काठमाडौं– त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले आफ्नो आंगिक क्याम्पस महाराजगञ्जमा यो शैक्षिक सत्रदेखि ब्याचलर इन डेन्टल सार्जरी (बिडिएस) कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ।
सन् १९७८ देखि एमबिबिएस कार्यक्रम सुरु गरेको आइओएमले महाराजगञ्ज चिकित्सा क्याम्पसमा बिडिएसको कार्यक्रम पहिलो पटक सुरु गर्न लागेको हो।
बिडिएस कार्यक्रम सञ्चालनका लागि कलेजले आवश्यक तयारी तिब्र रुपमा अगाडि बढाइरहेको छ। बिडिएसका लागि यो वर्ष २५ वटा सिट उपलब्ध गराइएको आइओएमका डिन डा जगदीशप्रसाद अग्रवालले जानकारी दिए।
यसअघि एमडिएस कार्यक्रम सञ्चालन गर्दै आएको क्याम्पसले निकै लामो प्रयासपछि बिडिएस कार्यक्रम सुरु गर्न लागेको हो।
आइओएमले बिडिएस अध्ययनका लागि प्रवेश परीक्षा लिइसकेको छ। प्रवेश परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुको ओपन हाउस काउन्सेलिङ दशैंपछि हुने सम्भावना रहेको छ।
आइओएमले अघिल्लो वर्ष नै बिडिएस कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको थियो। तर, अध्यापन सुरु गर्न आवश्यक पूर्वाधार लगायतको तयारी नपुगेपछि रोकिएको थियो।