तुलसीपुर- करीब साढे चार करोड लागतमा आँखा अस्पतालको सुविधा सम्पन्न बहिरङ्ग सेवा भवन निर्माण सम्पन्न भएको छ।
नेपाल नेत्रज्योति सङ्घ दाङद्वारा सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको भवन रु चार करोड ४९ हजार २३ हजार लागतमा सम्पन्न भएको हो।
दातृ निकाय एनएबिपीको रु दुई करोड ९७ लाख ४९ हजार सहयोग र आँखा अस्पतालको अन्तरिक स्रोतबाट भवन निर्माण भएको भवन निर्माण समितिका संयोजक नेत्रमणि लामिछानेले जानकारी दिए।
भवन निर्माण गर्न रु छ करोड ९९ लाख २० हजार को लागत अनुमान भएपनि करीब ३५ प्रतिशत कम लागतमा भवन निर्माण सम्पन्न भएको राप्ती आँखा अस्पताल रक्षचौर तुलसीपुरका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिए।
भवन निर्माणसँगै आँखाका बिरामीलाई सहज भएको अस्पतालले जनाएको छ। यसअघि भवन नहँुदा बिरामीलाई निकै सास्ती हुँदै आएको थियो। एक सय श्ययाको अस्पतालमा दैनिक ८०० बिरामी अस्पतालमा आँखा जाँच गर्ने आउने गरेको अस्पतालका नेत्र विशेषज्ञ डाक्टर सन्तोष सुवेदीले जानकारी दिए।
नेपाल नेत्रज्योति सङ्घ दाङअन्तर्गत दाङमा दुई, कपिलवस्तुमा एउटा आँखा अस्पताल र साविक राप्तीका रुकुम रोल्पा, सल्यान र घोराहीमा आँखा उपचार केन्द्र स्थापना गरी सेवा दिँदै आएको बताइएको छ।