फिचर

जुझारु जनस्वास्थ्य प्रशासक


दीपकप्रसाद तिवारी नेपाल सरकारका जुझारु जनस्वास्थ्य प्रशासकमध्ये पर्छन्। उनी २९ वर्षको युवावयमा स्वास्थ्य सेवाको नवौं तहमा प्रवेश गरेका हुन्। कम उमेरमै उक्त सफलता हासिल गर्ने जनस्वास्थ्य प्रशासकको रुपमा उनले रेकर्ड नै बनाए। जनस्वास्थ्य क्षेत्रमा करिअर बनाइरहेका बेला लोकसेवा पास गरेर नेपाल सरकारअन्तर्गत आइपुगेका तिवारीसँग उच्च आत्मविश्वास छ। केही गरेर देखाउने भोक छ। त्यसैले त जहाँ पुग्छन्, चुनौतीको डटेर सामना गर्छन्।

हाल बागलुङ जनस्वास्थ्य कार्यालय प्रमुख रहेका तिवारीले तोकिएको जिम्मेवारी त कुशलतापूर्वक पूरा गरिरहेका छन् नै, त्यसबाहेक आफूले जानेका र सक्ने कामहरु पनि गरिरहेका छन्। एउटा जिल्लाको जनस्वास्थ्य प्रमुखका रुपमा त्यहींका लागि उपयोगी काम मात्रै होइन, देशकै लागि सहयोगी हुने कामहरु पनि गरिरहेका हुन्छन् उनी। केही महिनाअघि मात्रै उनले तयार पारेको ‘स्वास्थ्यमा स्थानीय तहको नीति तथा कार्यक्रम’ को मोडेल त्यसको एउटा उदाहरण हो। जो स्थानीय तहको स्वास्थ्यमा संयोजन गरिरहेकाहरुलाई सहयोगी भइदियो। 

स्वास्थ्य खबरपत्रिकामा छापिएको उक्त नमुना नीति तथा कार्यक्रमलाई आधार बनाएर थुप्रै स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रम बनाएको तिवारी बताउँछन्। भन्छन्, ‘मैले सरकारको नीति तथा कार्यक्रमको गहिरो अध्ययन गरेर त्यसैका आधारमा स्वास्थ्यको नीति तथा कार्यक्रम बनाएको थिएँ। सबैलाई मन परेछ। कतिले फोन गरेरै त्यसलाई आफूले लागू गर्ने बताउनुभयो।’ यो एउटा उदाहरण मात्रै हो। उनी अहिलेसम्म जहाँ पुगेका छन्, त्यहाँ आफ्नो प्रभाव जमाएका छन्। उनले परिवार नियोजनको सूक्ष्म योजना तर्जुमा, नवजात शिशु स्याहार प्याकेज तयार, इ–हेल्थ स्टारटेजी र आधारभूत स्वास्थ्य सेवा २०७५ का लागि पनि उनले योगदान गरेका छन्।

२०४० सालमा स्याङ्जा जिल्लाको मालुंगामा जन्मिएका तिवारीले नवपरासीको नवजागरण माविबाट २०५५ सालमा एसएलसी पास गरेका हुन्। उक्त स्कुलबाट पहिलो श्रेणीमा पास हुने तीन जनामा उनी पहिलो थिए। कक्षा ९ र १० मा शारीरिक शिक्षामा रहेको रुचिले भविष्यमा स्वास्थ्य क्षेत्रमै करिअर बनाउने उनको सोचाइ थियो। त्यहीअनुसार आइएससी पढे। 

न्यु समिट कलेजबाट आइएससी गरेपछि स्वास्थ्य क्षेत्रमा प्रवेश गर्न परीक्षा दिन थाले। त्यही क्रममा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा एकजनाको सिटमा उनले नाम निकाले। जनस्वास्थ्य विषय पढ्न भने उनका पिताले सुझाएका थिए। उनका पिताको सपना नै छोरो सरकारी सेवामा जनस्वास्थ्य अधिकृत भएको हेर्ने थियो। जुन सपना उनी अहिले पूरा गरिरहेका छन्।
बुबाको यही सपना र आफ्नो केही चाहनाका कारण उनले अफगानिस्तान, नाइजेरियालगायतका देशका लागि विभिन्न आइएनजिओले गरेको प्रस्ताव अस्वीकार गरेका छन्। भन्छन्, ‘सेवा–सुविधा त उतै बढी थियो होला। सन्तुष्टि यता मिलिरहेको छ।’

चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट २००५ मा जनस्वास्थ्य विषयमा स्नातक अध्ययन पूरा गरेपछि उनी वीरगञ्ज पुगेर हेल्थ असिस्टेन्टलाई अध्यापन गरे। त्यसपछि झण्डै साढे तीन वर्ष रोल्पा र प्युठान जिल्लाका दुर्गम गाविसमा मर्लिन नेपाल युरोपियन कमिसनको परियोजनामा काम गरे। सन् २०१० मा पुुनः चिकित्साशास्त्र अध्ययन संस्थानबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर पूरा गरेर केयर नेपालमार्फत सुदूरपश्चिममा आमा तथा बच्चाको स्वास्थ्यसम्बन्धी परियोजनामा काम गरे। 

त्यसपछि आइएनजिओमार्फत नाइजेरियाका लागि उनी छनोट भएका थिए तर त्यता नगई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जनस्वास्थ्य प्रशासक (नवौं तह) का लागि परीक्षा दिए। २०७० साल असोजमा उनी सरकारी सेवामा प्रवेश गरेका हुन्।  उनले भने, ‘बुबाको चाहना छोरो जनस्वास्थ्य अधिकृत बनोस् भन्ने थियो। त्यसैले यतातिर लागें।’

उनको पहिलो पोष्टिङ जिल्ला स्वास्थ्य कार्यालय बारामा जिल्ला स्वास्थ्य प्रमुखको रुपमा भयो। झण्डै सात लाख जनसंख्या भएको तथा १ सय १ स्वास्थ्य संस्थाको व्यवस्थापनको जिम्मेवारी उनीमाथि थियो किनभने कार्यालय प्रमुखहरु निरन्तर सरुवाका कारण त्यहाँको व्यवस्थापन तथा पद्धति अस्तव्यस्त थियो। 

उनी सम्झिन्छन्, ‘अवस्था के थियो भने, भारतीय सीमातिरका झण्डै २५ प्रतिशत स्वास्थ्य संस्थाले नियमित सेवा समेत प्रदान गरिरहेका थिएनन्।’ उनले निरन्तर अनुगमन गर्नुका साथै स्थानीय प्रशासनको सहयोगमा सेवा प्रवाहलाई नियमित बनाए। यस अभियानबाट सेवा प्रवाहमा ठूलो सुधार आयो। त्यसपछि कलैया अस्पतालमा अवरुद्ध रहेका सीइओएनसी सेवालाई व्यवस्थित बनाई सञ्चालनमा ल्याउन र बर्थिङ सेन्टरहरुलाई भूगोलको आधारमा विस्तार गर्ने कार्यमा उनी जुटे। उनको प्रयास खेर गएन। ‘छोटो अवधिमै स्वास्थ्य मन्त्रालयको ¥याङकिङमा जिल्ला स्वास्थ्य कार्यालय बारा १७ स्थान माथि उक्लिन सफल भयो,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालय बाराबाट आर्थिक वर्ष २०७०/०७१ को उत्कृष्ट सरसफाइ तथा व्यवस्थापन भएको कार्यालयको रुपमा सम्मानित समेत भयो।’

२०७१ साल कात्तिकमा उनी त्यहाँबाट सरुवा भएर जिल्ला स्वास्थ्य कार्यालय, मकवानपुर आइपुगे। २०७२ सालको भूकम्पले धेरै क्षति पु¥याएका १३ जिल्लामा मकवानपुर पनि पर्छ। उनको व्यवस्थापन कौशल यो समयमा निकै उपयोगी भयो। ‘दिनहँु रोगको निगरानी, रिपोर्टिङ व्यवस्थापन र महामारीलाई रोकथाम गरिएका कारणले भूकम्पमा ज्यान गुमाएका ३४ बाहेक थप क्षति सहनु परेन,’ उनले सन्तुष्टि पोखे। भूकम्पबाट घाइतेहरुलाई सरकारी तथा निजी अस्पतालमा निःशुल्क स्वास्थ्योपचारको व्यवस्था समेत उनको अगुवाइमा भयो।  

उनले मकवानपुर जिल्लामा कुपोषणको सर्भे गरे। जसमा ८४ जना बच्चालाई कुपोषण भएको पत्ता लाग्यो। उनले अतिशीघ्र कुपोषणको व्यवस्थापन समेत गरे।  

महिला स्वास्थ्य स्वयंसेविकाहरुबाट कुपोषणको मापन गर्ने सफल परीक्षण पनि यही जिल्लाबाट भएको थियो। कुपोषित बच्चाहरुलाई समुदायस्तरमै पत्ता लगाउनुका साथै अतिशीघ्र कुपोषण र शीघ्र कुपोषण व्यवस्थापन केन्द्रहरु जिल्लाभरि स्थापना गरियो। 

प्रायः सबै स्वास्थ्य संस्थाहरुको सुपरभिजन तथा अनुगमन गरी प्रभावकारी अनुगमनको पद्धति बसाल्ने काम उनले त्यहाँ रहँदा गरे। युनिसेफको सहयोगमा भूकम्प प्रभावित २० वटा स्वास्थ्य संस्थाको खानेपानी व्यवस्थापन तथा सेवाग्राहीका लागि अपांगमैत्री शौचालय पनि उनी त्यहीं रहँदा निर्माण सम्पन्न भयो।

यसैगरी सडक दुर्घटनामा परेका, बेवारिसे र आकस्मिक सेवा आवश्यक हुने प्रसूति, नवजात शिशुहरुको उपचार खर्च व्यवस्थापन गर्नको लागि आकस्मिक कोषको स्थापना गरे। जसमा जनस्वास्थ्य, महिला विकास र जिल्ला प्रहरीको सयुंक्त टोलीले झण्डै ५ लाखको कोष खडा गरी अहिले पनि सेवा प्रदान गरिरहेको छ। 

जिल्ला विकास समिति र जनस्वास्थ्यको सयुंक्त आयोजनामा दुर्गम भूगोललाई लक्षित गरी निर्वाचन क्षेत्रस्तरीय विशेष शिविरद्वारा स्वास्थ्य सेवा प्रदान गर्ने पद्धतिको विकास उनकै पालामा भयो। ‘थाहा नगरपालिकालाई नारायणी अञ्चलमै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरियो,’ उनी गर्वानुभूति प्रकट गर्छन्। जिल्लाका दुर्गमा भेगमा पनि स्वास्थ्यकर्मीहरु परिपूर्ति गर्न उनले ठूलो भूमिका खेले। तिवारी मकवानपुरलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ¥याङकिङमा  ५०औं  स्थानबाट २९औं स्थानमा उकास्न सफल भएका थिए। 

२०७३ कात्तिकदेखि जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङमा कार्यरत उनी बागलुङका १० वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सफल भइसकेका छन्। उनले जिल्ला जनस्वास्थ्य कार्यालयको तीन वर्षीय योजना बनाई सोअनुरुपका लक्ष्य हासिलका लागि कार्ययोजना लागू गरेका छन्। दुर्गमका बिरामीलाई सेवा दिन प्राथमिक स्वास्थ्य केन्द्र स्तरमा सिइओएनसी सेवा सञ्चालन गरेका छन्। 

अहिले सरकारको बीमामा सबैतिर आकर्षण घट्दो रहेको समाचार आइरहेको छ। तर, तिवारीले बागलुङमा भने बिमित दरमा वृद्धि गरिरहेका छन्।  जिल्लाका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा राष्ट्रिय बीमा कार्यक्रमअन्तर्गतको फार्मेसी सञ्चालन गरी जिल्लामा बिमित हुने दरमा वृद्धि गर्न सफल भएको उनी बताउँछन्। 

जिल्ला स्वास्थ्य कार्यालयअन्तर्गत रहेको बेरुजुमध्ये आव २०७४/०७५ मा ६८ प्रतिशत फस्र्योट गर्न सफल भएको पनि उनले बताए। बागलुङ जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधिहरुलाई स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गरी स्वास्थ्य कार्यक्रम सञ्चालन तथा योजना तर्जुमामा उनले समन्वय गरिरहेका छन्। 

यसबाहेक जिल्लाका स्वास्थ्य चौकीस्तरमा समेत ल्याब सेवा विस्तार गरिएको उनले जानकारी दिए। ‘१० वटै स्थानीय तहमा कमसेकम एक ल्याब सञ्चालन गर्ने तयारी छ,’ उनले योजना सुनाए। बागलुङका १० वटै स्थानीय तहमा महामारी व्यवस्थापनको लागि विशेष समिति गठन तथा अभिमुखीकरण गरी औषधिको व्यवस्थापन गरिएको उनी बताउँछन्। 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने