काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा पुष्पा चौधरीले नियम अनुसार एउटा सरकारी गाडी, प्रतिमहिना एक सय लिटर इन्धन तथा अन्य सेवा सुविधा पाउँछिन्। सोही अनुसार उनी सरकारले उपलब्ध गराएको बा १ झ ६६८५ नम्बरको गाडीमा सवार हुन्छिन्।
तर, सचिव डा चौधरीले मन्त्रालयमा रहेको अर्को गाडी (कार) पनि कब्जामा लिएकी छिन्। मन्त्रालयको उक्त कार आफ्नी छोरीलाई प्रयोग गर्न दिएको खुलेको छ।
सचिव चौधरीले छोरीले प्रयोग गर्ने उक्त गाडीमा इन्धन र गाडी चलाउने चालकसमेत मन्त्रालयबाट नै तलब खानेगरी खटाएकी छिन्।
छोरीले घरायसी प्रयोजनका लागि प्रयोग गर्ने गाडीको नम्बर बा २ झ २७८६ हो। सेतो नम्बर प्लेट भएको उक्त गाडी मन्त्रालयमा तेलको कुपन लिन र चालक अर्जुन गिरीले महिनामा एक पटक हाजिर गर्न आउने बेलामा मात्र भेटिन्छ।
स्वास्थ्य मन्त्रालयमा सबै कर्मचारीलाई विद्युतीय हाजिरीको व्यवस्था छ। तर, सचिव चौधरीले छोरीको गाडी चालक गिरीलाई भने महिनामा एक पटक आएर हाजिर गर्न मिल्ने व्यवस्था मिलाएकी छन्।
गाडीबाट निस्कदैँ स्वास्थ्य सचिवको छोरी, रातो घेराभित्र निलो कपडा लगाएकी।
सचिवको छोरीले प्रयोग गर्ने सरकारी गाडी हरेक दिन बिहान तिलगंगा आँखा अस्पतालमा भेटिन्छ। छोरी नेहा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत आँखा रोगका विषयमा अध्ययन गरिरहेकी छिन्। उनलाई त्यहाँ छाडेर चालकले गाडी फर्काउँछन् र साँझ पुन: लिन जाने गरेका छन्। त्यसबाहेक पनि उक्त गाडी निजी कामका लागि अन्यत्र प्रयोग हुने गरेको छ।
सरकारी नियम अनुसार एक जना सचिवले यसरी दुई वटा गाडी, इन्धन तथा चालक लिन पाउँदैनन्। स्वास्थ्य सचिवले मन्त्रालयको गाडी कब्जा गरेर घर लगेको विषयमा स्वास्थ्यका कर्मचारी पनि आक्रोशित छन्। कर्मचारीहरु प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारलाई शून्य सहनशीलता भन्ने कुरालाई सचिवहरुको यस्तै व्यवहारले गिज्याइरहेको टिप्पणी गरिरहेका छन्।
‘मन्त्रालयमा दिनरात खट्ने माथिल्लो तहका केही कर्मचारीलाई गाडीको सुविधा छैन। तर सचिवको छोरीलाई पनि सरकारी गाडी?’ मन्त्रालयका एक कर्मचारीले प्रश्न गरे, ‘सचिवबाट नै अनियमितता हुन थालेपछि अरु कर्मचारीलाई सचिवले के आधारमा इमानदार भएर काम गर्न निर्देशन दिन सक्छिन्?’