मुख्य समाचार

टिचिङ अस्पतालको निर्देशक छनोटका लागि नयाँ सर्च कमिटी गठन


काठमाडौं – त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जमा कार्यकारी निर्देशक नियुक्त नभएको साढे दुई महिना भन्दा बढी भइसकेको छ। कार्यकारी निर्देशक नहुँदा अस्पतालका महत्पूर्ण काममा समस्या आइरहेको छ। 

अस्पतालको निर्देशक नियुक्ती राजनीतिक भागवन्डाका आधारमा गर्नका लागि ढिलाइ भइरहेको हो। निर्देशकका लागि योग्य व्यक्तिको नाम सिफारिस गर्ने भन्दा पनि राजनीतिक आस्थाका आधारमा नाम सिफारिस गर्न त्रिविले नयाँ सर्च कमिटी बनाएको छ। 

त्रिविले निर्देशकको नाम सिफारिस गर्न त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन डा जगदिश प्रसाद अग्रवालको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन गरेको हो। समितिमा राजनीतिक रुपमा खुलेका दुई डाक्टरलाई सदस्य बनाएको छ। त्रिविले नेकपानिकटमा रुपमा चिनिएका डा प्रदीप ज्ञवाली र नेपाली कांग्रेस निकटका रुपमा चिनिएका डा अभिमन्यु झालाई कमिटीको सदस्य बनाएको छ। 

निर्देशकका नाम सिफारिस गर्न यसअघि पनि कमिटी बनाइएको थियो। तर, उक्त कमिटीमा नाम सिफारिस गर्ने क्रममा विवाद आएपछि निर्देशकको नाम सिफारिस गर्न सकेको थिएन। कमिटीले नाम सिफारिस गर्न नसकेको भन्दै त्रिविलाई जानकारी गराएपछि उक्त कमिटी खारेज भएको थियो। 

अस्पतालका निर्देशक डा दीपक महराको कार्यकाल सकिएपछि सरकारले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि पुन निर्देशकको जिम्मेवारी दिएको थियो। तर, उनले गत साउन ४ गतेबाट लागू हुने गरी राजीनामा दिएपछि अस्पतालमा निर्देशक पद खाली भएको हो। आइओएमले निमित्त निर्देशकको जिम्मेवारी आइओएमकी सहायक डिन मन्दिरा वन्तलाई दिएको छ।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने