काठमाडौं– राष्ट्रिय स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम प्रारम्भिक छनोटमा परेको छ।
निर्देशकको सिफारिस समितिको आइतबार बसेको बैठकले आवेदन दिएका ७ जनामध्ये ५ जनाको नाम प्रारम्भिक छनोट गरेको हो। बैठकले दुई जनाको नाम भने योग्यता नपुगेको भन्दै सूचिबाट हटाएको छ।
बैठकले एक नम्बरमा डा सतिस कुमार देवको नाम सिफारिस गरेको छ। त्यसपछि क्रमश श्रीमान कार्की, शैलेस कुमार मिश्र, दामोदर बसौला र रमेश कुमार पोखरेलको नाम सिफारिस गरेको छ।
काशिनाथ रिमाल र डा मदनकुमार उपाध्यायको भने स्वास्थ्य बिमा ऐन अनुसार योग्यता नपुगेको भन्दै नाम हटाइएको छ।
लोकसेवा आयोगका प्रतिनिधी र मन्त्रालयका सचिव भएको छनौट समितिले परेका आवेदनबाट तीन जनाको नाम छनौट गरी मन्त्रीपरिषद्मा पठाउने छ। सोही सिफारिसका आधारमा मन्त्रीपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने छ।