ने उनले बताए। उनकी आमाले छोराको सपना मर्न दिइनन्। आफैं पैसा तिरेर चिकित्सा पढाउने निधो गरिन्। तर, त्यसपछि पनि समस्या आयो। 

एउटै कोटामा दुईजनालाई पठाइएको रहेछ।  उनले भने, ‘अर्को एकजना पनि सोही कोटामा पठाइएका रहेछन्। पछि मेरो बायोलोजी विषय भएकाले मलाई भर्ना गरियो। उनी निकै पावरवाला थिए तर फर्के।’

२०१३ सालमा कलकत्ताको आरजिकर मेडिकल कलेजबाट एमबिबिएस पास गरेर उनी नेपाल फर्किएका हुन्। 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने