काठमाडौं– भारतको अल इन्डिया इन्स्च्यिुट (एम्स), पोस्ट ग्र्याजुएट इन्स्टिच्युट (पिजीआई) र जिपमरमा अध्ययन गरेका नेपाली चिकित्सकको अल्मुनाई भेला सम्पन्न भएको छ।
चिकित्सकहरुको भेलाले ती इन्स्टिच्युटमा अध्ययन र तालिमको समयमा नेपाली चिकित्सकले पनि अन्य विद्यार्थीसरह नै पाउन लागेको स्टाइपेन्डको स्वागत गरेको छ।
अन्यत्र जस्तै नेपालमा पनि ‘उत्कृष्ट चिकित्सा कार्यविधि’ बनाउनुपर्ने र सोअनुसारको अभ्यास गर्नुपर्नेमा जोड दिएको भेलाले हरेक तीन महिनामा सामूहिक भेटघाटका माध्यमबाट छलफल, गोष्ठी र स्वास्थ्यसम्बन्धी तालिम तथा उपचार पु¥याउने हेल्थ क्याम्पको आयोजना गरिने आयोजकमध्येका एक डा. सुरेन्द्र आर्चायले जानकारी दिए।
भारतका ती इन्स्टिच्युटहरु एसियाकै अब्बल मानिन्छन् । त्यहाँ प्रतिस्पर्धाबाट नाम निकालेर पढेको र नेपालबाट अहिले पनि बाहिर उपचार जाने क्रम भारत जाने भएकाले त्यहाँ नै पढेका चिकित्सक नेपालमै भएको सन्देश दिन भेला आयोजना गरिएको बताइएको छ।
फेसियल सर्जन डा. आचार्यले भने, ‘उत्कृष्ट भनिएका इन्स्टिच्युटबाट धेरै नेपाली चिकित्सक हरेक विषयमा विशेषज्ञता हासिल गरेर नेपालकै विभिन्न अस्पतालमा कार्यरत रहेकाले भारतमै धाइरहनुपर्ने बाध्यता अहिले छैन, आम नागरिकमा जानकारी छैन ।’
उनले पहिलो भेला भएकाले एमडी गरेका चिकित्सकहरु मात्र उपस्थित भएको जानकारी दिंदै आगामी भेलामा एमबिबिएस, 4, पारामेडिक्सलगायत ती इन्स्टिच्यूटमा स्वास्थ्यका हरेक विषयमा अध्ययन गरेका स्वास्थ्यकर्मीलाई जोड्दै लगिने बताए।
नेपालमा चिकित्सकहरु मात्र २५० भन्दा बढी र अन्य सबै स्वास्थ्यकर्मीको संख्या जोड्दा हजारभन्दा बढी रहेको अनुमान डा. आचार्यको छ।
उक्त भेलाले कार्यसमितिको चयन गरी डा. अजय झाको अध्यक्षतामा डा. दिपसल तिमिलालाई उपाध्यक्ष, डा. सुरेश आचार्यलाई महासचिव र डा. प्रमोद अग्रवाललाई कोषाध्यक्ष चयन गरेको छ। भेलाले अन्य इच्छुकलाई सहयोगका लागि अपिल गर्ने निर्णय गरेको छ।