काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन बजेटको अभाव रहेको बताएका छन्। संघीय संसद शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्रालयको कामकार्वाहीबारे जानकारी गराउँदै उनल बजेटका साथै जनशक्तिको समेत अभाव रहेको उल्लेख गरेका हुन्।
उनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि बजेट अभाव रहेको प्रष्ट्याए। राज्यमन्त्री यादवले विभिन्न मन्त्रालय मातहत पनि अस्पताल रहेकाले अस्पतालहरुको अनुगमनमा पनि कठिनाई हुने गरेको गुनासो समेत गरे।
बैठकमा समितिका सदस्य गगन थापाले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन जोड दिन सरकारलाई सचेत गराएका थिए । उनले मुलुकको आवश्यक्तालाई धान्ने गरी राष्ट्रिय स्वास्थ्य नीति बनाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।
समितिका अर्का सदस्य खगराज अधिकारीले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाएर स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिए । उनले म्याद सकिएको भ्याक्सिन प्रयोगमा ल्याइएको भन्ने समाचार आएको भन्दै तत्सम्बन्धमा तत्काल अनुगमन गर्न पनि सरकारलाई सचेत गराए।
कार्य क्षेत्र स्पष्ट नभएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आफ्नो मन्त्रालयबीच काम गर्न असहज हुने गरेको गुनासो पनि त्यहाँ गरिएको थियो ।