बाँके - बाँकेको नरैनापुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरको निर्माणाधीन भवन सात वर्षदेखि अलपत्र परेको छ। निर्माणाधीन भवन पूरा नहुँदा २५ वर्षदेखि स्वास्थ्य केन्द्रले भाडाका घरबाट सेवा प्रवाह गरिरहेको छ।
सदरमुकाम नेपालगञ्जदेखि ४० किलोमिटर पूर्व दक्षिणमा रहेको यो स्वास्थ्य संस्था आफ्नै भवन नहुँदा विसं २०५० देखि भाडाकै घरमा सञ्चालन भइरहेको छ। पन्ध्र शय्या केन्द्रको तीनतले भवन बनाउने ठेक्का लिएको निर्माण कम्पनीको लापरबाही र सरकारी उदासिनताले उक्त भवन अलपत्र परेको हो।
निर्माण शुरू गरेको १८ महिनामा पूरा गर्ने सम्झौता भएको सो भवन अहिलेसम्म पनि निर्माण पूरा हुनसकेको छैन। तीन करोड ४० लाख लागतमा निर्माण शुरू गरिएको उक्त स्वास्थ्य केन्द्र भवनमा निर्माण कम्पनीले “काम गरे जस्तो पनि छ, नगरे जस्तो पनि छ। छत ढलान भइसकेको छ, अब अन्य काम गर्न मात्र बाँकी छ ।” भवनको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको छ।
भवन निर्माण अलपत्र परेसँगै यहाँका स्वास्थ्य संस्थामा एमबीबीएस गरेका डाक्टरको दरबन्दी भए पनि कोही पनि तीन महीनाभन्दा लामो समय बस्न नसकेको स्थानीयवासी बताउँछन्। अहिले भने केही महीनादेखि डाक्टर नियमित रूपमा केन्द्रमा आउन थालेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोइन खाँले बताए। यहाँ दैनिक ७०÷८० बिरामी उपचारका लागि आउने गरेका छन्।
स्वास्थ्य संस्थाको भवन नभएका कारण डाक्टरलाई बस्ने व्यवस्था नरैनापुर गाउँपालिकाले गर्दै आएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह बताउँछन्।
“डाक्टरको दरबन्दी त छ तर, एक दिन गाउँ बसे १० दिन नेपालगञ्ज बस्छन् । कोही पनि नियमित बस्न मान्दैनन्”, उनले भने, “भरपर्दो स्वास्थ्य उपचार अभावमा यहाँका बासिन्दा भारततर्फ जाने गरेका छन्।” रासस