टिप्स/जानकारी

राग चिकित्साका फाइदा

 डा. विनोद घिमिरे

राग शब्द संस्कृतको ‘रंज’ बाट बनेको हो ।  जसको अर्थ रंगाउनु हुन्छ । यस्तो विधिले  मनलाई विभिन्न भावहरुमा रंग्याउने काम गर्छ । त्यसलाई राग भनिन्छ।

संगीत परापुर्वकाल देखिनै साधना, चिकित्सा, मनोरञ्जन तथा चेतनाको प्रस्फुटन गर्ने माध्यम  हो।

शास्त्रीय संगीत अहिले चिकित्साका रुपमा समेत प्रयोग हुदै आएको छ। शास्त्रीय संगीतमा आधारभूत स्वरहरु ‘सा रे ग म प ध नि’ हुन्छन। यी स्वरलाई विभिन्न क्रम, गति र विधि अनुसार प्रस्तुत गर्दा रागको संरचना तयार हुन्छ जुन विभिन्न वाद्यवादन यन्त्रबाट बजाइने गर्दछ र यी रागहरुले मनमा विभिन्न भाव उत्पन्न गर्छन्।

प्राचीन समयदेखि नै संगीतको प्रयोग चिकित्सा क्षेत्रमा गरिदैँ आइएको छ। आयुर्वेद चिकित्सा विज्ञानमा संगीत को प्रयोगका धेरै उदाहरण छन्।  

आयुर्वेदका प्रमुख ग्रन्थहरु चरक संहिता, सुश्रुत संहिता तथा अश्टांग संग्रहमा संगीतको प्रयोगबारे बताइएको छ।

चरक संहितामा रोगीको उपचारमा सहयोग पुर्‍याउने सहयोगी वाद्यवादन तथा गायन मा निपुर्ण हुनु पर्छ भनिएको छ। आयुर्वेदमा पित्त बढी हुदाँ मधुर संगीतको श्रवण गर्न सुझाइएको छ।

भरखरै जन्मिएको शिशुलाई मधुर संगीतयुक्त शिशु स्याहार कक्षमा राख्न सल्लाह दिइएको छ। 

मिठो संगीतको प्रयोग सम्भोगको समयमा तथा शरीरको शोधन गर्ने क्रममा पंचकर्म गर्दा समेत भएको पाइन्छ। 

संगीतलाई क्षयरोगको उपचार तथा बेहोस भैसकेपछि पुनः होस मा ल्याउन सहयोगी साधन को रुपमा प्रयोग गरिएको पाइन्छ।

संगीतको आजकाल धेरै रोगहरुमा प्रयोग हुदै आएको छ। संगीतले उच्च रक्तचाप, अनिद्रा, मानसिक तनाव, दुखाइ, हृदय रोग आदिमा फाइदा पुर्‍याउने तथ्य विभिन्न अनुसन्धानबाट पनि प्रमाणित भैसकेको छ।

संगीतले डोपामिन, सेरोटोनिन, अक्सिटोनीन, इन्डोरफिनको मात्रा बढाउनुका साथै करटिसोलको मात्रा घटाई नसर्ने रोगको व्यवस्थापन तथा पुनःस्थापनामा सहयोग पुर्‍याउदछ। 

दिन र रातका विभिन्न समय अनुसार हाम्रो मानसिक भाव तथा शारीरिक प्रक्रिया फरक हुन्छन। आयुर्वेदका अनुसार स्वस्थ हुनलाई शरीर तथा मनलाई चलायमान गराउने तत्व लाई पाचन, रासायनिक क्रिया तथा मानसिक क्रिया गर्ने तत्व पित्त तथा पोषण, स्थायित्व दिने तत्व कफको सन्तुलन हुनु पर्दछ। 

यी तत्वहरु दिन, रात र ऋतुका विभिन्न समय अनुसार घटबढ हुन्छन्।  राग चिकित्सामा यिनीहरुको घटबढ अनुसार उपयुक्त रागको प्रयोग गर्नुपर्दछ। रोग अनुसार विभिन्न रागहरु चिकित्साको रुपमा प्रयोग गरिन्छ।  यसका लागि दिसा पिसाब गरिसकेपछि शान्त ठाउँमा आँखा बन्द गरी बसेर उपयुक्त राग सुन्नु पर्दछ। राग श्रवणको अवधि ३० – ४०  मिनेटको हुन्छ। 

राग चिकित्साका वैज्ञानिक तथ्यहरु 

भारतमा शल्यक्रियाका लागि अस्पताल भर्ना गरिएका ६० जना बिरामी मध्ये ३० जनालाई आनन्दभैरावी राग र बाँकी ३० जनालाई साविक उपचार गरियो। यसबाट राग दिइएको समुहमा कम गर्ने औषधि कम लिनु पर्यो।

राग मालकौस र यमनले ३४ हप्ता पुरा हुन अगावै जन्मिएका बच्चाका आमाको दुध उत्पादन बढाएको पाइएको छ। ३४ हप्ता पुरा हुन अगावै जन्मिएका र अस्पतालको सघन उपचार कक्षमा उपचारत बच्चाका आमाहरुमा राग चिकित्साले ४ दिनमै दुधको मात्रा बढाउनुका साथै मानसिक तनाव र र्‍यालमा करटिसोलको मात्रा घटाएको पाइयो।

राग भुपालीले स्मरण शक्ति बढाउछ। भारतमा विश्वविद्यालयमा ३० जना विद्यार्थीलाई १ दिन राग भुपाली १० मिनेट,  १ दिन पप संगीत १० मिनेट र  १ दिन १० मिनेट शान्त बस्न लगाइ उनीहरुको स्मरण शक्ति डीजिट स्पान टेस्ट मार्फत नापियो। र, राग भुपाली १० मिनेट सुन्दा विद्यार्थीमा तत्काल कार्य गर्ने स्मरण र एकाग्रता पप संगीत र शान्त बस्दा भन्दा धेरै भएको पाइयो।

राग अहिरी, बैरागी भैरव, चारुकेसी र मधुवंती ले गर्भवतीमा हुने डीप्रेसनलाई हटाई त्रिदोष लाई सन्तुलित  गरेको पाइयो।

राग मरुबिहाग र मारवाले क्रमस उमंग र वेदनालाई बढाउने कुरा भावनात्मक प्रश्नपत्र को मापनमा  पाइयो।

राग छायानट र बहारले बाँया मस्तिष्कलाई सक्रिय पारि खुशी र उमंग बढाएको पाइयो।   

राग दरवारी कन्नडा र मिया कि मलहरले दाँया मस्तिष्कलाई सक्रिय पारि वेदना र चिन्तन बढाएको पाइयो। 

त्यसैले अहिलेको नसर्ने रोगको बिगबिगी भएको अवस्थामा राग चिकित्सालाई विभिन्न रोगहरुमा प्रयोग गर्नु आवश्यक र लाभदायी देखिन्छ।

(डा घिमिरे योग तथा पुनःस्थापना विशेशज्ञ हुन्)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने