चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनका विद्यार्थीलाई आधारभुत प्राथमिक उपचार तालिम दिइएको छ। शुक्रबारदेखि आइतबारसम्म दिइएको तालिममा विश्वविद्यालयका ३० जना विद्यार्थीहरु सहभागी थिए।
तालिममा प्राथमिक उपचार र यसको सिद्धान्त तथा महत्वका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक खण्डहरु सञ्चालन गरिएको थियो। तालिममा घाइतेको जाँच, शरिरको कुनै अंग भाँचिएमा, आगोले पोलेमा, वीष सेवन, घाँटिमा वस्तु अड्किएको, पट्टी बाँध्ने, करेन्ट लागेको, घाइतेको ओसारपसार, पानीमा डुबेको, मेरुदण्डको चोटपटक, शिरको चोट, लु लागेको लगायतको उपचारका बारेमा प्रशिक्षण दिइएको थियो।
विद्यार्थीहरुलाई सुरक्षा सतकर्ता अपनाउन र सामान्य चोटपटक लागेमा कसरी प्राथमिक उपचार गर्ने भन्ने सम्बन्धमा जानकारी गराइएको तालिमका मुख्य प्रशिक्षक नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका प्रशिक्षण इकाइका संयोजक चिजकुमार आलेले बताए। ‘चोटपटक र दुर्घटना जुनसुकै बेला पनि हुनसक्छ, त्यसकारण प्राथमिक उपचारका बारेमा जानकारी लिन सकेमात्रै पनि अस्पताल नपुर्याइन्जेल बिरामीले राहत पाउने अवस्था रहन्छ।’
प्रशिक्षक आलेले भने, ‘कतिपय अवस्थामा त प्राथमिक उपचारले बिरामीको ज्यानैसमेत जोगाउनसक्ने अवस्था रहन्छ।’
तलिममा आलेसहित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवन प्रशिक्षण इकाइका ५ जनाको टोलीले प्रशिक्षण दिएको थियो। विद्यार्थीहरु पनि आफ्नो स्वास्थ्य र उपचारप्रति सजग र जानकार रहुन् भन्न तालिम आयोजना गरेको आयोजक नेपाल युवा रेडक्रस सर्कल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका अध्यक्ष सुदर्शन अधिकारीले बताए।
अध्यक्ष अधिकारीले तालिम विश्वविद्यालय रेडक्रस सर्कलको नियमित कार्यक्रम भएको बताउँदै पछिल्लो ९ महिनाको अवधिमा स्वास्थ्यसँगै केन्द्रित भएर १९ वटा कार्यक्रमहरु सम्पन्न गरेको जानकारी दिए।
तालिम समापन कार्यक्रममा विश्वविद्यालय भेटेरेनरी संकायकी डिन डा शारदा थपलिया, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति ज्ञानशाली न्यौपाने, विश्वविद्यालय कृषि संकायकी सहायक डिन कल्याणी मिश्र त्रिपाठी तथा विश्वविद्यालयका प्राध्यापक, रेडक्रस सोसाइटी चितवनका कार्यसमिति सदस्यहरुलगायतको उपस्थिति रहेको थियो।
यो सर्कल नेपालकै उत्कृष्ट रेडक्रस सर्कलको रुपमा समेत पुरस्कृत भइसकेको छ।