काठमाडौं– प्रदेश नं ३ को सरकारले चिकित्सा शिक्षा अध्यापनका लागि मेडिकल कलेज सञ्चालन गर्ने भएको छ । नेता मदनकुमार भण्डारीका नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने तयारी थालिएको हो। भरतपुर र हेटौंडाको सरकारी अस्पताललाई उक्त प्रतिष्ठान अन्तर्गत राखिने बताइएको छ।
मेडिकल कलेज सञ्चालनसम्बन्धी विधेयक आफूले प्रदेशसभामा पेस गरिसकेको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । विधेयकमा सबै दल र सांसदहरुको सहमति रहेकाले सर्वसम्मतिले पारित हुने उनको विश्वास छ। ‘सहुलियतमा चिकित्सा शिक्षा अध्ययन गराउने उद्देयश्यका साथ मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँदैछौं’, दुलालले भने, ‘आगामी वर्षदेखि एमबीबीएस पढाउन सुरु हुन्छ।’
मन्त्री दुलालका अनुसार चालु आर्थिक वर्षमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत प्रदेशका १० हजार बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिने पनि योजना छ। यस्तै सामाजिक विकास मन्त्रालयले प्रदेश स्तरमा खेलकुद परिषद स्थापना गरी यही वर्षभित्र प्रादेशिक खेलकुद कार्यक्रम गर्ने भएको छ।
मन्त्री दुलालले खेलाडिको व्यवसायिक सुरक्षाका लागि कार्यक्रम बनाइएको र मकवानपुरको गौरीटारमा खेलकुद प्रशिक्षण प्रतिस्ठान स्थापना गर्ने योजना समेत अघि बढाइएको जानकारी दिए। सामाजिक विकास मन्त्रालयले प्रदेशमा दुईवटा बहुप्राविधिक महाविद्यालय स्थापनाका लागि वार्षिक कार्यक्रम समेत तय गरिसकेको छ । दक्षिणी क्षेत्रका लागि हेटौंडा र उत्तरी क्षेत्रका लागि सिन्धुपाल्चोकमा त्यस्तो केन्द्र रहने बताइएको छ।