काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चालु शैक्षिक सत्रको एमडी/एमएस तहको अध्यापन कार्य रोकिएको छ। विद्यार्थी भर्ना भएको तीन महिनासम्म पनि अध्यापन सुरु नभएपछि विभिन्न संघसंगठनले ध्यानाकर्षण गरेका छन्।
पठन पाठन रोकिएको विषयमा प्रतिष्ठान अन्तर्गतको जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी, गैरसरकारी चिकित्सकहरुको संस्था नन गोभरमेन्ट डक्टर्स एसोसिएन, डक्टर्स सोसाइटी अफ नेपाल, सरकारी चिकित्सक संघ नेपाल लगायतका संस्थाले ध्यानाकर्षण गरेका छन्।
उनीहरुले छुट्टाछुट्टै विज्ञप्ति निकालेर पठन पाठन छिटो सुरु गर्न माग गरेका छन्।
प्रतिष्ठानमा विदेशि विद्यार्थीको कोटामा १६ सिट खाली भएपछि पढाइ सुरु नभएको विद्यार्थीहरुले बताएका छन्। विदेशि विद्यार्थीको २४ मध्ये ८ सिटमा मात्र भर्ना भएको र बाँकी रहेको १६ वटा सिटमा पुन भर्ना लिनका लागि भर्ना भइसकेका विद्यार्थीको पठन पाठन रोकेको विद्यार्थीहरु बताउँछन्।
प्रतिष्ठानमा अरीबा अकबर नाम गरेका एक जना विद्यार्थीले मुद्धा समेत दायर गरेका छन्।