समाचार

झाडापखालाबाट मृत्यु भएका परिवारलाई राहत हस्तान्तरण

 दिनेश शर्मा

राजविराज– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई साताअघि महोत्तरीको जलेश्वर नगरपालिका–१२, नैन्हीमा फैलिएको झाडापखालाका कारण मृत्यु भएका परिवारलाई जनही १ लाख रुपैयाँ राहत उपलब्ध गराएका छन्।

झाडापखाला प्रभावित क्षेत्रको निरीक्षण गर्न पुगेका राउतले अगामी दिनमा यस्ता महामारी फैलिन नदिन योजना तयार गर्न नगरपालिकालाई निर्देशन पनि दिए।

उनले दुषित खानेपानीका कारण झाडापखाला फैलिएको प्रतिवेदन आइसकेकाले प्रदेश सरकारले स्थानीय स्तरमा ट्युवेलको व्यवस्था गर्ने प्रतिवद्धता जनाए।

स्वच्छ खानेपानीको लागि पूरै गाँउलाई पुग्ने ट्यांकी निर्माणको योजना बनाउन  नगरपालिकालाई आग्रह गर्दै त्यसमा प्रदेश सरकारले पनि सहयोग गर्ने राउतले प्रतिबद्धता जनाए।

नैन्ही गाउँमा भदौ २९ गते एकैसाथ ४१ जनामा पखालाको प्रकोप सुरु भएर ३ सय व्यक्तिमा फैलिएको थियो भने एक बालिका र एक वृद्धा गरी २ जनाको मृत्युसमेत भएको थियो।

यसैगरी, मधेश आन्दोलनका घाइते विजयकुमार ठाकुरलाई पनि राउतले १ लाख ५० हजार रुपैयाँ राहत उपलब्ध गराएका छन्। प्रथम मधेश आन्दोलनका क्रममा घाइते भई एउटा खुट्टा गुमाएका पिपरा गाउँपालिका–५, रतौलीका ठाकुरलाई प्रदेश सरकारका तर्फबाट उपलब्ध गराइएको डेढ लाख रुपैयाँको चेक राउतले हस्तान्तरण गरेका हुन्।

प्रदेश सरकारले सहिद परिवारलाई रोजगारीसमेत दिन थालेको बताउँदै उनले योग्यता र क्षमताको आधारमा रोजगारी दिइने प्रतिबद्धतासमेत दोहोर्‍याए।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने