काठमाडौं- नेपाललाई मेडिकल पर्यटन गन्तव्यको रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली राजदुतावास ढाकाले ‘नेपाल एक मेडिकल पर्यटन गन्तव्य’ प्रवर्द्धन शृंखला सुरु गरेको छ।
नेपालमा उपलब्ध स्वास्थ्य सेवा खासगरी आँखाको उपचार र वैकल्पिक स्वास्थ्य उपचारमा बंगलादेशी नागरिकहरु नेपालप्रति आकर्षित छन्।
ठूलो संख्यामा विदेशी अस्पतालहरुले आफ्ना प्रतिनिधि कार्यालयहरु बंगलादेशमा स्थापना गरी चिकित्सा पर्यटन प्रवर्द्धन गर्ने गरेका छन् ।
२०७५ साल असोज १७ गते का दिन नेपाली राजदुतावास ढाकामा नेपाल मेडिसिटी अस्पतालका व्यवस्थापन टिमको सहभागिताका साथै बंगलादेशका प्रमुख टुर कम्पनिहरु, चिकित्सा क्षेत्रका प्रोफेसर लगायत सम्बन्धित सरोकारवालाहरु बिच यस अवधारणा सम्बन्धी अन्तरक्रियामा कार्यक्रम गरिएको छ।
बंगलादेशका लागि नेपाली राजदूत डा.चोपलाल भुसालले नेपाल ऐतिहासिक सम्पदाले भरिपूर्ण, भौगोलिक सुन्दरता, साहसिक पर्यटन जस्ता कुराहरुले मात्र नभई हाल उपचारका लगि समेत उपयुक्त गन्तव्य बन्दै गएको जानकारी दिए।
नियोग उपप्रमुख धनबहादुर वलीले नेपालले स्वास्थ्य क्षेत्रमा समेत लागानी बढ्दो अवस्थामा रहेको बताउँदै स्तरीय अस्पतालहरु थपिने क्रम बढेको बताए । उनले बंग्लादेशी नागरिकका लागि नेपाल सहज र सुलभ उपचार गन्तव्य बन्न सक्नेमा जोड दिए।
नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले मेडिसिटी अस्पतालको बारेमा प्रकाश पारेका थिए।
अन्तरक्रियमा सहभागी बंग्लादेशी व्यवसायिक कम्पनीहरुले बंगलादेशबाट उपचारका लागि नेपाल पठाउन मेडिसिटी अस्पतालसँग सहकार्य गर्न इच्छुक देखिएका थिए।