काठमाडौं- पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयमा कर्मचारी सरुवामा आर्थिक चलखेल भइरहेको भन्ने गुनासो आइरहेको विषयमा प्रश्न गरेका छन्।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य मन्त्रालयका नीति–कार्यक्रम तथा कामबारे सोमबार भएको छलफलका क्रममा अधिकारीले सरुवामा पैसाको चलखेलको कुरा आएको भन्दै प्रश्न गरेका हुन्।
‘मन्त्रालय र विभागबाट हुने सरुवमा समेत पैसाको चलखेलको कुरा आएको छ,’ छलफलमा अधिकारीले स्वास्थ्य सचिव डा चौधरीलाई भने, ‘लाख, ५० हजार खाएर सरुवा भइरहेको सुनिन्छ नि।’
छलफलमा पूर्वमन्त्री अधिकारीले डाक्टर सचिव हुँदा डाक्टरमाथि नैअन्याय भएको भन्दै सचिवको आलोचना समेत गरेका छन्। उनले मन्त्रालयमा डेढ वर्षदेखि १२ औं तहको कर्मचारी किन रिक्त राखेको भन्दै प्रश्न पनि गरेका छन्।
‘१२औँ तह एक–डेढ वर्षदेखि रिक्त छ, तपाईं लोकसेवा जानुहुन्न, खाली राख्न पाइन्छ?’ अधिकारीले प्रश्न गरे, ‘सचिवले नै आउन नदिएको भन्ने गनासो छ नि ?’
स्वास्थ्य मन्त्रालयमा सचिवसरहको प्रमुख विशेषज्ञ तीन पदमध्ये दुईवटा रिक्त छन्। १२औँ तहका लागि वरिष्ठताका आधारमा डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह, डा भीमसिंह तिङकरी, डा गुणराज लोहनी र महेन्द्र श्रेष्ठको नाम चर्चामा छ।
छलफलमा नेकपाका सांसद गजेन्द्र महतले पनि सरुवामा आर्थिक चलखेल हुने गरेको आरोप लगाए। उनले सचिवलाई आफ्ना मानिस के गर्दा सरुवा हुन्छ र कति पैसा खुवाउनुपर्छ भन्दै प्रश्न गरेका थिए।
‘हाम्रा मान्छे के गरे सरुवा हुन्छन्?, कति पैसा दिनुपर्छ? कहाँ पावर लगाउनुपर्छ? मलाई भनिदिनुस्, पैसा नि खुवाउँला, पावर पनि लगाउँला’, सांसद महतले छलफलमा प्रश्न गरे।
स्वास्थ्यसचिव डा चौधरीले स्वास्थ्य मन्त्रालयमा धेरै समस्या भएको स्विकार गरिन्। उनले मन्त्रालयमा आएका गुनासाको छानबिन गर्न समेत समस्या रहेको बताइन्।