काठमाडौं– सरकारले एमबिबिएस र बिडिएस अध्ययनका लागि शुल्क बढाउने तयारी गरेको छ। सरकारले दुई वर्ष अघि तोकेको शुल्कसिमामा यो वर्ष १० प्रतिशत भन्दा बढी बढाउने तयारी अगाडि बढाएको हो।
शुल्कका विषयमा सोमबार शिक्षामन्त्रालयमा प्रारम्भिक छलफल समेत भइसकेको छ। मेडिकल कलेजले यसअघि निर्धारण गरेको शुल्क भन्दा बढी शुल्क लिइरहेको भन्ने गुनासो आइरहेको समयमा सरकारले नै शुल्क बढाउने तयारी गरेको हो।
शिक्षामन्त्री, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका पदाधिकारीसहितको छलफलमा नेपाल राष्ट्र बैंकको मुद्रास्फीति दर अनुसार एमबिबिएस र बिडिएसमा पनि शुल्क बढाउने अनौपचारिक सहमति भएको छ।
सरकारले दुई वर्ष अघि एमबिबिएस तर्फ काठमाडौं उपत्यका भित्रका मेडिकल कलेजका हकमा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको थियो। बिडिएस तर्फ १९ लाख ३२ हजार शुल्क तोकिएको छ।
उक्त शुल्कलाई अब परिमार्जन गर्ने तयारी भएको हो। राष्ट्र बैंकका अनुसार पछिल्लो दुई वर्षको औषत उपभोक्ता मुद्रास्फीति दर आर्थिक वर्ष ०७३÷७४ मा ४ दशमलव ५ प्रतिशत थियो भने ०७४÷७५ मा ४ दशमलव २ प्रतिशत थियो।
सरकारले दुई वर्षको यही मुद्रास्फीति दरका आधारमा एमबिबिएस र बिडिएसको शुल्क बढाउने तयारी गरेको छलफलमा सहभागि एकले जानकारी दिए। सोमबारको छलफलमा मन्त्री गिरिराजमणि पोखरेल, त्रिभुवन त्रिविका उपकुलपति प्राडा। तीर्थराज खनिया, त्रिवि चिकित्शाशास्त्र अध्ययन संस्थानका डिन जगदीशप्रसाद अग्रवाल, काठमाडौं विश्वविद्यालयका डिन राजेन्द्र कोजूलगायत मन्त्रालयका अधिकारी सहभागी थिए।