प्रवास

अमेरिकामा ज्यान नेपालतिर ध्यान


साउन ३० गते महोत्तरीको रामगोपाल नगरपालिकामा क्यान्सर सेन्टर सुरु भयो। प्रदेश २ मात्रै होइन, पूरै पूर्वी नेपालका बासिन्दामा यसले आशाको सञ्चार गरायो। किनभने यहाँका बासिन्दाले हालसम्म क्यान्सर उपचारका लागि काठमाडौं र भरतपुर धाउनुपर्ने बाध्यता थियो। केही वर्षमै देशका मात्रै होइन, विदेशका बिरामीसमेत उपचार गराउन त्यहाँ आउने ठाउँ बनाउने महत्वाकांक्षी योजना डा विनय साहको छ। अमेरिकामा क्यान्सर उपचार सेवा दिइरहेका उनी विनयतारा फाउन्डेसन अमेरिकामार्फत समाजसेवामा सक्रिय छन् केही वर्षदेखि।

कामबाट अवकाश पाएपछि र धनआर्जन गरेपछि त्यसको केही अंश समाजसेवामा लगाउनेहरूको भिडमा यी डाक्टरको कथा बेग्लै छ। 

डा साह त्यो दिन समाजसेवामा लागे, जुन दिन उनको कमाई आफ्नो जीवन निर्वाह गरेपछि केही जोगिने अवस्थामा पुग्यो। उनी सम्झिन्छन्, ‘जब मैले अमेरिकामा रेसिडेन्सी (विशेषज्ञ तहको अध्ययन) थालेँ। जीवन निर्वाहका लागि पुगेर केही रकम जोगिन थाल्यो। मेरो कमाइको १० देखि १५ प्रतिशत समाजसेवामा लगाउनुपर्छ भनेर फाउन्डेसनको अवधारणा आयो।’

आफू मात्रै होइन, यस्तै चाहना राख्ने तर माध्यम नभएकाहरूसँग पनि सहकार्य गर्न उनले फाउन्डेसन बनाए। सुरुमा उनीसँग हात मिलाउन धेरै अमेरिका निवासी नेपाली डाक्टर र अरू पेसाकर्मी तयार भए। विस्तारै यो दायरा फराकिलो बन्दै गयो। 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस गरेका उनले अमेरिका न्युयोर्कको लङ आइल्यान्ड कलेज अस्पतालबाट एमडी र इलिनोइस विश्वविद्यालय शिकागोमा हेमाटोलोजी र अन्कोलोजीमा तीनवर्षे फेलोसिप गरेका छन्। आफू हेमाटोलोजी र क्यान्सरको उपचारमा सहभागी भएकाले सामाजिक काम पनि यही क्षेत्रमा गर्ने लक्ष्य उनले लिए। 

डा साहमा जीवन जिउनु मात्रै ठूलो कुरा होइन, अरूका लागि केही गरेर देखाउनुपर्छ भन्ने भावनाको बिजारोपण मदर टेरेसाको जीवनीले गरिदिएको हो। उनी भन्छन्, ‘कक्षा १० सम्म पढ्दा मैले राजनीति, फिलोसोफी, धर्म र जीवनीका दुई सयभन्दा बढी किताब पढिसकेको थिएँ। तर, टेरेसाको जीवनीले गहिरो छाप छाड्यो।’ 

उनी अध्यक्ष रहेको विनयतारा फाउन्डेसनले बोनम्यारो प्रत्यारोपण केन्द्र, होम हस्पिस कार्यक्रम, क्यान्सर स्क्रिनिङ, स्रोतसाधन नपुगेका समुदायका लागि चिकित्सा अनुसन्धान, अनुदान लगायतमा सघाइरहेको छ। 

नेपालमा पहिलो बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनामा डा साहको महत्वपूर्ण भूमिका छ। सिभिल सर्भिस अस्पताल काठमाडौंंमा उक्त प्रत्यारोपण केन्द्र स्थापित गरिएको छ। फाउन्डेसनकै अर्थिक सहयोगमा नेपालको बोनम्यारो प्रत्यारोपण केन्द्र टिमलाई शिकागोस्थित इलिनोइस विश्वविद्यालयमा तालिम प्रदान गरिएको थियो। सो तालिममा दुई चिकित्सक र एक नर्स सहभागी थिए। कोलम्बो विश्वविद्यालय (श्रीलंका) मा अध्ययनरत एक चिकित्सकलाई क्लिनिकल जेनेटिक्समा तालिमका निम्ति उनको फाउन्डेसनले आर्थिक सहयोग गरेको छ। 

यसैगरी क्यान्सर केयर नेपालसँगको सहकार्यमा ललितपुरमा होम हस्पिस कार्यक्रम पनि गरिएको छ। फाउन्डेसनले हस्पिस केयर टिमलाई तालिम दिलाउनुका साथै चिकित्सकीय तथा बिमारीको हेरचाह गर्ने कर्मचारीको तलब, उपकरण, मोटरसाइकल यातायात, एवं इलेक्ट्रोनिक चिकित्सा रेकर्र्डको खर्च व्यहोरेर बिमारीको घरैमा निःशुल्क सेवा प्रदान गराएको छ। 

नेपालमा मात्रै होइन, भारतको मध्य प्रदेशमा समेत उनको नेतृत्वमा हस्पिस एन्ड प्याल्लेटिभ केयर कार्यक्रम थालिएको छ। मध्यप्रदेश सरकारसँगको सहकार्यमा त्यहाँका चिकित्सकलाई अमेरिकामा तालिम दिइएको छ भने दुई अमेरिकी नर्सलाई त्यहाँ पठाएर अन्य नर्सलाई तालिम दिने व्यवस्था मिलाइएको डा साह बताउँछन्।

एसियाकै नमुना क्यान्सर उपचार केन्द्र महोत्तरीको रामगोपालपुरमा बनाउने उनको योजनाका पछाडि केही कारण छन्। त्यहीँ जन्मेका उनी बैंकका जागिरे बुवासँगै देशका विभिन्न भाग पुगेर पढे र हुर्किए। सबै ठाउँको जीवनस्तर नियालेका छन्। उनको यही चेतनाले भन्यो, ‘उपचार केन्द्रहरू ३ नम्बर प्रदेशमा मात्रै भए। देशको पूर्वी भागमा हुँदै भएन।’ 

स्वास्थ्य सेवामा न्यून पहुँच भएको क्षेत्रलाई अस्पताल निर्माणका लागि रोजिएको डा साह बताउँछन्। उनी भन्छन्, ‘यहाँका धेरै बिरामी मुस्किलले डाक्टर भेट्छन्। उपचार केन्द्र टाढा हुँदा धेरैले क्यान्सर पहिचान गर्न नपाई उपचार अभावमा ज्यान गुमाउँछन्।’ तर, उनी नेपालका सातै प्रदेशमा एउटा क्यान्सर सेन्टर हुनुपर्ने बताउँछन्।

यो वर्ष उनले सपनाको बिजारोपण मात्रै गरेका हुन्, रामगोपालपुरमा। क्यान्सर सेन्टरले यस वर्ष प्याल्लेटिभ केयर दिनेछ। यो सेवा प्रभावकारी बनाउन आगामी डिसेम्बरमा प्याल्लेटिभ केयरका लागि कहलिएका अमेरिकी डाक्टर डेनियल वाकर आउने भएका छन्।

डा साहले सन् २०१९ सम्ममा रेडियसन सेवा नचाहिने क्यान्सरका बिरामीको उपचार सेवा विनयतारा फाउन्डेसन क्यान्सर सेन्टरले दिने लक्ष्य बनाएका छन्। आगामी तीन वर्षमा रेडियसन थेरापीसमेत थाल्ने उनको लक्ष्य छ। संसारकै उच्च प्रविधि र राम्रो उपचार सेवा त्यहाँ दिइने उनी बताउँछन्। भन्छन्, ‘जुन स्तरको सेवा अहिले अमेरिकामा छ, त्यही स्तरको सेवा रामगोपालपुरबाट दिने हाम्रो सपना छ। बाह्रै महिना अमेरिकाका चिकित्सक आउने–जाने र ज्ञान आदानप्रदान गर्ने वातावरण बनाउने लक्ष्य लिएका छौं।’

डा साहको यो सपनाको साझेदार रामगोपालपुर नगरपालिकासमेत बनेको छ। नेपालमा काम गर्ने जिम्मेवारी विनयतारा क्यान्सर ट्रस्टलाई दिएका छन्, उनले। जसको नेतृत्व ग्रान्डी अस्पतालमा कार्यरत जिआई सर्जन डा राकेश साहले लिएका छन्। 

५२ रोपनी जग्गामा फैलिने अस्पतालका लागि रु ७० करोडभन्दा बढी खर्च हुने अनुमान फाउन्डेसनको छ। तर डा साह राम्रो क्यान्सर उपचार केन्द्र निर्माणमा लागतको सीमा नरहने बताउँछन्।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Sunil Kumar karn लेख्नुहुन्छ असोज १९, २०७५ शुक्रवार ०९:४१:२१
Good job

यसमा तपाइको मत




पढ्नै पर्ने