काठमाडौं- १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई डाक्टरलाई कारबाही सिफारिस भएको छ।
महान्यायाधिवक्ताको अध्यक्षतामा रहेको समन्वय समितिले उनीहरुलाई कारबाही गर्न मेडिकल काउन्सिललाई सिफारिस गरेको हो।
महान्यायाधिवक्ता अग्नि खरेलको अध्यक्षतामा गठित समितिमा गृहसचिव, कानुनसचिव, स्वास्थ्यसचिवलगायत सदस्य छन्। समितिको सोमबार बसेको बैठकले गलत रिपोर्ट दिने डाक्टरलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह र रमा गोइतलाई कारबाही गर्न सिफारिस भएको हो।
समितिको प्रतिवेदनमा गत भदौ ८ मा बालिकामाथि बलात्कार भएको अध्ययन र घटनास्थलको मुचुल्काले देखाएको उल्लेख छ। त्यसपछि बालिकाको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो।
स्वास्थ्य परीक्षणमा संलग्न सिंह र गोइतले बलात्कार नभएको रिपोर्ट दिएका थिए। त्यसपछि बालिकाका परिवारले पुनः सिरहा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। सरकारी वकिलको कार्यालय धनुषाले जिल्ला अस्पताल सिरहामा बालिकाको स्वास्थ्य परीक्षण गराएको थियो। परीक्षणमा सिरहा अस्पतालले बालिकामाथि बलात्कार भएको रिपोर्ट दिएको छ।
महान्यायाधिवक्ताको अध्यक्षतामा रहेको समन्वय समितिले समन्वय समितिले जनकपुर अञ्चल अस्पतालका डाक्टर सिंह र गोइतले गम्भीर लापरबाही गर्दै अनुसन्धानको काम प्रभावित बनाएको ठहर गर्दै कारवाही सिफारिस गरेको हो।
‘पीडितको उचाइ र तौलसमेत दुईवटा प्रतिवेदनमा फरकफरक उल्लेख भएको देखिएको छ। बलात्कार भएको किटानी जाहेरी परेको छ। अनुसन्धान गर्दा घटना भएको देखिएको छ। तर डाक्टरले लापरबाही गरी पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको भेटियो’, महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले भने, ‘डाक्टरहरुलाई आवश्यक कारबाहीका लागि संलग्न कागजातको प्रतिलिपि साथै राखी नेपाल मेडिकल काउन्सिलमा पत्र पठाउने निर्णय भएको छ।’
धनुषा जनकनन्दनी गाउँपालिका २ का करण मण्डलले २०७५ भदौ ८ मा बालिकामाथि जबर्जस्ती करणी गरेका थिए। बालिकाका बुबा रोजगारीको सिलसिलामा भारत गएको र आमा नभएका कारण उनी साना भाइबहिनीको साथमा घरमा बस्ने गरेकी थिइन्। कोही नभएको मौका पारी छिमेकी मण्डलले जबर्जस्ती करणी गरेको प्रहरीको अभियोग छ। पुर्पक्षका लागि थुनामा रहेका मण्डलले अदालतसमक्ष अभियोग स्वीकार गरिसकेका छन्।