काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगन्जले कलेजो प्रत्यारोपणका लागि आवश्यक तयारी तिव्र बनाएको छ। अस्पतालले कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा रमेश भण्डारीको नेतृत्वमा प्रत्यारोपण सेवा सुरु गर्न लागेको हो।
प्रत्यारोपणका लागि डा भण्डारीको नेतृत्वमा चुस्त मेडिकल टिम तयारी अवस्थामा छन्। तर, अन्तिम तालिमका लागि मेडिकल टिमका १४ जना भारतको एपोलो अस्पतालमा पुगेका छन्। अन्तिम तालिमका लागि ८ जना डाक्टर र ६ जना नर्स एपोलोमा पुगेको डा भण्डारीले जानकारी दिए।
उनका अनुसार तालिमका लागि २ जना सर्जन, १ जना एनेस्थेसिया, १ जना रगत रोग विशेषज्ञ, २ जना रेडियोलोजिष्ट, १ जना प्याथोलोजिष्ट र १ जना क्रिटिकल केयरका विज्ञ डाक्टर छन्। 4 तर्फ अप्रेटिङ नर्स २, आइसियु नर्स २ र एनेस्थेसियाका २ जना नर्स छन्।
प्रत्यारोपणका लागि अस्पतालले लाइसेन्स लिने प्रक्रिया पनि अगाडि बढाइसकेको डा भण्डारीले जानकारी दिए। ‘अब सबैजसो प्रक्रिया पुरा भएको छ,’ उनले भने, ‘तर अझै पनि हामीले प्रत्यारोपण गर्न पाउने लाइसेन्स पाउन सकेका छैनौं। यसका लागि पनि आवश्यक काम अगाडि बढाइएको छ।’